अरुणाचल प्रदेशविरुद्ध सिक्किमको फराकिलो जीत

0
1177
सिक्किमको रणजी टीम (फाइल फोटो)।

गान्तोक, 9 जनवरी : रणजी ट्रफीको प्लेट ग्रुपअन्तर्गत सिक्किमले आफ्नो आठौं तथा अन्तिम खेलमा अरुणाचल प्रदेशलाई 10 विकेटको फराकिलो अन्तरले पराजित गरेको छ।  बुधवार अरुणाचल प्रदेशले 109 रन सङ्ग्रह गरी सबै विकेट गुमाएपछि सिक्किमले 17 रनको अत्यन्त सजिलो लक्ष्य पाएको थियो, जुन लक्ष्य सिक्किमले कुनै विकेट नगुमाइ 1.3 बलमा नै प्राप्त गऱ्यो।

ब्याटिङ क्रम परिवर्तन गरी प्रारम्भिक ब्याट्सम्यानको रूपमा मैदानमा ओर्लेका स्टार ब्याट्सम्यान मिलिन्द कुमारले आवश्यक सबै रन बनाए। उनले 8 बलको सामना गरी 4 चौकाको सहयोगमा 19 रन बनाएर नट्आउट फर्किए। केवल एक बलको सामना गरेका कप्तान निलेश लामिछानेले रन बनाउनै परेन।

यसभन्दा अघि अरुणाचल प्रदेशले दोस्रो पारीमा सबै विकेट गुमाएर केवल 109 बनाउन सकेको थियो। हिजोको रन सङ्ख्या 8 विकेटमा 104 रनबाट खेल्न शुरु गरेको अरुणाचल प्रदेशले आज केवल 5 रन जोड़ेर रहल दुवै विकेट गुमायो। अरुणाचल प्रदेशका दुवै विकेट स्टार बलर ईश्वर चौधरीले लिए। उनले अरुणाचल प्रदेशको दोस्रो पारीमा 7 विकेटसहित म्याचमा कुल 10 विकेट लिए।

हिजोका नट्आउट ब्याट्सम्यानमध्ये डीण्डयाल उपाध्यय 17 रन बनाएर आउट भए। उपाध्यय आउट भएपछि ब्याटिङ गर्न आएका लिचा तेहीले पनि ठूलो पारी खेल्न सकेनन्। 10 बलको सामना गरी केवल 2 रन बनाएर चौधरीको बलमा क्लीन बोल्ड भए। तेची नेरी 23 रन बनाएर नट्आउट फर्के। म्याचमा उत्कृष्ट प्रदर्शन गरी 10 विकेट लिने बलर ईश्वर चौधरीलाई म्यान अव् द प्लेयर छनौट गरियो। 

उल्लेखनीय छ,  असमको गोलपारास्थित डीएन सिंह स्टेडियममा खेलिएको  यो म्याचमा टस हारेर पहिला ब्याटिङ गर्न परेको अरुणाचल प्रदेशले पहिलो पारीमा 169 रन बनाएर गुट्मुटिएको थियो। यसको जवाबमा सिक्किमले पहिलो पारीमा 262 बनाएर 93 रनको महत्त्वपूर्ण अग्रता प्राप्त गरेको थियो।

यो जीतसँगै 8 खेलमा सिक्किमको 27 अङ्क जोड़्न सक्यो। समूहमा सिक्किम पाँचौं स्थानमा रह्यो। सिक्किमले कुल आठ खेलमा चार जित्यो भने तीन खेलमा हार बेहोऱ्यो। एक खेल ‘ड्र’-सकिएको थियो।

शीर्षमा बिहार र दोस्रो स्थानमा उत्तराखण्ड छ। 40 अङ्क रहेको बिहारले भन्दा एक खेल कम्ती खेलेको उत्तराखण्डको एक खेल बाँकी छ। उत्तराखण्डको सात खेलमा 37 अङ्क छ। महत्त्वपूर्ण कुरा के छ भने यी सात खेलमा उत्तराखण्डले एकै खेल पनि हारेको छैन। पाँच खेल जितेको छ भने दुई खेल बराबरी खेलेको छ। बिहारले 8 खेलमा 6 खेल जितेको छ भने एक खेलमा हारेको छ। पुण्डुचेरीविरुद्धको खेल भने रद्द भएको थियो।

पहिलोपटक रणजी खेल्ने मौका पाएको सिक्किमले पहिलो म्याचमा नै मणिपुरलाई पराजित गरी ऐतिहासिक उपलब्धि प्राप्त गरेको थियो। त्यसपछि अर्को म्याचमा मिजोरमलाई पराजित गरी लगातार दोस्रो जीत दर्ता गरेको थियो। प्लेट ग्रुपमा सिक्किमले मणिपुर र मिजोरम र अरुणाचल प्रदेशलगायत नागाल्याण्डलाई पनि पराजित गर्‍यो भने बिहार, पुण्डुचेरी र उत्तराखण्डविरुद्ध पराजित भयो। मेघालयविरुद्धको खेल भने बराबरीमा सकिएको थियो।

