बङ्गालमा आयुष्मान भारत योजना’ लागू गर्न ममतालाई विष्टको अपील

0
1011
राजु विष्ट (फाइल फोटो)।

दार्जीलिङ, ५ अप्रेलः सांसद राजु विष्टले बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई बङ्गालका जनताको हितमा राजनीतिबाट माथि उठेर ‘आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना’ लागू गर्ने अपील गरेका छन्।

बङ्गालमा यो योजना लागू गरिएको खण्डमा गरीब जनताले पनि धनी मानिसहरूले झैं स्वास्थ्य सुविधा प्राप्त गर्न सक्ने उनको भनाइ छ।

‘यो योजना बङ्गालमा लागू गर्दा नोक्सानी पटक्कै छैन, जबकि यसबाट जनताले स्तरीय प्रकारको स्वास्थ्य लाभ पाउनेछन्’, विष्टले थप भनेका छन्, ‘मलाई विश्वास छ, मुख्यमन्त्रीले मेरो यस आग्रहलाई सुन्नेछिन्।’

सांसदका अनुसार ‘आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना’ अन्तर्गत निजी ल्याब र अस्पतालमा पनि कोरोना सङ्क्रमण टेस्ट निःशुल्क गराउने निर्णय लिएको छ।

यसका साथै यस योजनाअनुसार लाभार्थीहरूका टेस्ट र उपचार निःशुल्क गरिनेछ। यसअघि यो सरकारी अस्पतालमा मात्र हुनेगर्थ्यो।

विष्टले बताएअनुसार यस योजनाले लगभग ५० करोड़ मानिस लाभान्वित हुनेछन्।

‘भारत योजना केन्द्र सरकारको तर्फबाट समाजका वञ्चित गरीब वर्गका लागि शुरु गरिएको स्वास्थ्य बिमा योजना हो। यो योजना विश्वकै सबैभन्दा ठूलो सरकारी बिमा योजना हो। यस योजनाअन्तर्गत लाभार्थीले ५ लाख रुपियँसम्मको बिमा पाउँछन्’, उनले भनेका छन्, ‘यस योजनामा अब लाभार्थीमा सङ्क्रमणको आशङ्का भएमा र उनलाई कुनै निजी अस्पतालमा आइसोलेशनमा बस्नु परे, यसको खर्च आयुष्मान भारत योजनाबाट गरिनेछ।’

सांसद राजु विष्टले थप भनेका छन्, ‘यो सुखद खबर सुनाउँदा मेरो निजी पीड़ा के छ भने अहिलेसम्म पश्चिम बङ्गाल सरकारले हाम्रो राज्यमा आयुष्मान भारत योजना लागू गरेको छैन। यस योजनातो विरोध शुरुमा दिल्ली सरकारले पनि गरेको थियो। तर, वर्ष २०२०-२१ देखि दिल्लीले यो योजना शुरु गरेको छ।

अर्कोतिर उनले आजदेखि आयुष्मान भारत योजनामार्फत् देशका ५० करोड़ नागरिकले कोभिड-१९ को परीक्षण र उपचार निजी ल्याब र अस्पतालमा निःशुल्क गर्नसक्ने बताउँदै प्रधानमन्त्री नरेन्द्र मोदी र स्वास्थ्य मन्त्री डा. हर्षबर्धनप्रति आभार प्रकट गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here