कोरोना सङ्क्रमित नर्सकी आमा पनि पोजिटिभ

0
1155

सिलगढ़ी, 15 अप्रेलः पछिल्लो आइतवार कोरोना सङ्क्रमित रहेको पुष्टि भएकी उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा कार्यरत् नर्सकी आमा पनि कोरोना पोजिटिभ पाइएको छ।

उनकी आमाको हिजो कोरोना टेस्ट गरिएको थियो भने आज टेस्ट रिपोर्ट पोजिटिभ आएको बताइएको छ। आज अबेर राति उनलाई मतिगढ़ाको हिमाचल विहारस्थित डा. च्याङ सुपर स्पेशालिटी हस्पिटलमा भर्ना गरिएको छ।

राज्य सरकारले डा. च्याङको हस्पिटललाई प्राइभेट कोभिड-१९ उपचार अस्पताल बनाइएको छ।

यसभन्दा अघि हिजो ती नर्सका पतिको रिपोर्ट पनि पोजिटिभ आएको थियो। अहिले उनीसँगै उनका पति पनि यसै अस्पतालमा उपचाराधीन छन्।

उल्लेखनीय छ, नर्सका करिब दुई वर्षे छोरोको रिपोर्ट भने नेगिटिभ आएको छ।

स्मरण रहोस्, कोरोना भाइरसकै कारण मृत्यु भएकी कालेबुङनिवासी महिलाकै सम्पर्कमा आएको कारण ती नर्स कोरोना सङ्क्रमित बनेकी बताइएको छ। किनभने उनी कालेबुङनिवासी ती महिलाको उपचारमा शुरुमै खटिएकी थिइन्।

मेडिकल कलेज सूत्रका अनुसार ड्युटीपछि उनलाई क्वारेन्टाइन लिभ दिइएको थियो। साथै शुरुमा गरिएको कोरोना टेस्ट नेगिटिभ आएको थियो।

तर 10 अप्रेलका दिन उनलाई ज्वरो आएपछि भोलिपल्ट 11 अप्रेलका दिन उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालको आईडी-1 वार्डमा भर्ना गर्नका साथै त्यसै दिन उनको कोरोना टेस्ट गरिएको थियो।

12 अप्रेलका दिन उनको टेस्ट रिपोर्ट पोजिटिभ आएको हो।

यसैगरी पछिल्लो 6 अप्रेलका दिन कोरोना पोजिटिभ पाइएकी उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पातलमा कार्यरत् अर्की नर्स पनि अहिले डा. च्याङ सुपर स्पेशालिटी अस्पतालमा उपचाराधीन छिन्।

उनी पनि कालेबुङनिवासी ती महिलाकै सम्पर्कमा आएपछि कोरोना सङ्क्रमित बनेकी हुन्। किनभने यी नर्स पनि कालेबुङनिवासी महिलाको उपाचारमा खटिएको मेडिकल टिममा सामेल थिइन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here