– रूपेश शर्मा
१. इन्द्रबहादुर गुरुङः पढ़ाइपरक
६ वटा कृतिका रचनाकार, डुवर्सका एक अग्रणी साहित्यकर्ता, भाषा सङ्ग्रामी इन्द्रबहादुर गुरुङको नवीनतम कृति ‘संस्मरण; एक संस्मरण’-बारे जब केही लेख्नपर्ने महसुस गरेँ, म निकै असमञ्जसमा परेँ। उनीसँग विभिन्न अवसरमा भेटिरहन्थे; सान्निध्य थियो, फोन पनि भइरहन्थ्यो। तर जब यिनको मूल्याङ्कनको प्रश्न आउँछ, मलाई सकस पर्छ। झ्ल्यास्स सम्झन्छु-इन्द्रबहादुर गुरुङको पातलो नाकमा सधैँ अड्किरहने पुरानो चश्मा। अनि, निर्णयमा पुग्छु-मैले इन्द्रबहादुरलाई इन्द्रबहादुरकै चश्माले हेर्नुपर्छ अर्थात् उनलाई उनकै विशेषता र कमजोरीहरूमा परख गर्नुपर्छ।
इन्द्रबहादुर गुरुङको चश्माले मलाई एउटा बाटो देखाइदिन्छ। किताब पल्टाउँदै जान्छु-उनलाई जोख्न सैद्धान्तिक फर्मुला फेरि कनाहा भइदिन्छ। स्वयंलाई प्रश्न गर्छु-इन्द्रबहादुर गुरुङ लेख्ने लायकका व्यक्ति हुन् कि पढ्ने लायकका? यिनीबारे लेख्ने कति भेट्छु-थाह छैन, तर पढ्ने भने धेरै भेट्नेछु भन्ने निष्कर्षमा पुग्छु। यसैले यो लेख न त इन्द्रबहादुर गुरुङको कृतिमाथिको समालोचना हो, न निरुपण। यो इन्द्रबहादुरलाई पढ्ने प्रयास मात्र हो।
यस लेखको उद्देश्य डुवर्सका अग्रजहरूलाई नयाँ पुस्ताले कसरी हेर्छ भन्ने कुराको सङ्केतात्मक भेउ दिनखोज्नु पनि हो। सामाजिक, साहित्यिक र साङ्गठनिक गतिविधिहरूमार्फत् मेरा सहोदर पुस्तासँगको निरन्तरको अन्तरक्रिया, उठबस र चर्चा-परिचर्चाको दुई दशक लामो अनुभवको आधारमा पनि अग्रजलाई हेर्ने दृष्टिकोणलाई मैले डुवर्सेली युवा पुस्ताको प्रतिनिधित्व दिन खोजेको हुँ।
क. समष्टिमा
सत्तरको दशक, डुवर्सको अवस्था, इन्द्रबहादुर गुरुङहरूका अल्लरे उमेर र साहित्यकार हुने रहर। डुवर्सेली साहित्यको तेस्रो पुस्ताको एउटा दह्रो हाँच यही पृष्ठभूमिबाट उदय हुन्छ। गुरुङहरूलाई जब साहित्यको रहर जाग्छ, त्यसबेला उनीहरूले डुवर्समा धेरै खाड़ल देख्छन्। यता हेऱ्यो यतै प्वाल, उता हेऱ्यो उतै भ्वाङ-कता टाल्नु, कता पुर्नु? उनीहरूसँग त्यसबेला दुईवटा विकल्प रहन्छ-साहित्य लेख्ने कि साहित्य गर्ने? डुवर्सको परिस्थितिले उनीहरूलाई पछिल्लो बाटो समात्न लगाउँछ। रहर र जिम्मेवारीको जब्बर मिश्रणबाट डुवर्सको आजका इन्द्रबहादुर गुरुङहरू बनिएका हुन्।
रहरको रमाहटलाई जिम्मेवारीको बोझले थिँच्दै जाँदा एक समय इन्द्रबहादुर गुरुङहरूलाई यो भारी बोकुँ कि नबोकुँ भएको हुनुपर्छ। उनीहरू त्यसबेला सोच्दाथिएँ-‘मैले नबोके यो भारी मेरो छोराले बोक्नुपर्छ, मेरो छोराले नबोके नातिले। मैले बोकिन भने म सबैभन्दा बढ़ी स्वार्थी हुन्छु/कहलिन्छु।’
इन्द्रबहादुर गुरुङहरूको यही स्वचेतले आज उनीहरूका तेस्रो पुस्ता हामी केही सजिलो महसुस गर्दैछौँ। डुवर्सको यसै आवश्यकताबाट समाज बनाउँदै हिँड़ेका इन्द्रबहादुर गुरुङहरूका सिर्जनशीलता यसैले बढ़ी सामाजिक उत्थानमा फुरेको छ, फुलेको छ। हामीले स्वीकार गर्नैपर्छ-डुवर्स अपेक्षाकृत र तुलनात्मक रूपमा केही पछौटे छ। तर हाम्रा जे-जति उपलब्धि छन्, ती हामीले आफ्नै पौरखले अर्जेको हो।
डुवर्समा हाम्रो भौगोलिक अवस्थान, छरपस्ट जनसांख्यिकीय प्रतिकूलता, हाम्रो सामाजिक विकासमा संस्थापन पक्ष वा सरकारबाट भएका दीर्घदिनदेखिका उपेक्षा, न समाउने हाँगा न टेक्ने भुइँ भएर स्वन्त्रतापूर्वदेखि नै सङ्घर्ष गरिरहेको डुवर्स जहाँ जसरी उठेको छ र उठ्दैछ, त्यो उठाइ हाम्रो विशिष्ट उठाइ हो, आफ्नै उठाइ हो। त्यसकारण हाम्रा सानै उपलब्धिमा पनि हामीलाई गर्व छ।
