उत्तर बङ्गाल मेडिकल कलेजकी नर्स कोरोनाबाट सङ्क्रमित

0
1644

सिलगढ़ी, ७ अप्रेलः उत्तर बङ्गाल मेडिकल एवं अस्पतालमा कार्यरत् एक नर्स कोरोना सङ्क्रमित भएको पुष्टि भएको छ।

रिपोर्ट पोजिटिभ आएको यी नर्सलाई मतिगढ़ाको हिमाचल विहारस्थित प्राइभेट कोभिड अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएको छ।

केही दिनदेखि बिरामी बनेपछि आइतवार उनको जाँच गरिएको थियो भने रिपोर्ट पोजिटिभ आएको हो।

दार्जीलिङ सीएमओएच प्रलय आचार्यका अनुसार हिमाचल विहारस्थित प्राइभेट कोभिड अस्पतालको आइसोलेशनमा भर्ना गरिएको यी नर्सको स्वास्थ्यलाई गहन निगरानी गरिँदैछ।

जानकारीका अनुसार कोरोना भाइरस सङ्क्रमित कालेबुङनिवासी महिलाको उपचारका लागि खटिएको स्वास्थ्य टीममा यी नर्स पनि सामेल थिइन्।

उल्लेखनीय छ, ३० मार्चका दिन उपचाराधीन अवस्थामा ती कालेबुङनिवासी महिलाको मृत्यु भएको थियो।

अर्कोतिर, दुई दिनअघि कोरोना भाइरसकै कारण मृत्यु भएका सिलगढ़ी जङ्क्शन न्यु कलोनीनिवासी रेलवे कर्मचारीका सम्पर्क आउनेहरूलाई चिह्नित गरी होम क्वारेन्टाइनमा पठाइएको छ।

एनएफ रेलवेका जनसम्पर्क अधिकारीका अनुसार २४ र २५ मार्चका दिन न्यु जलपाइगढ़ी रेलवे अस्पतालमा उपचाराधीन रहँदा उनको सम्पर्कमा आएका दुई डाक्टर, पाँच नर्स र पाँच अन्य स्वास्थ्यकर्मीलाई चिह्नित गरी होम क्वारेन्टाइनमा पठाइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here