दार्जीलिङ, ५ अप्रेलः सब्जीको आड़मा ड्रग्सको धन्धा चलिरहेको स्पष्ट भएको छ। दार्जीलिङ पुलिसले यस्तै ड्रग्सको धन्धामा लिप्त रहेको आरोपमा ४ जना आरोपीलाई पक्राउ गरेको छ।
हिजो साँझपख सिलगढ़ीबाट सब्जी ल्याइएको एउटा गाड़ीमा तलासी गर्दा पुलिसले ३२२ ग्राम ब्राउन सुगर पनि फेला पारेको थियो।
यसैले उक्त ब्राउन सुगरसँगै ४ जना युवालाई पुलिसले पक्राउ गरेको हो। यद्यपि, पुलिसले यी आरोपीहरूको नाम भने अहिलेसम्म खुलासा गरेको छैन।
दार्जीलिङ शहरदेखि नजिकै निवासी यी आरोपीहरूलाई सिंहमारी पुलिस आउट-पोस्टले पक्राउ गरेको हो।
पुलिसले विश्वस्त सूत्रको सूचनाको आधारमा नै उक्त गाड़ीमा तलासी अभियान चलाएको थियो।
त्यसै तलासी अभियानको क्रममा पुलिसले यी युवाहरूबाट ३२२ ग्राम ब्राउन सुगर पनि फेला पारेको हो।
उल्लेखनीय छ, कोरोना सङ्क्रमणको कारण हाल देशमा नै लकडाउन चलिरहेको छ, दार्जीलिङ पहाड़ पनि लगभग अचलजस्तै बनेको छ। यद्यपि, यस लकडाउऩको अवधि आवश्यक खाद्यान्न, साग-सब्जी आदिको बेचबिखनमा छूट दिइएको छ।
यसै छुटको फाइदा उठाएर दार्जीलिङका केही अवैध मादक पदार्थ बिक्रेताहरूले सिलगढ़ीबाट ड्रग्सको ओसार-पसार गरिरहेको यस घटबाट स्पष्ट भएको छ। जसमाथि पुलिसले गिद्दे दृष्टि राख्ने काम पनि गरिरहेको छ।