डुवर्सको साहित्यिक-सामाजिक र सांस्कृतिक फाँटको थोरै पहिलो र दोस्रो पुस्तापछि लगत्तै इन्द्रबहादुर गुरुङहरूको तेस्रो ठूलो र कर्मशील पुस्ताले डुवर्सको बहुआयामी सङ्घर्षलाई निरन्तरता दिएको हो। आज उनीहरूको बिडो थाम्न नयाँ पुस्ता दरो-भरो गरेर आइसकेको छ। इन्द्रबहादुर गुरुङहरूले लत्ता नछाड़ेकैले आज डुवर्स आफ्नै अस्थिमज्जाको भरमा उभेको छ। बनिबनाऊ समाजमा काम गर्ने र पगरी गुथ्ने धेरै हुन्छन् तर बाटो बनाउँदै हिँड्ने कम पाइन्छन्।
समय-काल-परिस्थिति फेरिएपछि संसारको कुनै पनि ठाउँलाई पुरानै बाटोले पुग्दैन। तर हामीले जति नै कोश बाटो बनाए पनि हाम्रो दूरीको मापन उही पहिले स्थापना गरिएको कोसेढुङ्गाबाटै शुरु हुन्छ। इन्द्रबहादुर गुरुङहरू डुवर्सेली साहित्यिक-सांस्कृतिक-सामाजिक बाटाका यिनै कोसेढुङ्गा हुन्। हालसम्म विश्वको सर्वोच्च शिखरमा सयौँ पर्वतारोही चढिसके; कयौँले त अनेक विश्व रेकर्ड पनि बनाइसके। तर आजभन्दा साढ़े ६ दशकअघि तेञ्जिङ-हिलेरी सगरमाथा चढ्दा आजको जस्तो न सुविधा थियो, न बाटो नै।
उनीहरूले बाटो बनाए; आँट दिलाएँ; संसारको उच्च शिखर कठिन भए पनि असम्भव छैन भन्ने भरोसा दिलाए। आज त्यही भरोसाको बलमा अपाङ्ग र सत्तरी नाघेका बूढ़ाहरू समेत सगरमाथा चढ़िरहेका छन्। प्रतिकूल परिस्थितिहरूबीच भरोसा निर्माण गर्नु कति गाह्रो हुन्छ-इन्द्रबहादुर गुरुङहरूलाई सोध्नुपर्छ। इन्द्रबहादुर गुरुङहरूले डुवर्सेली युवा पुस्तालाई दिएको सबैभन्दा ठूलो सम्पति यही ‘भरोसा’ हो। म यही भरोसाको बलमा इन्द्रबहादुर गुरुङ पढ्दैछु।
ख. व्यष्टिमा
पेशा नै साहित्य हुनु (बनाउनु होइन) अनि प्रतिकूल पेशा र परिस्थितिहरूमा साहित्य सिर्जना गर्नुबीचको भीषण खाड़ल इन्द्रबहादुर गुरुङहरूले मात्र महसुस गर्न सक्छन्। यसकारण पनि पेशेवर साहित्यकारहरूसँग गुरुङको तुलना हुनसक्दैन। इन्द्रबहादुरको निम्ति साहित्य पेशा नभएर गतिविधि हो। पेशाले त उनलाई उहिल्यै ‘साहित्यिक गतिविधिमा नलाग्। यसले तेरो जाउलो जोड्दैन। तेरो पेट भर्दैन। तेरो बन्द बगान खोल्दैन’ भनेकै हो। तर कोनि किन हो, यिनलाई आफ्नै भाका र मर्मको शब्दशक्तिमाथि विश्वास जाग्यो।
त्यसबेलै मनको एउटा कुनाबाट बाह्य चेतनालाई दबाउ दिइरहेको भित्री मान्छेलाई यिनले हकारे-‘थेत्, भातै खानु (त्यही पनि मिठो-मसिनो होइन) त यस्तो छुसी जीवन के बाँच्नु हौ! यो मेरो मात्रै समस्या होइन, बरू लड़ेरै/गरेरै मर्छु।’ त्यसबेलादेखि यिनले आफ्नो भित्री मान्छेलाई पेलेको पेलै थिए।
स्वअध्ययनको बलमा साहित्यिक माहोल पिटेका आत्मविश्वासी योद्धा। कठिन आर्थिक सङ्कटबाट जियालो बनेको चियाश्रमिक। आन्तरिक पीड़ाहरूलाई अन्तरतहमै दबाएर एउटा तेजस्वी मुस्कान छरिहिँड्ने निष्कपट कवि। ‘साहित्य लेखौं’ होइन, ‘साहित्य गरौं’-बाट निखारिएका साहित्यकर्ता। बूढ़ेसकालमा पनि युवाहरूसँग काँध मिलाएर साहित्यिक खेत जोत्न तल्लीन परिश्रमी हली। यी बिम्बहरूमा सक्रिय इन्द्रबहादुर गुरुङ यसैले सिर्जनकर्मी (क्रिएटिभिस्ट) हुन्।
उनका सिर्जना र गतिविधि एक-अर्काका सम्पूरक हुन्। यी दुईलाई छुट्याएर हेर्न सकिन्न। यसलाई छुट्याउनेबित्तिकै उनको पहिचानमा थोपरिएको मानक पस्छ, कृत्रिम जलप चढ्छ अनि उनी इन्द्रबहादुर गुरुङ रहँदैनन्।
