दार्जीलिङ, 16 अप्रेलः बङ्गाल पुलिसद्वारा अलिपुरद्वारका भाजपा सांसद जोन बारलालाई गृहबन्दी बनाइएपछि दार्जीलिङ सांसद राजु बिष्टले ममता सरकारको तीखो शब्दमा आलोचना गरेका छन्।
बारलालाई गृहबन्दी बनाएको मुद्दालाई उठाउँदै उनले बङ्गालमा लोकतन्त्र कहाँ छ भन्ने प्रश्न गरेका छन्। यसका साथै एक जनप्रतिनिधिलाई गृहबन्दी बनाएको घटनाबारे केन्द्रीय गृहमन्त्री मन्त्री अमित शाह र बङ्गालका राज्यपाललाई संज्ञान लिएर गृहबन्दीबाट छुट्याउनका लागि यथाशीघ्र पहल गर्ने अनुरोध गरेका छन्।
बिष्टले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी बताएअनुसार बङ्गाल सरकारले सांसद जोन बारलालाई गृहबन्दी बनाएको छ। सांसद बारलाको घर आउने-जाने सबै बाटोमा करीब 40 जना पुलिस तैनाथ गरिएको छ।
विज्ञप्तिमा उनले क्षेत्रीय प्रशासन पनि तृणमूल कङ्ग्रेसकै सहयोग गर्ने कार्य गरिरहेको र एक प्रतिनिधिको रूपमा जनताको समस्या बुझेर उनीहरूलाई सहयोग गर्न गएका सांसदलाई भने बङ्गाल पुलिसले रोक्ने तथा गृहबन्दी बनाउने कार्य गरिरहेको बताएका छन्।
यसका साथै बिष्टले तुच्छ राजनीतिक फाइदाका लागि पुलिस प्रशासनको सहयोगमा तृणमूल सरकारले जनप्रतिनिधिलाई गृहबन्दी बनाउनेजस्ता निन्दनीय कार्य गरिरहेको बताएका छन्।