दार्जीलिङ, ५ अप्रेलः ५० प्रतिशत श्रमिकसहित चियाकमानलाई खुल्ला राख्ने केन्द्रको निर्देशलाई विमल गुरुङपन्थी गोजमुमोको श्रमिक सङ्गठन दार्जीलिङ, तराई, डुवर्स प्लान्टेशन लेबर युनियन (डीटीडीपीएलयू)-ले कड़ा शब्दमा विरोध जनाएको छ।
विमलपन्थी डीटीडीपीएलयूका मूलसचिव सूरज सुब्बाले आइतवार एक प्रेस विज्ञप्ति जारी गरी अधिकतम ५० श्रमिकसहित चियाकमान खोल्ने निर्देशको विरोध गरेका हुन्।
चियाउद्योग श्रमिकहरूद्वारा सामूहिक रूपमा कार्य गर्नुपर्ने उद्योग रहेकोले एकार्काबाट टाढ़ा रहन नसक्ने हुनाले श्रमिकहरू सङ्क्रमित हुने उच्च जोखिम रहेको उनको सुब्बाको भनाइ छ।
यसैले पनि केन्द्रको निर्देशलाई डीटीडीटीपीएलयूले विरोध जनाउने उनले बताएका छन्।
‘कुनै पनि चियाकमानमा स्वास्थ्य सेवाको उचित व्यवस्था नभएको साथै पहाड़, तराई अनि डुवर्सका जनसङ्ख्या ८० प्रतिशत जनसङ्ख्या चियाकमानभित्र बसोबास गर्ने हुनाले सामाजिक दृष्टिकोणबाट पनि सो सङ्क्रमणदेखि अलग रहन जरूरी रहेकाले केन्द्रिय गृहमन्त्रालयद्वारा जारी निर्देश-पत्रलाई फिर्ता लिन अनिवार्य ठहर्दछ’, सुब्बाले विज्ञप्तिमा भनेका छन्।
यसका साथै केन्द्रको चियाश्रमिकविरोधी सरकारी निर्देशलाई सामाजिक र राजनीतिक दृष्टिकोणबाट घोर विरोध जनाउँदै यस निर्देशलाई रोक लगाउनहेतु आफ्नो पक्षबाट पहल गर्नका लागि युनियनले सांसद राजु विष्टलाई अनुरोध गरिसकेको उनले बताएका छन्।