चियाकमानमा कामकाजअवधि सरकारी निर्देशको पालनमाथि विनयपन्थी मोर्चाले नजर राख्ने

1
1131
सोमवार तीनधारे चियाकमानमा पत्ती टिप्दै श्रमिकहरू।

दार्जीलिङ, 13 अप्रेलः दार्जीलिङ पहाड़का चियाकमानहरूमा शुरू गरिएको कामकाजका साथै सरकारी आदेश पालन गरिएको छ/छैन भन्नेबारे विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चाले गिद्देनजर राख्न शुरू गरेको छ।

यसका साथै पार्टीले यदि कुनै चियाकमानमा एकैजना श्रमिक कोभिड-19 कोरोना भाइरसको चपेटमा परे, उनको उपचारका सम्पूर्ण खर्च चियाकमान मालिकले बेहोर्नुपर्ने साथै 10 लाख रुपियाँ बीमास्वरूप भुक्तान गर्नुपर्ने पनि माग गरेको छ।

दार्जीलिङ पहाड़का चियाकमानहरूमा काम शुरू भएको विषयलाई लिएर नै आज गोजमुमो अध्यक्ष विनय तामाङले एक पत्रकार सम्मेलनको आयोजन गरेका थिए।

यसै अवसरमा उनले चियाकमानमा काम हुँदा श्रमिकहरू आउजाउ गर्नका लागि एउटै स्थान निश्‍चित गर्नुपर्ने, चियाकमान साथै चिया कारखाना परिसरलाई दैनिकरूपमा सेनिटाइज गर्नुपर्ने, प्रत्येक श्रमिकलाई मास्क, सेनिटाइजर प्रदान गर्नुपर्ने पनि सरकारको निर्देश रहेको जनाए।

‘‘सरकारको निर्देशअनुसार, चियाश्रमिकहरूमाझ सामाजिक दूरी बनाइराख्नका लागि पर्याप्त स्थान हुनपर्ने, कुनै श्रमिक एउटा विभागबाट अर्को विभागमा जानपरे, उनका लागि पूर्णरूपले सेनिटाइज गरिएको गाड़ीको व्यवस्था हुनपर्ने साथै चियाकमान र चिया कारखानालाई दैनिकरूपमा सेनिटाइज गर्नुपर्छ’’, उनले थपे, ‘‘यदि यी नियमहरूलाई चियाकमान मालिक वा प्रबन्धनपक्षले पूर्णरूपले पालन गरेको छ भने कुनै आपत्ति हुनेछैन, तर सरकारको यो निर्देश उल्लङ्घन गरिएको छ भने जिल्ला प्रशासनले उचित पदक्षेप ग्रहण गर्नुपर्छ।‘’

जसमाथि गोर्खा जनमुक्ति मोर्चाले पनि कठोर नजर राख्न शुरू गरेको उनले बताए।

विनयले भने, “सरकारले 25 प्रतिशत श्रमिकलाई काममा लगाउनसक्ने निर्देश जारी गरेको 24 घण्टापछि नै दार्जीलिङ पहाड़का धेरैवटा चियाकमानमा चियाश्रमिकहरूलाई काममा लगाउने कार्य भएको छ। यसैले चियाकमान मालिकहरूले पहाड़का सम्पूर्ण चियाश्रमिकहरूलाई लकडाउनअवधिको रोज पनि शीघ्र भुक्तान गर्नुपर्छ।”

यद्यपि, उनले दार्जीलिङका सांसद राजु विष्टलाई केन्द्रिय गृह मन्त्रालयले जारी गरेको चियाकमानमा काम शुरू गराउने निर्देश फिर्ता लिन लगाउने पनि अपील गरे।

तामाङले भने, “कोरोना सङ्क्रमणको कारण देशमा लकडाउन चलिरहेको छ, लकडाउन चलिरहेको भए पनि दैनिकरूपमा कोरोना सङ्क्रमितहरूको सङ्ख्यामा वृद्धि भइरहेको छ अनि आजसम्म 300 भन्दा अधिकको ज्यान पनि गइसकेको छ। यसैले धेरैवटा राज्य सरकारले लकडाउनको म्याद अझै बढ़ाउने अपील गरिरहेका छन्। ताकि ती राज्यका जनताको ज्यान बाँच्न सकोस्। तर यस्तो अवस्थामा दार्जीलिङ पहाड़का चियाश्रमिकहरू काममा जान परिरहेका छन्।‘’

यसैले यस विषयमा दार्जीलिङ पहाड़, जलपाइगढ़ी, अलिपुरद्वार जिल्लाका अन्य राजनीतिक पार्टीका नेतृत्ववर्गहरूसँगै जनप्रतिनिधिहरूले पनि आवाज उठाउन आवश्यक रहेको विनयले बताए। उनको दाबीका अनुसार तर अहिलेसम्म पनि अन्य पार्टीहरू चुप लागेर बसिरहेका छन्।

उल्लेखनीय छ,  हिजो आइतवार भए पनि दार्जीलिङ पहाड़का विशेष चामोङ ग्रुप अधीनस्थ चियाकमानहरूमा काम शुरू गरिएको थियो भने आजदेखि पहाड़का सबै चियाकमानमा नै काम शुरू गरिएको जानकारी पाइएको छ। यद्यपि, यी चियाकमानहरूले 25 प्रतिशत श्रमिकलाई काममा लगाउनका लागि कस्तो व्यवस्था गर्छ, त्यो चियाकमान प्रबन्धनपक्षकै जिम्मेवारी हो भन्ने पनि तामाङले भनाइ छ।

1 टिप्पणी

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here