सिलगढ़ी, 23 अप्रेलः कोरोना सङ्क्रमित नर्सका करिब दुई वर्षे छोरोको रिपोर्ट पनि पोजिटिभ आएको छ। जानकारीका अनुसार हिजो ती बालकको रिपोर्ट पोजिटिभ आएको हो।
यसभन्दा अघि बालकको रिपोर्ट नेगिटिभ आएको थियो।
उल्लेखनीय छ, कोरोना भाइरसको कारण मृत्यु भएकी कालेबुङनिवासी महिलाको उपचारमा खटिएकी उत्तरबङ्गाल मेडिकल कलेज एवं हस्पिटलकी यी नर्स कोरोना सङ्क्रमित बनेकी थिइन्।
पछिल्लो 12 अप्रेलका दिन उनको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो। त्यसपछि 13 अप्रेलका दिन उनका पति र 14 अप्रेलका दिन उनकी आमाको पनि रिपोर्ट नेगिटिभ आएको थियो। यद्यपि त्यसबेला उनका करिब दुई वर्षे छोरोको टेस्ट भने नेगिटिभ आएको थियो।
परिवारका सबै सदस्य कोरोना सङ्क्रमित रहेकोले डा. च्याङ सुपर स्पेशअलिटी अस्पतालमा भर्ना भएपछि ती बालकको हेर्चाह गर्ने कोही नभएपछि उनीहरूले आफूसँगै छोरोलाई अस्पतालमा ल्याएका थिए। यद्यपि बालकलाई आमा-बाबासँग राख्न दिएको थिएन।
हिजो बालकको कोरोना टेस्ट पोजिटिभ आएको बताइएको छ। यसका साथै ती नर्सका परिवारका सबै चार सदस्य कोरोना सङ्क्रमित बनेका छन्।
अर्कातिर, कोरोना सङ्क्रमित बनेकी उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा कार्यरत् तीनधारेनिवासी अर्की नर्सको उपचार पनि अहिले डा. च्याङ सुपर स्पेशअलिटी हस्पिटलमा चलिरहेको छ।
यी नर्स पनि कालेबुङनिवासी महिलाकै सम्पर्कमा आएपछि कोरोना सङ्क्रमित बनेकी थिइन्। किनभने महिलाको उपचारमा खटिएको मेडिकल टिममा यी नर्स पनि सामेल थिइन्।
उल्लेखनीय छ, कालेबुङनिवासी महिलाको सम्पर्कमा आएपछि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालका दुईजना नर्स कोरोना सङ्क्रमित बनेका छन्।