सिलगढ़ी, ७ अप्रेलः कोरोना भाइरसलाई लिएर मतिगढ़ामा स्थानीय मानिसहरूले एक स्वास्थ्यकर्मी (नर्स)-सँग दुर्व्यवहार गरेका छन्।
यो घटना मतिगढ़ा पुलिस थानानजिक न्यु कलोनीको हो, जहाँ मतिगढ़ा ब्लक प्राइमेरी हेल्थ सेन्टर कार्यरत् एक नर्सलाई दुर्व्यवहार गरिएको हो।
जानकारीका अनुसार छुट्टी बिताएर ड्युटी जोइन गर्न आज खरसाङबाट मतिगढ़ा पुगेकी स्वास्थ्यकर्मीसँग स्थानीय मानिसहरूले दुर्व्यवहार गरेका हुन्।
जुन स्वास्थ्यकर्मीसँग आज स्थानीय मानिसहरूले दुर्व्यवहार गरे, उनी मतिगढ़ा ब्लक प्राइमेरी हेल्थ सेन्टरमा पछिल्लो एक वर्षदेखि कार्यरत् छिन्।
केही दिनअघि छुट्टी लिएर खरसाङ घर आएकी उनी आज आज मतिगढ़ास्थित भाड़ाको घरमा पुगेकी थिइन्। जानकारीका अनुसार आउँदो बिहीवारदेखि उनको ड्युटी छ।
आज बिहान करिब ९.३० बजे आफ्नो डेरा पुगेलगत्तै उनले स्थानीय मानिसहरूको दुर्व्यवहार सहन परेको थियो। अनाश्यक रूपमा आक्रोशित बनेका ती स्थानीय मानिसहरू एकजुट भएर यी स्वास्थ्यकर्मीलाई क्षेत्रमै बस्ने नदिने भन्दै कोहोलो मच्चाएका थिए।
कतिसम्म भने ती स्थानीय मानिसहरूले अपशब्दसमेत गरेको आरोप उठेको छ। हेर्दा हेर्दै बाक्लो सङ्ख्यामा जुटेका मानिसहरूले यी स्वास्थ्यकर्मीहरूलाई क्षेत्रमा बस्नै नदिने भन्दै रड़ाको मच्चाएका थिए।
पछि स्थानीय पुलिस प्रशासनले ती गाउँलेहरू त्यहाँबाट भगाए तापनि एक स्वास्थ्यकर्मीमाथि भएको यस्तो घृणित कार्यले पुनः थुप्रै प्रश्न उठाएको छ।
कोरोना भाइरसको महामारीमा आफ्नो ज्यानको पर्वाह नगरी फ्रन्टलाइनमा खटिरहेका स्वास्थ्यकर्मीहरूको सुरक्षालाई केन्द्र गरी थुप्रै प्रश्न प्रतिप्रश्न उठेको छ।
किनभने पीड़ित स्वास्थ्यकर्मीका अनुसार उनले तत्कालै न पुलिस प्रशासनबाट भनेजस्तो सहयोग पाइन् न त आफ्नो विभागका उच्चाधिकारी सहयोगका लागि अघि आए।
यी स्वास्थ्यकर्मीले जनसंवादसँग टेलिफोनिक कुराकानीअवधि अस्पतालका सहकर्मी नर्सिङ स्टाफबाट सहयोग नपाएको भए उनले अझ धेर दुर्व्यवहार सहनु पर्थ्यो।
‘‘ममाथि आज जुन प्रकारले स्थानीय मानिसहरूले दुर्व्यवहार गरे, त्यो अत्यन्त घृणापूर्ण छ। कोरोना भाइरसबारे हामी स्वास्थ्यकर्मीभन्दा धेर अरू को सजग र सचेत होला’’, उनले थप भनेकी छन्, “तर हामीमाथि नै स्थानीय मानिसहरूले नबुझीकनै यस्तो दुर्व्यवहार गर्छन् भने त्यसलाई के भन्नु? आज ममाथि स्थानीय मानिसहरूले जुन प्रकारले दुर्व्यवहार गरे, त्यसले मलाई धेरै असुरक्षित महसुस गराएको छ। किनभने उनीहरू अत्यधिक आक्रोशित देखिएका थिए। र ममाथि धेरै अपशब्द पनि प्रयोग गरे।’’
उल्लेखनीय छ, अहिलेघरी देशका कतिपय स्थानमा मानिसहरूद्वारा स्वास्थ्यकर्मीहरूमाथि दुर्व्यवहार गरिएका घटनाहरू प्रकाशमा आइरहेको छ।
त्यस्तै घटना आज मतिगढ़ामा पनि घटेको छ। कोरोना भाइरसलाई लिएर एक स्वास्थ्यकर्मीलाई डेरामा बस्नदेखि रोक्न तथा क्षेत्रनै छोड़्नु भन्दै स्थानीय मानिसहरू एकजुट भएर दुर्व्यवहार उत्रिनु भनेको गैरकानुनी र घृणास्पद हो। यसबारे प्रशासनले यथाशीघ्रै पदक्षेप उठाउनु पर्नेछ।