यसकारण उनी जे हुन् यसैमा हुन्; उनी जे होइनन् यसैमा होइनन्। हो, इन्द्रबहादुर गुरुङले साहित्यका ठूल्ठूला ठेली पढ़ेनन्। यस्ता ठेली पढ्नको निम्ति आमरूपमा हुने डिग्री न उनमा थियो, न पैसा नै। सर्टिफिकेटधारी शिक्षामा दशौँ कक्षा पनि उत्तीर्ण नगरेका; खान धौ-धौ हुने तनखाले किताप किन्ने हुती गुमाएका; सिद्धान्तका कटमेरा तर अनुभवले पाकेका; ग्राहस्थ जीवनका कठिनाइले सुकेका तर मनोबलले पुष्ट एक भुक्तभोगी चियाश्रमिक थिए उनी।
गुरुङलाई उनको जैविक उत्थानको पृष्ठभूमिइतर हेर्नु भनेको उनलाई नहेर्नु हो; उनीमाथि अन्याय गर्नु हो। क्षमता पहिचानको बनिबनाऊ सूत्र वा फरम्याटमा इन्द्रबहादुर गुरुङ नअटाउन सक्छन्, किनभने यसका लागि चाहिने भनिएका आवश्यकता (रिक्वायरमेन्ट) उनले पूर्ति गर्न सक्दैनन्। तर जब हामी पेशागत बौद्धिकता र पेशाइतर रचनात्मक बौद्धिक कार्यलाई एउटै फ्रेमबाट हेर्ने पारम्परिक चश्मा उतार्छौं, त्यतिबेला पावरविहीन आँखाले पनि इन्द्रबहादुर गुरुङलाई सजिलै चिन्न सक्छ, ठम्याउन सक्छ।
इन्द्रबहादुरको पहिचानमा आएका वा आउनसक्ने मतभिन्नता उनलाई हेर्ने यिनै पारम्परिक र नवीन दृष्टिविन्दुबाट निर्मित हुनसक्छन्। गुरुङ मूलतः व्यवहारबाट सिर्जनातर्फ उक्लिएका कवि हुन्, सिद्धान्तबाट व्यवहारमा चिप्लिएका कवि होइनन्। कोहीबेला यस्तो लाग्छ, उनी व्यवहारवाद र अनुभववादको माखेसाङ्लोमा निकै दह्रोसँग बाँधिएका छन्। उनी बाँधिएको यो व्यूहरचना तर जैविक पहिचानबाटै तोड्न सकिन्छ।
ग. कृतिमा
अहिलेसम्म इन्द्रबहादुर गुरुङका ६ कृति प्रकाशित छन्। उनलाई आगो पनि मनपर्छ, फूल पनि (सन्दर्भः ‘आगोहरू अनि फूलहरू’, कवितासङ्ग्रह, १९८३)। उनी आगो भएको थोरैले देखेका छन्, तर फूल भने उनी हुन् नै। चियाबगानका मजदुरहरूलाई अत्याचार गर्ने मालिकविरुद्ध उनको आगो धीमा भए पनि बलिरहेकै छ।
कुनै समय उनी म्यानेजरको अफिसमै गएर आगो हुन्थे। मालिकविरुद्धको यिनको रिसले उसबेलादेखि नै मजदुरवर्गको प्रतिनिधित्व गरेको हो। इन्द्रबहादुर गुरुङ अहिले पनि मालिकहरूको हाँसोमा चियाश्रमिकको उपहास भेट्थे। आगो र फूलको द्वन्द्वमा तर आगो निस्तेज र शिथिल नै छ। गुरुङका नाटकहरू (‘मेरा चार एकांकी’, १९८४)-को रङ्गमञ्च डुवर्सकै चियाभूमि हो।
यसै भूमिका पात्रले यसै भूमिमा मञ्चन गरेर यसै भूमिका दर्शक वा भावकलाई पीड़ाको सौन्दर्य बुझाएका छन्। पीड़ादायी कलालाई कसरी सौन्दर्यमयी बनाउनु भन्ने ‘कला’ पनि भुक्तभोगी सर्जकलाई नै बढ़ी थाह हुँदो हो! नाटकमा जस्तोसुकै उत्कर्ष भए पनि त्यसको अन्त्य मूलतः दुईप्रकारले हुने गरेका छन्-सुखान्त र दुःखान्त।
अधिकांश साहित्यकारहरू नाटकको सुखान्त अन्त्य नै चाहन्छन्। दुःखान्त अन्त्यले भावकमा निराशा पैदा गर्छ भन्ने आम धारणा नै छ। तर ग्रीसेली नाट्य परम्परादेखि नै मनोवेग, वेदना र त्रासदीले पनि भावकमा एउटा छुट्टै शुद्धिकरण एवं सुखानुभूति प्रदान गर्न सक्छ भन्ने धारणाबाट अरस्तुको विरेचन-सिद्धान्त बनेको पाइन्छ।
‘त्रासदीको अर्को नाम हो डुवर्स’-जीवन नामदुङले भनेका छन्। नामदुङको त्यो त्रासदभूमिमा गुरुङका नाटकहरू पनि समस्याका त्रासदीले भरिएका हुने नै भए। सामूहिक त्रासदीहरू कलामा प्रस्तुत हुँदा भावकमा त्यसले जुन मनोवेग र नायकत्वरूपी आनन्द एवं सौन्दर्य प्रदान गर्दछ, इन्द्रबहादुर गुरुङका नाटकहरूलाई केही हदसम्म तिनै कोटिका ‘आनन्द’-मा राख्न सकिन्छ।
