सिलगढ़ी, ७ अप्रेलः वरिष्ठ कङ्ग्रेसी नेता एवं दार्जीलिङका पूर्व सांसद टी. मनेन (थ्योडर मनेन)-को निधन भएको छ। जानकारीका अनुसार हिजो बेलुकी सिलगढ़ी प्रधाननगरस्थित घरमा निधन भएको बताइएको छ।
प्रखर वक्ताको रूपमा चिनिने ९७ वर्षीय मनेन पण्डित जवाहरलाल नेहरुको समयमा अखिल भारतीय कङ्ग्रेस कमिटीका महासचिवसमेत बनेका थिए।
कङ्ग्रेस कमिटीको यति शीर्षस्थ पदमा पुग्ने उनी पहिलो र एकमात्र गोर्खा हुन्।
६ जून १९२२ का दिन खरसाङमा जन्मेका उनी १९५७-६२ र ६२-६७ गरी लगातार दुईपटक दार्जीलिङ संसदीय क्षेत्रबाट लोकसभा सांसदको रूपमा निर्वाचित पनि भएका थिए।
अर्कोतिर मनेनको निधनप्रति सांसद राजु बिष्टले गहिरो शोक प्रकट गरेका छन्। यसका साथै उनका परिवारप्रति समवेदना प्रकट गरेका छन्।
‘आज हामीले हाम्रो क्षेत्रका एक आइकन गुमाएका छौं। यो हाम्रो गोर्खा समाजका लागि ठूलो क्षति हो’, बिष्टले भनेका छन्, ‘उनको ज्योतिले हामीलाई सधैं न्याय समान समाजतर्फ डोहोऱ्याउनेछ।’