दार्जीलिङ, 16 अप्रेलः भोलि अर्थात् शुक्रवारदेखि दार्जीलिङ शहरमा लकडाउन कठोर हुने भएको छ।
दार्जीलिङमा अहिलेसम्म पनि लकडाउनको उल्लङ्घन भइरहेको विषयलाई लिएर नै आज दार्जीलिङ जिल्ला प्रशासन, पुलिस, दार्जीलिङ नगरपालिका, जीटीए, श्रम विभागको एक आपतकालीन बैठक बसियो।
जुन बैठकमा भोलिदेखि दार्जीलिङमा लकडाउनलाई कठोरतासित लागू गर्न विभिन्न निर्णय लिइएको छ, जसमध्ये दार्जीलिङको चौकबजार पस्ने 7 वटा बाटोमध्ये 5 वटालाई आज साँझदेखि नै बन्द गर्ने, सिंहमारीदेखि जिल्लापाल कार्यालयबीचका साथै बतासेदेखि काकझोड़ाबीचमा नाका चेकिङ गरिने निर्णय गरिएको छ।
यसबारे जानकारी गराउँदै दार्जीलिङका पुलिस डीएसपी राहुल पाण्डेले भने, “लकडाउनको समय पनि दार्जीलिङको सब्जी मण्डी साथै मोटर स्ट्याण्ड वरिपरि धेरै मानिसको भीड़ लाग्ने गरेको छ। यसैले भोलिदेखि यो भीड़ कम्ती गर्नका लागि कठोर पदक्षेप ग्रहण गर्ने निर्णय लिइएको छ।’’
यसप्रकारको पदक्षेपले जनतालाई केही असुविधा हुने भए पनि जनताको हितलाई नै ध्यानमा राखेर यस्तो निर्णय लिइएको उनले बताए।
“भोलिदेखि सब्जी तथा अन्य आवश्यक सामग्रीहरूका दोकानदारहरूले अनिवार्यरूपले मास्क, ह्याण्ड ग्लभ्स लगाउनका साथै ह्याण्ड सेनिटाइजर पनि प्रयोग गर्नुपर्छ। यो नियमको उल्लङ्घन गर्ने दोकानदारहरूविरुद्ध उचित कानुनी कारबाही गरिनेछ’’, पाण्डेले थपे, ‘‘यति मात्रै होइन, दोकानदारहरूले मास्क, ग्लभ्स आदि लगाएको छैन भने उनीहरूलाई दोकान पनि गर्न दिइने छैन।’’
यसका साथै मास्कबिनै कुनै सामान किन्न आएका ग्राहकहरूलाई दोकानदारहरूले कुनै पनि सामान नदिने तथा यस्ता मानिसहरूलाई सब्जी तथा अन्य आवश्यक सामान किन्नका लागि बनाइएको लाइनमा पनि बस्न नदिइने उनले थप बताएका छन्।
यसरी नै डीएसपी पाण्डेले कुनै सामान ल्याउन बजार आएका गाड़ीहरूमाथि पनि कठोर नजर राख्ने भएको बताए। जसअनुसार, मारुती भ्यानमा गाड़ी चालकबाहेक केवल दुईजना मात्रै यात्री वा सामान किन्ने ग्राहक हुनपर्छ।
जसले आफ्नो गाड़ीमा आवश्यक सामानहरू लगेर आफ्नो गाउँतिर बेच्न सक्ने उनको भनाइ छ।
पाण्डेले आजसम्म दार्जीलिङ सदर पुलिसले मात्रै लकडाउनको उल्लङ्घन गर्ने 91 जनालाई पक्राउ गरेको बताउँदै दार्जीलिङ महकुमाका विभिन्न थानाले हालसम्म 160 भन्दा बढ़ीलाई पक्राउ गरिसकेको जानकारी गराए।
यसैबीच, गोर्खा जनमुक्ति मोर्चा दोस्रो खेमाका अध्यक्ष विनय तामाङले दार्जीलिङमा अहिले पनि लकडाउनलाई पूर्णरूपले पालन नगरिएको बताउँदै भोलिदेखि लकडाउनलाई कठोरतासित लागू गर्ने पुलिस प्रशासनको निर्णयलाई पूर्ण साथ दिने बताए।
यस कार्यका लागि आफ्नो पार्टी कार्यकर्ताहरूले पनि सहयोग गर्ने उनको भनाइ छ।