कालेबुङ, 17 अप्रेलः कालेबुङका कोरोना सङ्क्रमित सिंह परिवारका सबै सदस्य सङ्क्रमणमुक्त भएपछि आधिकारिक रूपमा कालेबुङ कोभिड-19 शून्य जिल्ला बनेको जीटीए बीओएका अध्यक्ष अनित थापाले बताएका छन्।
उल्लेखनीय छ, कोरोना सङ्क्रमणबाट निको भएपछि आज सिंह परिवारका चारजनालाई डा. च्याङ सुपर स्पेशिअलिटी हस्पिटलबाट छुट्टी दिइएपछि यसबारे बोल्दै थापाले अब कालेबुङ आधिकारिक रूपमा कोरोनाशून्य बनेको बताएका हुन्।
यसका साथै उनले कोरोना भाइरसविरुद्ध लड़ाइँमा अग्रिम पङ्क्तिमा खट्ने स्वास्थ्यकर्मीलगायत सबैप्रति आभार प्रकट गरेका छन्।
जीटीए बीओएका अध्यक्ष थापाका अनुसार सबैको सहयोगले यस्तो सम्भव बनेको हो।
‘आज म कालेबुङ छोड़्दैछु। यो क्षेत्र अब कोरोनामुक्त बनेको कुरा तपाईंहरूलाई जानकारी गराउन पाउँदा अत्यधिक खुशी भएको छु’, उनले भनेका छन्।
यसका साथै अनित थापाले कोरोनाको प्रकोपलाई रोक्न अबउसो जीटीए क्षेत्रका प्रवेश बिन्दु र चेकपोस्टहरू कठोर बनाइने बताएका छन्। यसो गरिँदा जनतालाई समस्या हुने भए पनि जनताले सहकार्य गर्नुपर्ने उनले अपील गरेका छन्।
जनताको सहकार्य र सहयोगले कोरोना भाइरसको प्रकोपबाट क्षेत्रलाई बचाउनसकिने उनको भनाइ छ। यसै पनि यस कार्यमा जनताले सहयोग गर्नुपर्ने बताएका छन्।
अर्कोतिर कालेबुङ कोरोनामुक्त बने पनि जनता थप सतर्कतापूर्वक घरमै बस्नुपर्ने थापाको अपील छ। ‘तपाईंहरूका ससाना बलिदान र योगदानले हामी हाम्रो लक्ष्यसम्म पुग्नेछौं, जीटीए अध्यक्षले भनेका छन्।
यसका साथै कोरोना भाइरसविरुद्ध लड़ाइँमा सबै राजनीतिक पार्टी एकजुट भएर कार्य गरिरहेकोमा उनले खुशी व्यक्त गरेका छन्।
‘यस घड़ीमा हामी राजनीतिबाट माथि उठ्नुपर्छ। र जनताका लागि राम्रो कार्य गर्नुपर्छ’, जीटीए बीओएका अध्यक्ष अनित थापाले भनेका छन्।
उल्लेखनीय छ, आज कोरोना सङ्क्रमित सिंह परिवारका चार सदस्यले उपचार पाएर सङ्क्रमणमुक्त बनेपछि डा. च्याङ सुपर स्पेशिअलिटी हस्पिटलबाट छुट्टी पाएका छन्।
सिंह परिवार कुल 9 सदस्य र घरमा काम गर्ने महिला कर्मचारी गरी कुल 10 जना कोरोनाबाट सङ्क्रमित बनेका थिए।