राशन वितरणमा भ्रष्टाचारको आरोप, बिष्टद्वारा प्रधानमन्त्रीलाई पत्राचार

0
1183
राजु बिष्ट (फाइल फोटो)।

दार्जीलिङ, 18 अप्रेलः प्रधानमन्त्री गरीब कल्याण अन्न योजनाअन्तर्गत् निःशुल्क (फ्री)-मा बाँड़िने राशनमा भ्रष्टाचार र वितरणमा ढिल्याइ विषयमा सांसद राजु बिष्टले प्रधानमन्त्री नरेन्द्र मोदी र बङ्गालका राज्यपाल जगदीप धनखड़लाई पत्राचार गरेका छन्।

पत्रमार्फत् उल्लिखित विषयमा प्रधानमन्त्री र राज्यपाललाई विस्तृत रूपमा बताएको बिष्टले बताएका छन्।

केन्द्र सरकारको उपभोक्ता मामिला, खाद्य एवं जनवितरण मन्त्रालयद्वारा 30 मार्चका दिन जारी अधिसूचनामा अप्रेलदेखि जून 2020 सम्म तीन महिना अतिरिक्त 5 किलोग्राम चामल/आँटा र एक किलोग्राम दाल टीपीडीएसअन्तर्गत पर्ने सबै लाभार्थीलाई वितरण गर्नुपर्ने निर्देश जारी गरे तापनि यसको वितरणमा थुप्रै जनगुनासो आफ्नो संसदीय क्षेत्रबाट प्राप्त भइरहेको उनले बताएका छन्।

‘धेरैजस्तो लाभार्थीले बताएअनुसार उनीहरूले तोकेको राशन पाएका छैनन्। त्यसमाथि आजसम्म कुनै एक लाभार्थीले केन्द्र सरकारले तोकेको अतिरिक्त राशन प्राप्त गरेका छैनन्’, बिष्टले थप भनेका छन्, ‘मैले पाएको रिपोर्टका अनुसार यहाँ व्यापक रूपमा भ्रष्टाचार चल्दैछ। यहाँ स्टकहरूलाई हेरफेर गरिँदैछ। प्राप्तिको नियमलाई मानिएको छैन।’

उनको आरोपका अनुसार मिल र गोदामको क्षमतालाई भएभन्दा अधिक देखाइएको छ।

‘थुप्रै चामलका मिल केवल कागजमा मात्र चल्दैछ। मल्टिपल ब्याङ्क खाता खोलिएका छन्’, बिष्टको आरोप छ, ‘एक स्थानको राशन अर्को स्थानमा पुऱ्याउनेजस्ता कामहरू भइरहेका छन्।’

केन्द्रले तोकेको राशनलाई पश्चिम बङ्गाल सरकारले ढिल्याइ नगरी वितरण गर्नुपर्ने आदेश दिइनुपर्ने, स्टक, मिल, गोदामको क्षमता र एकाउन्ट स्टेटमेन्टको छड़्के जाँच गर्नका लागि केन्द्रिय पर्यवेक्षक टिम नियुक्ति गरिनुपर्ने साथै राशनमा हिनामिनामा संलग्न रहेकाहरूमाथि राष्ट्रिय सुरक्षा कानूनको धाराअन्तर्गत मुद्दा दर्ता गरिनुपर्ने माग गर्दै यसप्रति प्रधानमन्त्रीलाई पदक्षेप चालिदिनुपर्ने पत्रमार्फत् आफूले अनुरोध गरेको पनि उनले बताएका छन्।

आजको कठिन समयमा राशन हिनामिना गरी निमुखा जनताका अधिकार खोसेर देशविरुद्ध कार्य गरेकाले यस्ता व्यक्तिहरूविरुद्ध राष्ट्रिय सुरक्षा कानूनअन्तर्गत मुद्दा दर्ता गरी कार्य गर्नुपर्ने बिष्टले बताएका छन्।

अर्कोतिर राशन घोटाला सम्बन्धमा राज्यपालसँग वार्तालाप गरी केन्द्रले तोकेको राशन चाँड़ोभन्दा चाँड़ो जनतासम्म पुऱ्याउनका लागि हस्तक्षेप गरिदिने आग्रह गरेको तथा राज्यपालले यस विषयलाई केन्द्रसमक्ष उठाउने वचन दिएको सांसद राजु बिष्टले बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here