सबै समयमा दुःखान्तता निराशा र पतनको प्रतीक होइन। वस्तुस्थितिले निर्माण गरेको सौन्दर्यमा भावकले आफ्नो एकात्मकता पायो भने दुःखान्तता पनि जीवनका लागि प्रेरणादायी हुनसक्छ। त्रासदी र आनन्द सँगै हिँड़ेका तर दुई विपरीत सौन्दर्यबोधात्मक प्रवर्ग हुन्-प्रसव वेदनाको त्रासद स्थितिबाट शिशु जन्मेपछिको आनन्दानुभूति जस्तै। इन्द्रबहादुर गुरुङका नाटकहरूमा पाइने डुवर्सेली जीवनको त्रासदीले पनि भावकमा यस्तै अन्तरसंवेदी भाव सम्प्रेषण गरेको भेटिन्छ।
इन्द्रबहादुर गुरुङ पूर्व डुवर्सको बुखिमबारी निवासी हुन्। यो ठाउँले उनलाई डुवर्स दुख्नुको प्रतिनिधिकता पनि दिलाएको छ। बुखिमबारीको स्थानिकता, परिचय र परिवेश यिनका कथा (‘बुखिमबारीका कथाहरू’, १९९३)-मा डुवर्सेली प्रतिनिधिकता भएर बाँचेका छन्। बुखिमबारीको बुइँ चढ़ेर समग्र डुवर्सलाई हेर्नु यिनका कथाहरूको एउटा महत्त्वपूर्ण पक्ष हो। गुरुङका कथाहरू डुवर्सेली आञ्चलिक विशेषतालाई आनुभाविक सघनताका साथ प्रस्तुत गरिएका रचनात्मक पीड़ा हुन्।
पछिल्लो कालमा प्रकाशित उनका दुई कृति ‘बेदुईन’ (कवितासङ्ग्रह, २००८) र ‘संस्मरण; एक संस्मरण’ (२०१५)-माथि यहाँ छोटो कैरन उतार्ने प्रयास गरिन्छ। अरबी भाषाको ‘बदावी’ बहुवचन शब्दबाट बनेको ‘बेदुईन’-को अर्थ हुन्छ-बन्जारा वा यायावर। अरबीको ‘बदियाह’ (जसको अर्थ हुन्छ-मरुभूमि)-बाट यो शब्दको व्युत्पति भएको पाइन्छ।
सऊदी अरबको एक हजार किलोमिटरभन्दा विशाल क्षेत्रमा फैलिएको रेगिस्तान अथवा मरुभूमि क्षेत्रका फिरन्ते जातिलाई आज विश्वमा ‘बेदुईन’ भनेर चिनिन्छ। यो विशाल रेगिस्तानको तापमान र आवहवा यति खतरनाक छ-आम मानिस यहाँ जान सक्लान्, तर फर्किएर आउन सक्दैनन्। जलवायुको अनुकूलन वा एडास्डेशनले गर्दा हुनसक्छ-यस क्षेत्रमा बेदुईन मात्र घुमफिर गर्न सक्छन्, त्यही पनि मौसमी अनुकूलतामा।
आम रूपमा हिजोआज रुपियाँ कमाउन पुगिने सऊदी अरबमा इन्द्रबहादुर गुरुङ शब्द र विम्ब कमाउन किन पुगे? त्यसको कैफियत राम्रोसँग दिन नपाई उनी बिते। किन हो, डुवर्सका यी कविलाई आफ्नो कलमको भावना रेगिस्तानको दिशाहीन यात्री ‘बेदुईन’ जस्तै लाग्थ्यो। आफ्नो विम्बलाई यिनले अरबको रेगिस्तानबाट झिकाएर डुवर्सको चियाबगानमा ल्याउँदा त्यो साँच्चै ‘दिशाहीन’ नै भएको छ। यो शीर्षकले पुस्तकको प्रतिनिधिकतालाई गैर-प्रतिनिधिकतामा झारेको छ।
पुस्तकमा ‘बेदुईन’-को प्रतिनिधिक अर्थ बोक्ने न कविता छ, न भाव नै। “मैले मेरो भावनारूपी घोड़ाको लगामरूपी कलमलाई स्वतन्त्र छोड़िदिएको छु-रेगिस्तानको दिशाहीन यात्री ‘बेदुईन’ सरह”,सङ्ग्रहभरि यिनले ‘बेदुईन’-लाई लिएर भनेकै यत्ति हुन्। उनको यो बिम्बको कारण अलिकति अरबको बलौटे धुलो चियाबारीको हरियो मुनामा लागेको भए पनि चित्त बुझाउने ठाउँ हुनेथियो। तर सङ्ग्रहमा त्यसको फेदटुप्पो नभेट्दा यिनको भावको भेउ पाउन यो कलमकारलाई हम्मे परेको हो। सबै 67 वटा कविता पढ्दा यिनी कहीं दिशाहीन भेटिँदैनन्।
प्रायः कविताको केन्द्रविन्दु चियाबगान छ, डुवर्सेली समाज छ र डुवर्सका आम मानिस खासगरी गोर्खाहरूले झेल्न परेका समस्या छ। वास्तवमा यिनको कविताको न्युक्लियस नै चियाबारी हो, जहाँका उनी एक श्रमिक हुन्। चियाबारीको समस्यालाई यिनले आफ्नै भाका, शैली र शब्दमा उतारेका छन्-कतै स्तर खस्केको छ, कहीं आवेग चस्केको छ अनि कतै मजदुर आवाज घन्केको छ। तर यी जम्मैका भावभूमि चियाबारी नै हो। यसैले यिनी आफ्ना कवितामा, भावनामा, संवेगमा होइन; शीर्षकमा, शब्दसंयोजनमा, कलात्मक अभिव्यक्तिमा भने पक्कै दिशाहीन छन्।
आफ्ना कविताहरू सिद्धान्त-व्यापार र शब्दतौलबाट परिचालित छैनन् भन्ने देखाउन पनि यिनले यस्तो शीर्षक राखेका हुनसक्छन्।
