पुरण छेत्री
‘अहिले दुवै पक्षमा दबाव बनाउने रणनीतिमा काम गर्ने इच्छाले अघि आएको हुँ। अलिक जोगिएरै काम गर्छु।’
यति भनी राखेर भाइ एसपी शर्मा पहाड़ छिरे। पहाड़ छिर्दा उनीसँग एउटा गज्जबको हतियार थियो-‘राजनैतिक कम्पास’। यसले पहाड़को अल्मलिरहेको राजनीतिलाई दिशानिर्देश गर्ला भनेर विज्ञहरूले निक्कै आशालाग्दो दृष्टिले हेरिरहेका थिए। तर उनी निष्पक्ष भएर जनताका लागि उभिन सकेनन, कुनै एक दलको हतियार मात्र बनिए।
‘राजनैतिक कम्पास’ बिग्रिएको, क्षेत्रीय प्रशासन र राज्य सत्ताका लागि काम गर्ने आरोप लागेपछि कम्पास थन्काएर पहाड़का जनप्रिय नेता स्व. मदन तामाङको मूर्ति बसाउने प्रोजेक्ट लिएर अघि आएका छन्। यसमा उनले केही व्यक्तिले सहयोग गर्न नपाउने आफ्नै नियम पनि सामाजिक सञ्जालमा बताइसकेका छन्।
‘मेरा परिवारमा सरकारी नोकरीमा कोही छैनन्। मेरो पनि व्यापार नै छ।’ मैले, मलाई र मेरा परिवारलाई प्रशासनले सताएको कुरा गर्दा उनले मलाई यसो भने।
सिलगढ़ीजस्तो प्रशस्त राजनीतिक स्पेस भएको ठाउँ छोड़ेर पहाड़को धमिलो पानी ताकेर उकालो चढ़ेका व्यापारी भाइले साँच्चै राजनीतिक व्यापार नै गरिरहेका प्रष्ट देखिरहेका छौं।
आफूभन्दा फरक मतको उनी सम्मान गर्दैनन्। बरू भन्छन्, ‘मसँग तर्क गर्न सक्ने औकात कसैसँग छैन।’ सामाजिक सञ्जालमा कसैले उनीसँग तर्क गरे, ‘लेभल मिलेन’ भनेर ब्लक ठोक्छन्। मलाई पनि ‘अश्लिल र कुरा नबुझ्ने’ भनेर ब्लक ठोके। क्षेत्रीय प्रशासन र राज्य सत्ताको भरमा उनको लेभल यति माथि उठेको छ कि अब उनी दार्जीलिङवासीलाई खेद्ने ताकत देखाइरहेका छन्।
विमल गुरुङका समर्थकहरू महामूर्ख हुन्, उनका लागि। यिनीहरूलाई ‘जङ्गल मात्र होइन, अझ टाढ़ो खेद्नु पर्छ’ भन्ने दाबी गर्छन् एसपी शर्मा। उनको सोच ठीक हो भनेर सघाउछिन्, विनय खेमा नारी मोर्चाकी प्रवक्ता सपना छेत्री।
घिसिङले मार्क्सवादीहरू खेदे, विमलले गोरामुमो ढुटाए, ममताले विमल खेदे। अब रहेका सत्ताविरोधीहरू खेद्नै एसपी शर्मा पहाड़ आएका त होइन्? आखिर खेदाखेद र हत्याहिंसाको राजनीतिबाट पहाड़ले कहिले मुक्ति पाउने? सके आफूले नसके पुलि, लगाएर भए पनि विपक्षलाई खेदो पाइलो गर्ने नीतिको पक्षपोषण गर्ने एसपी शर्माहरू हाम्रो समाजका धमिरा हुन्।
नोमन राई दार्जीलिङ नगरपालिकाका एकजना जनप्रतिनिधि हुन्। उनले कसैले लेखेको चिट्ठी कोड गर्न गल्ती भएको सन्दर्भ देखाएर ‘यस्तो मूर्खहरूलाई अझ टाढ़ो खेद्नुपर्छ’ भनेर एउटा तल्लो दर्जाको टिप्पणी र बयानबाजी गर्नु नै उनको मानसिक सोचको स्तर छर्लङ्ग हुनु हो।
आखिर किन चाहन्छन् त उनी यी भूमिगतहरूलाई अझ टाढ़ा खेद्न? के यी भूमिगतहरूले एसपी शर्माको घर फुटाएर जङ्गल पसेका हुन् त? हाम्रा शहीदहरूलाई दुँसै गोली ठोकेर मार्ने सरकारलाई प्यारो र विभिन्न झूटा मुद्दा खेपिरहेका भूमिगतहरूलाई किन दुश्मन ठान्छन् त एसपी शर्माहरू?
हामी भूमिगत दाजु-भाइहरू समाजको मूलधारमा आउनुपर्छ भन्नेमा छौं। उनीहरूसँग पनि पारिवारिक जिम्मेवारी छन्। सामाजिक उत्तरदायित्व छ। जातीय उन्मुक्तिका भरोसाहरू छन्। भूमिगत समूहले भोलि एउटा गलत कदम उठाए हाम्रो मूल मुद्दालाई ठूलो नोक्सान हुनसक्छ। यति संवेदनशील विषयलाई राजनीति गर्छु भन्ने मान्छेले हचुवा किसिमको मनाशय पाल्नु भनेको के हो, एसपी शर्माको दिमागमा के भरिएको छ, त्यो उनी नै जानून।
विमल गुरुङ सत्तामा हुँदा श्वास न वास भएर बसेका मान्छे, उनी भूमिगत हुनसाथै वीर भएर उनलाई गाली गर्न मैदानमा ओर्लिए। भाजपालाई गाली गर्छन्। यी सबै उनको राजनीतिक अधिकार हो गरून्। तर, पहाड़मा आएर पहाड़कै मानिसलाई ‘अझ टाढ़ा खेद्नु पर्छ’ भन्दै प्रशासनलाई उकास्ने काम नगरून्। पहाड़मा अझ पनि खेदाखेदको राजनीतिलाई उकासेर कुनै अप्रिय घटना भए हामी पहाड़वासीले नै दुःख पाउनेछौं। खेद्न उक्साउने एसपी शर्माहरू त सिलगढ़ीमा व्यापार गर्दै तमासा हेर्नेहरू मात्र हुन्।