सिक्किमका स्टार ब्याट्सम्यान  मिलिन्द कुमारले 8 खेलमा 1,331 रनसँगै सर्वाधिक रन बनाउने खेलाड़ी बनी इतिहास रचे। यसअवधि उनले 6 शतक र 4 अर्धशतक पनि हिर्काए। 6 शतकमा दुईवटा दोहोरो शतक पनि सामेल छ। यो 8 खेलमा उनले 185 वटा चौका र 17 छक्का हिर्काए। मिलिन्द यो रणजी सिजनमा सर्वाधिक चौका हिर्काउने खेलाड़ी पनि बनेका छन्। अर्कोतिर सिक्किमका फास्ट बलर ईश्वर चौधरी सर्वाधिक विकेट लिने बलरको सूचीमा तेस्रो स्थानमा रहे।  उनले 8 खेलमा 51 विकेट लिए। यसअवधि पाँचपटक 5 विकेट लिए भने दुई खेलमा कुल 10 विकेट पनि लिए। यसका साथै तीनपटक चार विकेट लिए।

यता, कप्तान निलेश लामिछाने  रणजी सिक्किमको रणजीमा प्रदर्शनबारे खुशी व्यक्त गरेका छन्। उनले भनेका छन्, “अनुभवी प्रशिक्षक सञ्जीव शर्मा र विपुल, ईश्वर र मिलिन्दजस्ता अनुभवी खेलाड़ीहरूको मार्गनिर्देशनमा र टीम मेड भएर पहिलोपटक पहिलो श्रेणीको क्रिकेट खेल्न पाउनु सुखद र स्मरणनीय पल रह्यो। हामीले यो रणजी टुर्नामेण्टबाट धेरै कुरा सिकेका छौं। हामीलाई यो अवसर प्रदान गर्ने सिक्किम क्रिकेट एसोसिएशन र प्रशिक्षक सञ्जीव शर्मा सरप्रति आभार प्रकट गर्दछु, जसले ममाथि विश्वास राखेर टीमलाई नेतृत्व गर्ने दायित्व सुम्पे।” यसका साथै निलेशले टीमका ट्रेनर, प्रबन्धक तथा अन्य सहयोगी स्टाफहरूप्रति पनि आभार प्रकट गरेका छन्। विजय हजारे ट्रफीपछि बलियोगरी फर्किन सकेकोमा उनले टीमका सबै सदस्यलाई धन्यवाद दिएका छन्।

“मलाई आशा छ, हामी भविष्यमा पनि म्याच जित्न सफल हुनेछौं। विशेषगरी आउँदो सैयद मुस्तक अली ट्रफीमा हामी राम्रो प्रदर्शन गर्नेछौं”, उनले भने।

पहिलोपटक रणजी खेलेको सिक्किमले कुल 8 खेलमा चार जीतसहित पाँचौं स्थान प्राप्त गरेकोमा सिक्किमका प्रशिक्षक सञ्जीव शर्माले उपलब्धिको रूपमा लिएको छ।

“उम्दा टीम निर्माण र उत्कृष्ट प्रोफेशनल खेलाड़ीहरू टीममा समावेश गर्नका सबै प्रकारका सहयोग पुर्‍याएको म एससीए प्रबन्धनप्रति आभार प्रकट गर्दछु। स्थानीय खेलाड़ीहरूले यो सिजनबाट धेरै कुरा सिक्न सकेका छन् साथै टीमलाई यो स्थितिमा ल्याउन उनीहरूले समान योगदान दिए”, उनले थपे, “निलेश, आशिष, ली योङ, जहान र कर्माजस्ता स्थानीय खेलाड़ीहरूको प्रदर्शनसँग म अत्यधिक खुशी छु।  मिलिन्द र ईश्वरलाई उनीहरूको महत्त्वपूर्ण उपलब्धिका लागि बधाई दिन्छु साथै 449 रन बनाउनका साथै 26 विकेट लिने विपुललाई यो अलराउण्डर प्रदर्शनका लागि धन्यवाद दिन्छु। पछिल्लो 10 वर्षमा मैले जति टीमको कोचिङ दायित्व निर्वाह गरे, त्यसमा सिक्किमको टीम सबैभन्दा अनुशासित र राम्रो टीम हो। यसैले बीसीसीआई र एससीएले मलाई यो अवसर प्रदान गरेकोमा आभार प्रकट गर्दछु।”

अर्कोतिर एससीएका अध्यक्ष लोब्जाङ जी. तेञ्जिङले टीमका प्रशिक्षक, ट्रेनर, फिजियो, प्रबन्धक र टीमका सबै सदस्यहरूलाई रणजीमा उत्कृष्ट प्रदर्शनका लागि बधाई टक्राएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here