सामान्यतः हामी स्वतन्त्रतालाई बाधारहित कार्यव्यापारको अर्थमा बुझ्छौं। स्वतन्त्रता र अनुशासन (यस लेखको सन्दर्भमा दिशादर्शन) एकअर्कासँग सम्बन्धित हुन्छन्। लक्ष्यहीन स्वतन्त्र चिन्तन र कार्य ‘स्वतन्त्रता’ स्वयंका लागि पनि बाधक हुन्छ, किनभने यसले ल्याउने अन्तिम परिणाम भनेको दिशाहीनता नै हो। साहित्यमा स्वतन्त्र भनिएका अभिव्यक्तिहरू बढ़ी अराजक छन्।
आजकल दिशाहीन अराजकतालाई न्यायोचित ठहऱ्याउन त्यसका अघि-पछि विशेषण, उप र पर शब्दढाल लगाउने चलन छ। तर पनि त्यसले व्यवस्थित धारा स्थापनाबाट आफूलाई अलग राख्न खोज्छ। उद्देश्यविहीन ‘स्वतन्त्रता’ कहीं पनि लाभकारी हुँदैन। साहित्य पनि यसबाट अछुत छैन। इन्द्रबहादुर गुरुङको कवितात्मक आवेगको डोरो चियाबारीका समस्याबाट निजात पाउन र मजदुरहरूको आङमा न्यायो घाम लाग्नुपर्छ भन्ने चाहबाट यस्तरी नियन्त्रित छ, यिनी चाहेर पनि त्यसबाट ‘स्वतन्त्र’ रहन सक्दैनन्, जबकि यिनले यी सबै पीड़ाबाट स्वतन्त्रता (मुक्ति) भने चाहेकै छन्।
उत्पीड़नको माखेसाङ्लोमा बाँधिएको एक व्यक्तिको आवेग माखेसाङ्लो फुत्काउको सट्टा त्यसबाहिर रमायो भने त्यस्ता अभिव्यक्तिलाई हामी गैर-प्रतिनिधिक मान्छौं। इन्द्रबहादुर गुरुङका कविता त्यस्ता छैनन्। उनको ‘स्वतन्त्र’ दाबी उनकै कविताअघि थर्थरी कामेका छन्, धराशायी भएका छन्। ‘स्वतन्त्र’ भनिमाग्ने आजको साहित्यिक फेसनको प्रभावबाट अरूजस्तै यिनी पनि अछुत नरहेको स्थितिबाहेक सङ्ग्रहमा ‘बेदुईन’-को खासै अर्थ र भाव भेटिन्न।
यिनको ‘धाक’ कविताले यस क्षेत्रको साहित्यिक गोष्ठीहरूमा धाक पिटेकै हो। कविताका पङ्क्तिहरू-
अरिङ्गल खाएँ, बच्छिऊ खाएँ, छुसी बारूला
तर थाहै छैन
जाबो लामखुट्टे र उडुसले चुसेर
झुत्रो पारिसक्यो हामीलाई।
यो कवितामा यिनको जाति दुखेको छ, चियाबारी दुखेको छ, भारतीय गोर्खाहरूको अस्तित्व-सङ्कट दुखेको छ। यिनी चियाबारीको समस्याप्रति कति संवेदनशील छन् भन्ने कुरा ‘खै कता लागे ज्यूँदा मान्छेहरू’-को भावले दिन्छ-
सोमालिया र भियेतनाममा अन्याय हुँदा
मुड्की उझाउनेहरू
आमा पट्टिको न बाबु पट्टिको मर्दा
छाक बार्नेहरू
कलकत्तामा ट्राम जल्दा
कमान हड्ताल गर्नेहरू
खै हिजाज कता लागे?
यो अर्कै कुरा हो कि, आफू मात्र उत्पीड़नमा परेको देख्ने तर उस्तै उत्पीड़नमा परेका अन्य क्षेत्रका उत्पीड़ित वर्गप्रति सरोकार नराख्ने वर्ग सङ्कुचन गुरुङका यी हरफहरूमा पनि स्पष्ट देखिन्छन्। तर यो सोधनी मूलतः आफूलाई मार्क्सवादी र सर्वहारावादी भन्ने बङ्गालको तत्कालीन वामपन्थी सरकार र पार्टीप्रति बढ़ी लक्षित छ।
सत्तासीन मार्क्सवादीहरूको आफ्नै सैद्धान्तिक वर्गविरोधी कार्यशैलीको नकारात्मक प्रभावले उनको यो वर्ग-चेतना प्रभावित बनेको छ। खासगरी, उनको वर्ग आफ्नै वर्ग (चियाश्रमिक) हो। कार्ल मार्क्सले प्रतिपादित गरेको वर्गअवधारणा बङ्गालका तत्कालीन सत्तारूढ़ मार्क्सवादीहरूको गैर-मार्क्सवादिक कार्यशैलीबाट धेरै दूषित र तरलीकृत भएकोले यसले हाम्रो क्षेत्रमा मार्क्सवादी बुझाइको एउटा नकारात्मक बिम्ब नै स्थापित गरिदिएको छ।
यस्तो विद्रुप विम्ब भत्काउन निकै समय र शक्ति खर्चिनु पर्ने देखिन्छ। यसैले इन्द्रबहादुर गुरुङको ‘वर्ग’ पहिचान सैद्धान्तिक कम र व्यावहारिक बढ़ी छ।
