दार्जीलिङ, 21 अप्रेलः रम्माम जलविद्युत् परियोजनामा कार्यरत् बुद्ध लेप्चाको मृत्युलाई केन्द्र गरी आज दोस्रो दिन पनि तनाउ सिर्जना भएको छ।
विशेषगरी प्रकल्पको कर्तृपक्षले घटनालाई लिएर उदासीन व्यवहार देखाएको तथा पीड़ित परिवारलाई न्याय दिन नसकेको भन्दै गाउँलेहरूले आज अपराह्नदेखि यस परियोजनालाई बन्द गरिदिएका छन्।
गाउँलेहरू आज बिहानै रम्माम जलविद्युत् परियोजनाका पावरहाउसअघि भेला भएर विरोध प्रदर्शनसमेत गरेका थिए।
जानकारीका अनुसार पीड़ित परिवारका मागलाई लिएर प्रकल्पका कर्तृपक्षले आनाकानी गरिरहेको छ, जसको कारण गाउँलेहरू आक्रोशित बनेका छन्।
जबसम्म मृतक बुद्धका परिवारले न्याय पाउँदैनन्, तबसम्म जल विद्युत् परियोजना बन्द राख्ने उनीहरूको भनाइ छ।
यसैगरी पीड़ित परिवारलाई 50 लाख रुपियाँ क्षतिपूर्ति राशि तथा अन्तेष्टि कार्यका लागि 50 हजारको रुपियाँको माग उनीहरूले गरेका छन्। यद्यपि समाचार लेखुञ्जेल कर्तृपक्षले यो मागलाई मानिलिएको थिएन।
यसैबीच, कर्तृपक्षले न्याय नदिएको भन्दै परिवारपक्षले बुद्ध लेप्चालाई शवलाई स्वीकारेका छैनन्। अहिले पनि शव लोधोमा अस्पतालको शवगृहमा राखिएको छ।
यसैबीच, घटनास्थलमा गाउँलेहरूसँगै पुगेका विनय तामाङपन्थी गोजमुमो रिम्बिक-लोधोमा समष्टिका अध्यक्ष नोर्देन शेर्पाले पार्टी पीड़ित परिवार र गाउँलेहरूको पक्षमा रहेको बताएका छन्।
उनले परियोजनाको कर्तृपक्षको व्यवहारप्रति प्रश्न तेर्साउँदै यथाशीघ्र पीड़ित परिवारलाई न्याय दिइनुपर्ने माग गरेका छन्।
“परिवारपक्षको माग जबसम्म पूरा हुँदैन, तबसम्म यो परियोजना बन्द हुनेछ। विनय तामाङपन्थी गोजमुमोले तपाईंहरूलाई पूर्ण सहयोग गर्नेछ”, शेर्पाले थपे, “पीड़ित परिवार र गाउँ-समाजसँग हामी साथमा रहेका हुनेछौं। तपाईंहरू यसका लागि निर्धक्क बस्दा हुनेछ। बुद्ध लेप्चाले जसरी पनि न्याय पाएको हुनुपर्छ।”
उनका अनुसार आज बिहान 11 बजीदेखि 3 बजीसम्म कर्तृपक्षसँग बैठक बस्दा पनि कुनै निष्कर्ष निस्केन। विनयपन्थी गोजमुमो समष्टि अध्यक्ष नोर्देन शेर्पाका अनुसार डीसीएलको लापरवाहीकै कारण बुद्ध लेप्चाको मृत्यु भएको हो। यसैले परिवारपक्षले यथाशीघ्र न्याय पाउनुपर्ने उनको माग छ।
अर्कोतिर, परियोजनाका प्रबन्धक टी.एस. मुखर्जीले पीड़ित परिवारले माग गरेको क्षतिपूर्तिबारे ठोस निर्णय आफूले लिन नसक्ने बताएका छन्।
उनले यस सम्बन्धमा उच्चाधिकारीहरूलाई सूचित गरेको पनि बताएका छन्।
उल्लेखनीय छ, लोअर चिउरीबोटेनिवासी 22 वर्षीय बुद्ध लेप्चाको हिजो ड्युटीअवधि करेण्ट लागेर मृत्यु भएको थियो। जानकारीका अनुसार लेप्चाले केही दिनअघि मात्र विवाह गरेका थिए।