कालेबुङमा कोरोना भाइरसको चेन ब्रेक गर्न हामी सफल भएका छौंः अनित थापा

0
1137

कालेबुङ, 16 अप्रेलः दिशा सेन्टरको क्वारेन्टाइनमा रहेकाहरूलाई आज छुट्टी दिइएपछि स्थानीय मारवाड़ी भवनमा क्वारेन्टाइन रहेकाहरूलाई पनि आज छुट्टी दिइएको छ।

मारवाडी भवनमा क्वारेन्टाइनमा रहेकाहरूको पनि आज दोस्रो टेस्ट नेगिटिभ आएपछि उनीहरूलाई आज छुट्टी दिइएको हो। मारवाडी भवनको क्वारेन्टाइन कुल 23 जना थिए।

दिशा सेन्टर र मारवाड़ी भवनमा क्वारेन्टाइनमा रहेका सबै 41 जनालाई आज छुट्टी दिइएको छ।

यसअवसरमा त्यहाँ जीटीए बीओएका अध्यक्ष अनित थापा, नगराध्यक्ष रवि प्रधानलगायत स्वास्थ्य विभागका अधिकारी तथा अन्य उपस्थित थिए। उनीहरूले क्वारेन्टाइनबाट छुट्टी पाएकाहरूलाई मनोबल र हौसला प्रदान गर्नका लागि थप्पड़ी बजाएका थिए।

यसैबीच, पत्रकारहरूलाई बोल्दै अनित थापाले अब कालेबुङ कोरोना भाइरसको आतङ्कबाट मुक्त बनेको बताए।

उनले भने, “आज कोरोना भाइरसको चेन ब्रेक गर्न हामी सफल बनेका छौं। मैले भनेको थिए, जबसम्म  यो भाइरसको चेन ब्रेक हुँदैन, तबसम्म म कालेबुङमा बस्छु भनेको थिएँ। चेन ब्रेक भएको छ।”

थापाले कालेबुङवासीलाई सतर्क बसिदिने पुनः अपील गरेका छन्।

अब भोलि उनी कालेबुङबाट दार्जीलिङ फर्किनेछन्। जीटीए अध्यक्षका अनुसार दार्जीलिङ फर्केपछि उनी चियाकमान कमान पुगेर श्रमिकहरूको अवस्थाबारे जानकारी लिनेछन्।

यसका साथै भोलि यहाँबाट फर्केपछि सिलगढ़ीको पिन्टेल भिलेजमा एक प्रशासनिक बैठक आयोजन गर्ने बताए।

थापाका अनुसार उक्त बैठक उत्तर बङ्गालका आईजी, कालेबुङका जिल्लापाल र पुलिस अधीक्षक कालेबुङ, दार्जीलिङका जिल्लापाल, दार्जीलिङ पुलिस अधीक्षक र जीटीएका प्रमुख सचिव उपस्थित रहनेछन्।

उक्त बैठक पर्सि भित्रै डाक्ने उनको भनाइ छ। “अब म जीटीए क्षेत्रका सबै चेकपोस्ट कठोर बनाउनेछु। यसो गर्दा जनतालाई असुविधा हुन्छ, मन नदुखाइदिनुसोस्”, उनले थपे, “किनभने एकजना कोरोना सङ्क्रमित हुँदा कस्तो हुँदो रहेछ, सबैले थाह पाए। अब एकजनाबाट दुईजना हुन नदिनका लागि चेकपोस्ट कठोर बनाइनुपर्छ।”

यसैबीच उनले सबै चियाकमानमा नियम पालन गरिरहेको दाबी गरे। किनभने सबै चियाकमानका प्रबन्धक र श्रमिक सङ्गठनसँग आफू सम्पर्कमा रहेको उनले बताए।

“सबै चियाकमानमा नियम पालन गर्दैछ। अहिलेको स्थितिमा कसले नियम पालन गर्दैनन् र? तर यहाँ कतिजना यस्ता छन्, जसले पुराना फोटोहरू हालेर अहिलेको हो भनेर देखाउने कार्य गरिरहेका छन्”, थापाले भने।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here