दार्जीलिङ, 13 अप्रेलः गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाका अध्यक्ष विनय तामाङले आज दार्जीलिङ जिल्ला अस्पतालका डाक्टर र नर्सहरूलाई 50 वटा व्यक्ति सुरक्षा उपकरण (पीपीई) प्रदान गरेका छन्।
यसका साथै उनले जिल्ला अस्पतालका 6 जना एम्बुलेन्स चालकलाई पनि पीपीई प्रदान गरेका छन्।
पछिल्लो 10 मार्चका दिन जिल्ला अस्पताललाई पूर्ण रूपले सेनिटाइज गर्नहेतु पार्टीको तर्फबाट गुणस्तरीय केमिकल स्प्रेको कार्य गरिएको समयमा अस्पतालका चिकित्सक र नर्सहरूसित यथेष्ट मात्रामा इन्फारेट थर्मोमिटर नभएकोले त्यसदिन नै दुइवटा इन्फारेट थर्मोमिटर पनि विनयको तर्फबाट जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको बताइएको छ।
आज एक प्रेस विज्ञप्ति जारी गरी यसबारे उनले जानकारी गराइएको छ।
यसका साथै उनको तर्फबाट पछिल्लो 10 मार्चकै दिन पुलिसकर्मीहरूको स्वास्थ्यलाई ध्यानमा राखेर दार्जीलिङका पुलिस अधीक्षकलाई दुईवटा इन्फारेट थर्मोमिटर हस्तान्तरण गरिएको विज्ञप्तिमा बताइएको छ।
विनयका अनुसार दार्जीलिङ पहाड़लाई कोभिड-19 को सङ्क्रमणबाट सुरक्षित राख्नु सबैभन्दा मुख्य कुरा हो।
त्यसैले गोर्खा जनमुक्ति मोर्चा (दोस्रो खेमा) पहाड़को सत्तासीन र जिम्मेवार राजनीतिक दल भएको नाताले वर्तमानमा पहाड़वासीका सुरक्षा गर्नु आफूहरूको मुख्य उद्देश्य रहेको उनले बताएका छन्।
“हामीले अहिले त्यही कार्य गरिरहेका छौं। पहाड़वासीलाई कोभिड-19 को भुँवरीबाट सुरक्षित निकाल्न हाम्रो मुख्य लक्ष्य रहेको छ’’, तामाङले भनेका छन्।
यसका साथै जनसाधारणको हितमा पहाड़का सबै सङ्घ-संस्था र राजनीतिक दलहरूलाई अघि आइदिने अनुरोध गर्नका साथै आफूहरूको यस अभियानलाई राजनीतिक चश्मा लगाएर हेर्न नहुने बताएका छन्।
“यो विकट स्थितिमा हाम्रा मानिसहरूका सुरक्षाका लागि मैदानमा निस्केर कार्य गरौं। राजनीति गर्ने समय पछि पनि छ’’, मोर्चा दोस्रो खेमाका अध्यक्ष विनय तामाङले थप भनेका छन्, “पहाड़वासीलाई हालमा चाहिएको उनीहरूका सुरक्षा र हाम्रो अदृश्य शत्रु कोभिड-19 सँग लड़्ने प्रोत्साहन हो। हामी सबै एक भएर त्यो कर्तव्य पालन गरौं।‘’