‘बेदुईन’ कवितासङ्ग्रहका सबै कविता पढ़ेपछि यो निष्कर्ष निकाल्न सकिन्छ-आफ्नै पाइलासमेत मेट्दै हिँड्ने यायावर वा बन्जारा ‘बेदुईन’ जस्तै होइनन् इन्द्रबहादुर गुरुङ। तर डुवर्सेली माटोमा आफ्नै पौरख र अधिकार रोप्ने अनि यही माटोमा आफ्नो स्थायी हकका लागि लड़िरहेका डुवर्सका खाँटी नागरिक हुन्।
यिनको घर नहुन सक्छ, यिनको जमिन नहुन सक्छ, तर यिनी यी सब चाहिँदैन भनेर फिरन्ते भएका छैनन्। यसैले इन्द्रबहादुर गुरुङ हाम्रा ‘बेदुईन’ होइनन्।
२०१५ को अन्त्यतिर प्रकाशित यिनको संस्मरणात्मक कृति ‘संस्मरण; एक संस्मरण’ पढ्दा मलाई डुवर्सको दस्तावेज पढ़ेजस्तो लाग्यो। यिनले ‘संस्मरण निकाल्दैछु’ भनेर मलाई सुनाएका थिए अनि मैले सुझाएको थिएँ,‘दाइ, तपाईंले लामो समयदेखि डुवर्समा साहित्यिक तथा सामाजिक योद्धा भएर काम गरिरहनुभएको छ। तपाईंको ‘संस्मरण’ अनावश्यक गनथनको भारी नबनोस्। तपाईंले आफ्ना अनुभवबाट प्राप्त ज्ञानलाई अन्तरसम्बन्धित गर्नुहोस् है।”
उनको संस्मरण ग्रन्थ प्रकाशित भएपछि मलाई थाहा भयो-मैले उनलाई निकै ढिलो सुझाएछु। तर खुशी के लाग्यो भने, उनले संस्मरणलाई तथ्यहरूसँग जोड़ेर दस्तावेजी रूप दिएछन्। उनका लागि यो संस्मरणभन्दा पनि बढ़ी आफूले गरेका दीर्घदिनदेखिको कर्मको जोहो वा संरक्षण हो; हाम्रा लागि यो इन्द्रबहादुर हेर्ने, डुवर्स हेर्ने ऐना हो। साँचो भन्नु हो भने, इन्द्रबहादुर गुरुङलाई साहित्यिक सिद्धान्तमा बुझ्न खोजियो भने हामी उनको मूलधन भेट्दैनौँ।
नरम स्वभावका इन्द्रबहादुर गुरुङलाई परख गर्ने दृष्टिमा पनि नरमी ल्याउनुपर्ने हुन्छ। यस कृतिमा आफ्नो ‘शुभेच्छासुमन’ मार्फत साहित्यकार अबीर खालिङले गुरुङलाई सटिक न्याय गरेका छन्। बितेको डेढ़ दशकदेखि डुवर्सको कालचिनी हाई स्कूलमा अध्यापन गरिरहेका खालिङले डुवर्समार्फत् इन्द्रबहादुर अनि इन्द्रबहादुरमार्फत् डुवर्स ठम्याउने जुन प्रयास गरेका छन्, त्यो सही र न्यायोचित छ।
खालिङको मूल्याङ्कन ठीक जँचेको छ-“…….आवश्यकता सकिएपछिको स्पेसमा मात्र यी अदभूत जीवको उपस्थिति पाइँदैन। …यो त संस्मरण नभएर उनले भाषा, साहित्य, कला, समाज, जाति उत्थानको निम्ति गरेको/खटेको/अजस्र मिहिनेतको पसिना बगाएको कार्यहरूको दस्तावेज पो रहेछ।…इमानदारिता उनको लेखनको ठूलो अस्त्र छ।”
अबीर खालिङको यो मूल्याङ्कनले इन्द्रबहादुर गुरुङहरूजस्ता भारतीय नेपाली साहित्यका मझौला कदको स्थाननिर्धारणको स्थापनलाई उनीहरूकै विशेषतामा खुट्याउनु पर्ने आवश्यकतातिर समेत इंगित गरेको छ।
६ खण्डमा विभाजित यो कृति वास्तवमा एउटा क्वाँटी सङ्ग्रह हो, जसमा समाचारका अंश (खण्ड-१), कविताहरू (खण्ड-२), भाषा आन्दोलनका प्रसङ्ग (खण्ड-३), चिया प्रसङ्ग (खण्ड-४), मातृभाषा शिक्षा प्रसङ्ग (खण्ड-५), साहित्य-संस्कृति प्रसङ्ग (खण्ड-६) र तस्बिरहरू सङ्ग्रहित छन्।
यो मूलतः इन्द्रबहादुर गुरुङसँग जोड़िएका डुवर्सका साहित्यिक-सांस्कृतिक-सामाजिक तथा शैक्षिक गतिविधिहरूका दस्तावेज भएकोले हामी जस्ता पछिल्लो पुस्ताका युवाहरूले यसबारे लेख्नभन्दा बढ़ी पढ्न जरुरी देखिन्छ।
गुरुङ दाइलाई पछिल्लो समय निकै हतारो भएजस्तो लाग्थ्यो। आफ्ना जम्मै कृति निकालीहालौं भन्ने हुटहुटीले उनले दुई वर्षमा दुईवटा किताब छापे। तीनवटा कथा थपेर २०१७ मा ‘बुखिमबारीका कथाहरू’-को दोस्रो संस्करण प्रकाशित गरे भने २०१८ मा ‘यात्रा’ (कविता सङ्ग्रह)।
हामीले केही सुझाउ राख्न नपाउँदै उनी प्रेसबाट किताब बोकेरे आउँथे अनि विमोचनको मिति सुनाउँथे। उनको कामको रफ्तार देखेर हामी छक्क पर्थ्यौं।
