बतासेस्थित टीबी अस्पतालमा क्वारेन्टाइन सेन्टर शुरू, विनयद्वारा पीपीई र मास्क प्रदान

0
1033

दार्जीलिङ, 16 अप्रेलः दार्जीलिङमा क्वारेन्टाइन सेन्टर शुरू भएको छ। दार्जीलिङ जिल्ला प्रशासन र गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए)-ले दार्जीलिङ जिल्लाको पहाड़ी क्षेत्रमा कुल 21 वटा भवनलाई क्वारेन्टाइन सेन्टर बनाउने भएको छ। जसमध्ये आज स्थानीय बतासेस्थित टीबी अस्पताललाई क्वारेन्टाइन सेन्टरको रूप दिइएको छ।

यसैबीच, गोर्खा जनमुक्ति मोर्चा दोस्रो खेमाका अध्यक्ष विनय तामाङले यहाँ कार्यरत डाक्टर, नर्स तथा अन्य कर्मचारीहरूका लागि नन्-डिस्पोजेबल पर्सनल प्रोटेक्शन इक्विप्मेन्ट (पीपीई) पनि प्रदान गरे। यसका तामाङले उनीहरूलाई एन-95 मास्क पनि प्रदान गरेका छन्।

यति मात्रै होइन, तामाङले यहाँ सरकारबाट एम्बुलेन्सको सुविधा उपलब्ध नगराइएसम्म आफ्नो तर्फबाट एउटा निजी गाड़ीलाई एम्बुलेन्सको रूपमा चलाउन दिने पनि घोषणा गरे।

उनले केन्द्र र राज्य सरकारको स्वास्थ्य विभागको दिशानिर्देशअनुसार नै दार्जीलिङको टीबी अस्पताललाई क्वारेन्टाइन सेन्टरको रूप प्रदान गरिएको बताउँदै अन्य कतिपय आवश्यक सामग्रीहरूका लागि जीटीए र राज्य सरकारसित कुरा गर्ने पनि जनाए।

उनले भने, “टीबी अस्पतालमा कुल 25 वटा पलङ राख्न सकिने व्यवस्था छ, तर प्राथमिक चरणमा यहाँ 12 वटा पलङ राखिएको छ। यद्यपि, अहिलेसम्म यस केन्द्रमा एकैजना पनि भर्ना गरिएको छैन।’’

उनले क्वारेन्टाइन सेन्टर स्थापनालाई लिएर कतिपय स्थानका मानिसहरूमा भूल बुझाइ रहेको बताउँदै क्वारेन्टाइन सेन्टर कोरोना सङ्क्रमितलाई राख्ने केन्द्र होइन भन्ने बताएका छन्।

यदि कसैमा कोरोना सङ्क्रमणको लक्षण देखिए, त्यस्ता मानिसलाई मात्रै क्वारेन्टाइन सेन्टरमा राखिने बताइएको छ। कोरोना सङ्क्रमितहरूलाई सोझै अस्पतालमा भर्ना गरिन्छ।

यसैबीच, उनले हाल कोरोना सङ्क्रमणको कारण प्रायः जसो गाउँहरूमा धेरै समयपछि आउने आफ्नै गाउँका मानिसहरूलाई पनि प्रवेश गर्न नदिइने विषयलाई ध्यानमा राखेर विशेष यस्ता पुलिस तथा नर्सिङ स्टाफहरूका लागि होटलको व्यवस्था गरिदिने पनि वचन दिएका छन्।

किनभने, कतिपय टाढ़ा-टाढ़ाका पुलिसकर्मी अनि नर्सिङ स्टाफहरू छुट्टीमा घर जान चाहँदा उनीहरूलाई आफ्नो गाउँमा प्रवेश गर्न नदिनसक्ने सम्भावनालाई ध्यानमा राखेर नै उनले यसप्रकारको व्यवस्था गरिदिने भएका हुन्।

यसैगरी, तामाङले सिंहमारीको खोलीघर, जामुनेमा पनि शीघ्रै क्वारेन्टाइन सेन्टर शुरू गरिने, पोख्रेबुङको क्वारेटाइन सेन्टर लगभग तयार भइसकेको अनि मङ्पूमा शुरू पनि भइसकेको जानकारी गराए।

उल्लेखनीय छ, जीटीए र दार्जीलिङ जिल्ला प्रशासनले दार्जीलिङका क्रमैले टीबी अस्पताल, युथ होस्टल, पत्ताबुङको टुरिस्ट लज, बिजनबारीको पुरानो कलेज, जोरपोखरी टुरिस्ट लज, खरसाङको नयाँ बजार सार्वजनिक भवन, सुकुना सार्वजनिक भवन, पातलेबासको कञ्चनजङ्घा पब्लिक स्कूल, बुङकुलुङ गेस्ट हाउसका साथै अन्यलाई क्वारेन्टाइन सेन्टर बनाउने योजना बनाएको छ।

जसमध्ये हालसम्म कुनै पनि सेन्टरमा एकैजना रोगी वा सम्भावित रोगीलाई राखिएको छैन। यद्यपि, कालेबुङको दिशा भवनमा रहेका 18 जनाको रिपोर्ट नेगेटिव आएपछि आज यी सबैलाई दिशा सेन्टरबाट छुट्टी प्रदान गरियो।

यसबाहेक मारवाड़ी भवन कालबेुङमा 23 जना र आईटीआई गोरुबथानमा 14 जनालाई क्वारेन्टाइनमा राखिएको छ। यसका साथै दार्जीलिङ जिल्लामा 136 जना आफै क्वारेन्टाइनमा बसेका छन् भने कालेबुङ जिल्लामा आफै क्वारेन्टाइनमा बस्नेहरूको सङ्ख्या 122 छ।

यसरी नै जीटीएले दिएको जानकारीअनुसार, दार्जीलिङ जिल्लाका लागि 10 हजार अनि कालेबुङ जिल्लाका लागि 19 हजार पीपीई चाहिएको छ भने एन-95 मास्क दार्जीलिङलाई 7,800, कालेबुङलाई 30 हजारको आवश्यकता छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here