दार्जीलिङ, 17 अप्रेलः लकडाउनलाई सफल बनाउन आजदेखि दार्जीलिङ पुलिस कारबाहीमा उत्रिएको छ।
घरभित्रै सुरक्षित बसिदिने पटक पटकको अनुरोधलाई बेवास्ता गरी बिनाकाम बजार घुम्न आउनेहरूले भीड़ लगाएपछि लकडाउनलाई सफल बनाउन आजदेखि दार्जीलिङ पुलिस थप कठोर बनेको हो।
आज पुलिसले लकडाउनको उल्लङ्घन गरेको तथा बिना मास्क घुमेको आरोपमा अपराह्न २ बजेसम्म 57 जनालाई पक्राउ गरेको छ, जसमा एकजना महिला पनि सामेल रहेको दार्जीलिङ सदर थानाका प्रभारी तीर्थ नाथले बताएका छन्।
उनका अनुसार पक्रा परेकी महिला मास्क नलगाइ बजार घुमिरहेकी थिइन्।
यसका साथै उनले पुलिसले आज बिहानदेखि भीड़लाई नियन्त्रित गर्नका लागि कारबाही शुरू गरेको बताएका छन्।
नाथका अनुसार पक्रा परेहरूलाई डिजास्टर म्यानेजमेन्ट एक्ट र आईसीपीको धारा 188 अन्तर्गत् मुद्दा दर्ता गरिएको छ।
अर्कोतिर उनले बोक्सी झोड़ा र सिंहमारी गरी बजारमा दुई ठाउँ नाका चेकिङ रहेको बताए। नाथले थप बताएअनुसार बोक्सीझोड़ाबाट करिब 30 वाहनलाई फिर्ता गरिएको छ, जुन वाहनहरू बिनाकारण बजार आइरहेका थिए।
त्यसैगरी बिनाकारण बजार आइरहेका 8 वटा वाहनलाई सिंहमारीबाट फर्काइएको छ। उनले यो अभियान जारी रहने बताएका छन्।