डुवर्सका प्रतिनिधि पात्र इन्द्रबहादुर गुरुङहरूले गरेका कर्मलाई उपेक्षा गरेर उनीहरूलाई बुझ्न सकिँदैन। आफ्ना अग्रजले देखाएको बाटो मात्र होइन, अग्रजले देखाउन नसकेका बाटो पहिल्याउनका लागि समेत उनीहरूलाई पढ्नु जरुरी हुन्छ। किनभने सामान्य विज्ञानले पनि भन्छ-हामी जति बढ़ी लामो र अचुक लक्ष्य राख्छौं, त्यति नै बढ़ी पछिसम्म पुग्नुपर्छ। यसको सजिलो उदाहरणको रूपमा हामी गुलेली र तीरधनुलाई लिन सक्छौं। यी दुवै लक्ष्यभेदक जति पछि तन्कायो, त्यति अघि जान्छ।
पछिल्तिर तन्काउन अल्छी गऱ्यो भने मट्याङ्गरा र तीर दुवैले लक्षित निशाना साँध्न सक्दैन। हामी जति दूरगामी लक्ष्य राख्छौं, त्यति नै हाम्रा अग्रजहरूले गरेका कामहरूतर्फ फर्किएर हेर्नुपर्छ। साहित्यमा हामीले यसलाई ‘परम्पराबाट भिन्न परम्पराबाट सम्पृक्त’-को द्वन्द्ववादमा बुझ्नुपर्दछ।
२. इन्द्रबहादुर गुरुङः बुझाइपरक
इन्द्रबहादुर गुरुङ आफ्नो वर्ग चियाश्रमिकसँग भौतिक र मानसिक दुवै रूपले जोड़िएका कवि भएकाले यिनी आफ्नो वर्गले सुख पाओस् भन्ने चाहन्छन् र आफ्नो पक्षबाट सक्दो काम गर्छन्। पेशाले यिनी चियाश्रमिक हुन्, तर गतिविधिले साहित्यकार। यिनी आफ्नो पेशामा जोतिएका वर्गप्रति इमानदार भएकाले, उनीहरूको बौद्धिक, सामाजिक तथा आर्थिक उन्नति चाहेकाले आफ्नो क्षमताअनुसार त्यसलाई मार्गदर्शन गर्न यिनको गतिविधि (साहित्यिकता) खटिएको छ।
सानोभन्दा सानो काममा पनि कुनै न कुनै रचनात्मक र सिर्जनात्मक बौद्धिकता हुने भएकोले हरेक मान्छेमा बौद्धिक क्षमता निहित हुन्छ, तर सोहीअनुरूप सबैले बुद्धिजीवीको काम गर्दैनन्। पेशाको ठीक प्रतिकूल धारमा रहेर गुरुङले गर्दै आएका गतिविधि मूलतः चियाश्रमिकको उत्थानका लागि गरिएका बौद्धिक कार्य नै हुन्। गुरुङको सन्दर्भमा ‘चियाश्रमिक’ यस क्षेत्रका मूलवासी गोर्खा र आदिवासीका पर्याय हुन्।
क. कमजोरीहरूमा
इन्द्रबहादुर गुरुङलाई यति भन्नुको अर्थ उनलाई जे लेख्ने पनि छुट छ, उनले जे गरे वा लेखे पनि त्यसलाई अन्धसमर्थन गर्नुपर्छ भन्ने कदापि होइन। उनले जे लेखे पनि साहित्य हुन्छ भन्ने कुरालाई स्वीकार गर्न सकिँदैन।
साहित्यको एकस्तरीय मानकलाई उनले पनि अनुसरण गर्नैपर्छ। यो मानक उनलाई अरूले थोपर्ने भन्दा पनि आत्मसचेतनाबाट आउनु पर्दछ। त्यो आत्मसचेतना केवल अनुभवबाट मात्र सम्भव छैन। यसैले उनमा कुनै पनि चीजलाई परख गर्ने विश्वदृष्टिकोण पनि विकास हुनु जरुरी छ।
उनका रचनाहरू ठाउँ-ठाउँमा आफ्नै भनाइ र अभिव्यक्तिबाट भङ्गालिएका छन्। अन्तरविरोधी कुराहरू घर गरेर बसेका छन्। एउटै विचारले ठाउँ-ठाउँमा विरोधाभासी बिम्ब बोकेका छन्। मनमा, मुखमा, भावनामा आएको कुरालाई शब्दमा उतार्नुसम्म त ठीकै हो, तर त्यसलाई परिमार्जन नगरी तत्कालै सार्वजनिन परिदृश्यमा ल्याउन हतारिनु उनको कमजोरी हो।
लेखेका सबै साहित्य हुँदैन अनि सबै विचारलाई साहित्यमा सोझै उतार्नु हुँदैन भन्ने पक्षलाई इन्द्रबहादुर गुरुङले उपेक्षा गरेको देखिन्छ। गुरुङका रचनाहरूमा देखिएका सबैभन्दा ठूलो कमजोरी भनेको आफ्ना विचार र भावनालाई कलात्मक रूपमा परिमार्जित गर्न नसक्नु हो।
आज पनि कतिपय साहित्यकारहरू कविगोष्ठीमा पुग्दा पोडियममा उभिएर भन्ने गर्छन्-‘अघि भर्खरै यहाँ बस्दाबस्दै लेखेको कविता।’ साहित्य यति कमसल र कमजोर साधनाको विषय होइन। आँसुकवि देवकोटाले समेत आफ्नो क्षमता विकास गर्न कठिन साधना, मेहनत र अध्ययनलाई त्यसको अङ्ग बनाएका थिए।
