बुद्ध लेप्चाको मृत्युलाई केन्द्र गरी तेस्रो दिन पनि रम्माम जलविद्युत् परियोजनामा तनाउ (भिडियोसहित)

0
1351

दार्जीलिङ, 22 अप्रेलः रम्माम जलविद्युत् परियोजनामा कार्यरत् अस्थायी कर्मचारी बुद्ध छिरिङ लेप्चाको मृत्युलाई केन्द्र गरी आज तेस्रो दिन पनि पावर स्टेशनअघि गाउँले र मृतकका परिवारपक्षले कर्तृपक्षविरुद्ध व्यापक विरोध प्रदर्शन गरे।

यद्यपि तेस्रो दिन पनि आज मृतकका परिवार र गाउँलेहरूको मागसम्बन्धमा कुनै ठोस निचोड़ निस्कनसकेन। यो समाचार लेखुञ्जेल पनि उनीहरू पावर स्टेशनअघि भेला भएर बसेका थिए।

उल्लेखनीय छ, सोमबार लोअर चिउरीबोटेनिवासी बुद्ध छिरिङ लेप्चाको ड्युटीअवधि करेण्ट लागेर मृत्यु दु:खद मृत्यु भएको थियो। तर रम्माम जलविद्युत् परियोजनाका कर्तृपक्षले मृतकका परिवारलाई कुनै प्रकारको न्याय दिनसकेको छैन, जसका कारण आक्रोशित बनेका परिवारपक्ष र गाउँलेहरूले यस परियोजनालाई हिजो अपराह्नदेखि बन्द गरिदिएका छन्।

मृतकका परिवारले मागेको 50 लाख रुपियाँको क्षतिपूर्ति राशिबारे पनि कर्तृपक्षले अहिलेसम्म कुनै निर्णय लिएको छैन। परियोजना प्रबन्धक टी.एस. मुखर्जीले आफूले यसबारे कुनै निर्णय लिन नसक्ने भएकाले उच्चाधिकारीहरूलाई जनाइसकेको बताएका छन्। तर, उच्चाधिकारीहरूको तर्फबाट के कस्तो निर्णय भएको छ, त्यसलाई पनि प्रबन्धक मुखर्जीले खुलस्त गर्न सकिरहेका छैनन्।

यसैबीच आज बिहान पावर हाउसमा तृणमूल नेता निर्मल सिंहको उपस्थितिलाई लिएर केहीक्षण तनाउपूर्ण बन्यो। तृणमूल नेता सिंह एजेण्टजस्तो भएर परियोजना प्रबन्धक टी.एस. मुखर्जीसँग कुरा मिलाउन सुटुक्कै भित्र पसेको भन्दै गाउँलेहरूले आक्रोशित बने। गाउँलेहरू र तृणमूल नेताबीच धक्कामुक्कीको स्थिति पनि सिर्जना भएको बताइएको छ।

जलविद्युत् परियोजनाको कर्तृपक्षको उदासीन व्यवहारप्रति आक्रोशित बनेका गाउँलेहरूले तृणमूल नेताको उपस्थितिलाई लिएर प्रश्न गरेका छन्। ‘एजेण्टजस्तो भएर परियोजना प्रबन्धकलाई भेट्न सुटुक्कै तृणमूल नेता किन जानुपऱ्यो’ भन्ने उनीहरूको प्रश्न छ।

अर्कोतिर तृणमूल नेता निर्मल सिंहले आफू मृतकका परिवारलाई न्याय दिलाउनका लागि परियोजना प्रबन्धकसँग कुराकानी गरेको तर विनय तामाङपन्थी गोजमुमो नेता सतीश पोखरेलले राजनीतिक फाइदाका लागि गाउँलेहरूलाई उक्साएर आफ्नो विरोध गर्न लगाएको दावी गरे।

यसैबीच, आज तेस्रो दिन पनि मृतकका परिवारलाई क्षतिपूर्ति र न्याय दिनेबारे कुनै ठोस निर्णय हुननसकेन। यसैले आज पनि परिवारपक्षले शवलाई स्वीकार गरेनन्।

जबसम्म रम्माम जलविद्युत् परियोजना कर्तृपक्षले न्याय दिँदैन, तबसम्म शव स्वीकार नगर्ने अड़ानमा परिवार र गाउँलेहरू अडिग बसेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here