दार्जीलिङमा बिनाकारण बजार घुम्ने युवक पक्राउ

0
1082
साङ्केतिक तस्वीर।

दार्जीलिङ, ६ अप्रेलः कुनै कामबिनै दार्जीलिङ बजार घुमिरहेका ८ जना युवालाई आज दार्जीलिङ पुलिसले पक्राउ गरेको छ।

यसका साथै अब बिनाकुनै कारण बजार घुम्न आउनेहरूमाथि पुलिसले अझै कठोर कारबाही गर्ने पनि चेताउनी दिएको छ।

यसप्रकारका मानिसहरूको कारण नै अत्यावश्यक कामले गर्दा शहर आउनैपर्ने मानिसहरूले पनि समस्या झेल्न परिरहेको स्पष्ट भएको छ।

यसैकारण पुलिसले आजदेखि बिनाकारण बजार आउने अनि घुमिरहनेहरूमाथि कठोरता अप्नाउन शुरु गरेको छ।

दार्जीलिङ पुलिसका डीएसपी राहुल पाण्डेले यसबारे जानकारी गराउँदै भने, ‘‘हाल कोरोना भाइरसको कारण देशमा लकडाउन चलिरहेको छ। जनताको ज्यान बचाउन सकियोस् भनेर नै देश आज अचल अवस्थामा छ। किनभने, यो कोरोना भाइरस मानिसहरूमाझको सम्पर्कले गर्दा नै फैलिरहेको छ। यसलाई निमिट्यान्न पार्ने उद्देश्यले नै भारत सरकारका साथै राज्य सरकारले लकडाउनको घोषणा गरेका हुन्। तर अझै पनि धेरै मानिस आफ्नो घरमा बस्न छोड़ेर बजारमा घुम्न आइरहेका छन्। यसैकारण कुनै कामबिनै बजार आउनेहरूमाथि आजदेखि पुलिसले कठोरता अप्नाउन थालेको हो।’’

उल्लेखनीय छ, दार्जीलिङ पुलिसले यसअघि लकडाउनको समय बिनाकारण नै बजार घुम्नेहरूलाई खदा लगाएर लज्जित बनाउने कार्य गरेको थियो।

तर, पुलिसको उक्त गान्धीगिरी प्रभावी नभएपछि आजदेखि यस्ताहरूलाई पक्राउ नै गर्न शुरु गरेको छ। यसैले अब कुनै आवश्यक काम नहुनेहरूले आफ्नो घरमा नै बसेर आफू, आफ्नो परिवारका साथै छर-छिमेकीको पनि सुरक्षा गर्न आवश्यक छ।

यसैबीच, अर्कोतिर दार्जीलिङ पुलिसले दार्जीलिङ शहरका आवश्यक सामग्रीहरूका दोकानहरू खुल्लै रहने पनि बताएको छ। ताकि जनतालाई आवश्यक सामग्रीहरूको कुनै समस्या नहोस्।

यसैकारण दार्जीलिङको पथ पसले सङ्घले पनि भोलिदेखि आफ्ना सम्पूर्ण सदस्यका दोकानहरू खुल्ला राख्ने बताएको छ। पथ पसले सङ्घका अधिकांश सदस्यले सब्जी, राशिन आदिको दोकान सञ्चालन गर्ने गर्छन्।

यसैकारण यी दोकानहरू पनि बन्द रहेको विषयलाई ध्यानमा राखेर भोलिदेखि यी दोकानहरू खुल्ला राख्ने पुलिसले निर्देश दिएको छ।

स्मरण रहोस्, गोर्खा जनमुक्ति मोर्चा दार्जीलिङ टाउन कमिटीले बजारमा अनावश्यक भीड़ नहोस् भन्ने विषयलाई ध्यानमा राखेर नै आज सोमवार बिहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म मात्रै बजारका दोकानहरू खुल्ला राख्न दिने घोषणा गरेको थिये।

जसका अनुसार, आज मध्याह्न १२ बजेदेखि दार्जीलिङ शहरका सबै दोकानहरू बन्द गरिएको थियो। यद्यपि, पुलिस प्रशासनको यस नयाँ घोषणापछि पुनः भोलिदेखि आवश्यक सामानहरूका दोकानहरू दिनभरि नै खुल्ला हुने स्पष्ट भएको छ। तर बिना कारण बजारमा घुम्न आउनेहरूमाथि पुलिसको कार्वाही कठोर हुने पनि स्पष्ट छ।

ज्ञात रहोस्, दार्जीलिङ शहरमा बिना कारण धेरै मानिस आउने गरेको अनि बजारमा दिनभरि घुम्ने गरेको कारण नै गोर्खा जनमुक्ति मोर्चाले यहाँका आवश्यक सामानहरूका दोकानहरूलाई पनि बिहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म मात्रै खुल्ला राख्ने दिने घोषणा गरेको थियो।

तर, पुलिसले आवश्यक सामानहरूका दोकानहरू दिनभरि नै खुल्ला रहने बताएपछि भोलिदेखि पुनः शहरका सम्पूर्ण सब्जी, राशिन दोकानहरू खुल्ला हुने भएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here