‘साधना’-को अर्थ समाज नबुझेर किताब मात्र बुझ्नु होइन, अपितु समाज र सिद्धान्त सँगसँगै बुझ्नु हो। इन्द्रबहादुर गुरुङले यी दुईको समन्वयमा विशेष ध्यान दिनु जरुरी थियो।
ख. मूल्याङ्कनमा
नेपाली साहित्यका साहित्येतिहासकार, समालोचक तथा डुवर्सका युवा पुस्ताले इन्द्रबहादुर गुरुङको कसरी मूल्याङ्कन गर्नुपर्छ भन्ने सन्दर्भमा मानक स्थापित गर्ने उद्देश्य यो लेखको होइन। त्यसो गर्नु पनि एक किसिमको मूर्खता नै हुनेछ। किनभने उपर्युक्त तीनै कोटिका मूल्याङ्कनकर्ताहरूले उनको मूल्याङ्कन आफ्नै दृष्टिपरखबाट गर्नेछन्, जो उनीहरूले बोकेको वैचारिक चेतना र सैद्धान्तिक मूल्यबाट प्रभावित नभई रहनसक्दैन। तर डुवर्सको सन्दर्भमा हामी साधारण पाठक वा आजका युवा पुस्ताले भने इन्द्रबहादुर गुरुङले डुवर्सको प्रतिकूलतामा गरेका रचनात्मक कार्यहरूको विशेषता र कमजोरीहरूबाट उनको परख गर्नुपर्दछ भन्ने मेरो मान्यता हो।
इन्द्रबहादुर गुरुङका विचार वा आनुभाविक निष्कर्षका स-साना गराहरूमा जब हामी ठूल्ठूला सिद्धान्तका हलो जोत्न खोज्छौं, त्यतिबेला ती गराका मसिना तर उपयोगी बुट्यान र झ्याङहरू मासिनेछन्।
कमसल उत्पादन हुने डुवर्सको साहित्यिक खेतीले यस्ता बुट्याउन जोगाउन अत्यन्त आवश्यक छ। हामीले साहित्यको ठूलो खेत रोप्ने निहुँमा स-साना बिरुवाहरू फाँड्न थाल्यौं भने हामीसँग केही रहनेछैन। हामी त डुवर्सको सानो साहित्यिक कोठेबारीमा फरूवा र कुँटे लिएर पस्नुछ अनि बेफाइदाका इलामे, ढाँटे र सामाहरू उखेल्दै दाल, भटमास र रहरीका पोषिला बिरुवाहरू जोगाउनुछ ताकि ती पौष्टिक खाद्यान्नले हाम्रो पौष्टिक आपूर्तिसँगै डुवर्सेली भूमिको साहित्यिक माटोलाई पनि पोषित गरिरहोस्।
हाम्रो साहित्यिक भूमिको उर्वराशक्ति र उत्पादन क्षेत्र बढ़ाउने यो नै उत्तम र डुवर्सअनुकूल विधि हो। खाद्यान्न बेगर एकदिनको गुजारा चल्न नसक्ने हामी सबैलाई थाहा छ-कृषि क्रान्तिको प्रयोगभूमि र विस्तृत फाँट (सन्दर्भमा चण्डीगढ़)-मा जस्तै दुर्गम पहाड़ी भूभाग (सन्दर्भमा सिक्किम)-मा एकै प्रकारको कृषि उत्पादकता र गुणस्तर हुँदैन। त्यहाँको जलवायु, आञ्चलिक विशेषता र मानवीय क्रियाशीलताले त्यसलाई प्रभावित गरेकै हुन्छ।
स्वास्थ्यसँगै माटोको उपयोगितालाई दीर्घम्यादी उब्जाउमूलक बनाउनको निम्ति नै आज जैविक खेतीको अवधारणा विकास भएको पाइन्छ।
इन्द्रबहादुर गुरुङ हाम्रा यस्तै जैविक सम्पदा हुन्, जसले दीर्घकालसम्म डुवर्सको साहित्यिक खेतीलाई पोषण (ऊर्जा) दिइरहन्छ। साहित्यको एउटा तहबाट उपेक्षित हुनसक्ने इन्द्रबहादुर गुरुङका रचनाहरू डुवर्सेली मानसमा भने उनको कुनै न कुनै विम्ब लिएर जुनसुकै बेला ठिङ्ग उभिएर केही भन्न खोजिरहेकै हुन्छ।
जहाँ चियाबारी दुख्छ-त्यहाँ इन्द्रबहादुर गुरुङको ख्याउटे बिम्ब देखापर्छ। जहाँ गोरुले दूध दिन्छ-त्यहाँ इन्द्रबहादुर गुरुङको गाईभाषा (मातृभाषा) विरोधमा उभिन्छ। जहाँ भूटानी शरणार्थी दुख्छ-त्यहाँ इन्द्रबहादुरहरूको पनि निर्वासनको खतरा मड़मड़ाउँछ अनि जहाँ समग्र गोर्खा जाति दुख्छ-त्यहाँ इन्द्रबहादुरहरूलाई चर्को ‘आइय्या’ हुन्छ।
डुवर्सका नयाँ पुस्ताले जातीय सङ्कटका यी विविध पाटाहरूलाई एकसरो हेर्नेबित्तिकै त्यहाँ इन्द्रबहादुर गुरुङ छलर्ङ्गै चिनिन्छन्।
हाम्रा नजरमा इन्द्रबहादुर गुरुङ धेरै कुरा हुन्; धेरै कुरा होइनन्। इन्द्रबहादुर गुरुङ जे हुन्, यिनै हुन्। तर जे होइनन् ‘त्यो हुने’ जिम्मेवारी हाम्रो हो, डुवर्सको नयाँ पुस्ताको हो।