लकडाउन तोड्ने १५ जनाको पक्राउ, गाउँ-बस्तीमा पनि पुलिसको अभियान

0
1333

दार्जीलिङ, 8 अप्रेलः लकडाउनको उल्लङ्घन गर्ने १५ जनालाई आज दार्जीलिङ पुलिसले पक्राउ गरेको छ। पुलिसले आज  दार्जीलिङ शहरसँगै सिंहमारी र गाउँतिरबाट यी १५ जनालाई पक्राउ गरेको हो।

पक्रा परेकाहरूलाई पुलिसले डिजास्टर म्यानेजमेन्ट एक्टका अनुसार, कानूनी कारबाही गर्ने बताएको छ।

हालसम्म लकडाउन तोड्नेहरूविरुद्ध कठोर कारबाही नगरिएको कारण कोरोना भाइरसका सङ्क्रमितहरूको सङ्ख्यामा व्यापक बढ़ोत्तरी भएको हो।

यसैले अब यस लकडाउनलाई कठोरतासित पालन गर्न नै दार्जीलिङ पुलिसले जोड़तोड़को पक्राउ अभियान शुरू गरेको छ। जसका अनुसार, दार्जीलिङ पुलिसले तीनदिनमा दिनमा कुल ३४ जनालाई पक्राउ गरिसकेको छ।

यसैबीच, दार्जीलिङ पुलिसले आजदेखि गाउँ, चियाकमान अनि बस्ती क्षेत्रको पनि भ्रमण गरी लकडाउन तोड्नेहरूलाई पक्राउ गर्न शुरू गरेको दार्जीलिङ पुलिसले बताएको छ।

दार्जीलिङ सदर थाना प्रभारी तीर्थ नाथले भने, ‘‘दार्जीलिङ शहर वरिपरि पुलिसको दृष्टि कठोर नै बनिरहेको छ। तर, अहिलेसम्म गाउँ-बस्ती क्षेत्रमा मानिसहरू हिँड्डुल गरिरहेका छन्, एकै ठाउँमा भेला भएर गफ गर्ने जस्ता कार्यहरू भइरहेको छ।’’

उनले थपे, ‘‘सामाजिक दूरीको नियमलाई पूर्णरूपले उल्लङ्घन भइरहेको छ। यसैले कोरोना भाइरसको सङ्क्रमण गाउँ-बस्तीतिर पनि फैलिन प्रशस्त सम्भावना छ। मानिसहरूलाई आ-आफ्ना घरमा नै बसेर लकडाउन पालन गरिदिने धेरै अपील गरियो, तरै पनि मानिसहरूले टेरेनन्। बिनाकारण बजार आउने अनि घुमिरहने मानिसहरूको सङ्ख्या बढ़िरहेको थियो।’’

यसैकारण गत दुई दिनदेखि दार्जीलिङ पुलिसले यस्ताहरूविरुद्ध कठोरता नै अप्नाउन परेको नाथको भनाइ छ।

उनका अनुसार अब लकडाउनको मियाद पूरा हुन केवल ६ दिन बाँकी छ।

‘‘यी ६ दिनमा सम्पूर्ण मानिसहरू आ-आफ्ना घरमा बसिदिए यो कोरोना भाइरसको श्रृङ्खला तोड़िनेछ अनि जनता यो महामारीबाट मुक्त हुनेछ’’, दार्जीलिङ सदर थाना प्रभारी तीर्थ नाथले थपे, ‘‘यसैकारण अब पुलिसले कठोर कार्वाही गर्न शुरू गरेको हो।’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here