गोर्खाल्याण्ड आन्दोलनमा भूतपूर्व सैनिक-अर्धसैनिकहरूको योगदान कहिल्यै भुल्नेछैनौंः विमल

0
1033
विमल गुरुङ (फाइल फोटो)।

दार्जीलिङ, ९ अप्रेलः गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) पहिलो खेमाका अध्यक्ष विमल गुरुङले  छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनमा भूतपूर्व सैनिक-अर्धसैनिकहरूले दिएको योगदानलाई कदापि नभुल्ने बताएका छन्।

आजकै दिन अर्थात् ९ अप्रेल २००८ का दिन छुट्टै राज्य गोर्खाल्याण्डको मागमा ऱ्याली निकालिरहेका भूतपूर्व सैनिक-अर्धसैनिकहरू दार्जीलिङ मोडनजिक बङ्गाल पुलिसले गरेको लाठीचार्ज र ढुङ्गा-मूढ़ालाई स्मरण गर्दै गुरुङले दाबी गरेका हुन्।

आज एक प्रेस विज्ञप्ति जारी गरी विमलले भनेका छन्, ‘९ अप्रेल २००८ हाम्रा लागि कालो दिन थियो। हाम्रा भूतपूर्व सैनिकहरूले शान्तिपूर्वक ऱ्याली निकालिरहेको समयमा उनीहरूमाथि बङ्गाल पुलिसले निर्ममतापूर्वक लाठीचार्ज गर्नका साथै ढुङ्गा-मूढ़ा र ईंटा प्रहार गरेको थियो।’

गुरुङले विज्ञप्तिमा थप भनेका छन्, ‘भारतको सीमामा युद्ध लड़ेर तक्मा पाएका ती वीर सेनानीहरूको रगतले दार्जीलिङ मोड़को सड़क लत्पतिएको थियो। उनीहरूलाई लागेको चोट वास्तवमा गोर्खा जातिलाई लागेको चोट थियो। दार्जीलिङ मोड़को सड़कमा पोखिएको रातो रगत वास्तवमा गोर्खा जातिको नै अपमान थियो।’

मोर्चा पहिलो खेमाका अध्यक्षका अनुसार भारतभूमिमा अन्य जाति सरह गोर्खा जातिको पनि छुट्टै राज्य हुनुपर्छ भनेर शान्तिपूर्वक प्रदर्शन गर्दा यस्तो अन्याय हुनु भनेको संविधानको अवहेलना हुनु हो।

‘तर यो कुरा तानाशाही बङ्गाल सरकारलाई कसले बुझाउने? हामीलाई लाग्छ-भूतपूर्व सैनिकहरूका शरीरबाट बगेको एक-एक थोपा रगतको उचित मूल्याङ्कन हुनुपर्छ। र त्यो तबमात्र सम्भव छ, जब सम्पूर्ण गोर्खाहरूका लागि स्थायी राजनीतिक समाधानमार्फत् गोर्खाल्याण्ड राज्यको गठन हुन्छ’, गुरुङले थप भनेका छन्, ‘हामी यो अभियानमा निरन्तर लागिपरेका छौं। गोर्खाल्याण्ड आन्दोलनकालमा भूतपूर्व सैनिक-अर्धसैनिक सङ्गठनहरूले दिएको योगदान गोर्खा जनमुक्ति मोर्चाले कहिल्यै भुल्नेछैनौं। उनीहरूलाई सदैव शिरमा राखेर हामी कार्य गर्नेछौं।’

विमलले विज्ञप्तिमा थप भनेका छन्, ‘९ अप्रेल २००८ को कालो दिन हामीले भुलेका छैनौं/भुल्दैनौं। सबै भूतपूर्व सैनिक-अर्धसैनिक सङ्गठनका जवानहरूका योगदानप्रति हामी शिर झुकाइ नमन गर्दछौं।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here