खरसाङ, ९ अप्रेलः नेपाली साहित्यको सिर्जना र संरक्षणमा प्रतिबद्ध डुवर्सका वरिष्ठ साहित्यकार इन्द्रबहादुर गुरुङ अब हामीबीच सशरीर रहेनन्।
बुधवार राति ८.४५ बजे हेमिल्टनगञ्जस्थित निजी निवासमा साहित्यकार गुरुङको निधन भएको बताइएको छ। लामो समयदेखि बिरामी रहेका उनी ७९ वर्ष पुगेका थिए।
डुवर्समा नेपाली साहित्यको सिर्जनामा अग्रणी रहेका गुरुङका आगोहरू फूलहरू (कविता सङ्ग्रह, १९८१), मेरा चार एकांकी (एकांकी सङ्ग्रह, १९८४), बुखिमबारीका कथाहरू (कथा सङ्ग्रह, प्रथम १९९३), बेदुइन (कविता सङ्ग्रह, २००८), संस्मरण एक संस्मरण (२०१५) र यात्रा (कविता सङ्ग्रह, २०१९) प्रकाशित छन्।
यसबाहेक उनका फुटकर लेखादि विभिन्न पत्र-पत्रिकामा प्रकाशित भएका छन्।
जानकारीका अनुसार उनको अन्तिम संस्कार आज गरिनेछ।
साहित्यकार गुरुङको निधनप्रति शोक प्रकट गर्दै डुवर्सका समालोचक रुपेश शर्मा लेख्छन्, ‘डुवर्सले इन्द्रबहादुर गुरुङजस्ता साहित्यकार पाउनु हम्मे हम्मे नै पर्नेछ। भाषा-साहित्यको सेवार्थ उनी मनबाटै मरिमेट्थे।’
डुवर्सेली समाज निर्माणमा तेस्रो पुस्ताका अग्रणी व्यक्तित्वहरूमा साहित्यकार गुरुङ पनि एक रहेको शर्माको ठम्याइ छ।
‘अघिल्लो पुस्तामा बद्रीनारायण प्रधान र किताबसिंह राईपछि साहित्यकार इन्द्रबहादुर गुरुङ सबैभन्दा सक्रिय र सबैका सम्मानित थिए’, समालोचक रुपेश शर्माको मूल्याङ्कन छ।