दार्जीलिङ, 24 अप्रेलः दार्जीलिङ पहाड़का कतिपय चियाकमानले सरकारको नियम वा आदेशलाई ठाड़ै उल्लङ्घन गर्दै सय प्रतिशत श्रमिकलाई नै काममा लगाइरहेको एचपीडब्ब्ल्यूयूले आरोप लगाएको छ।
गोरामुमोको श्रमिक सङ्गठन हिमालयन प्लान्टेशन वर्कर्स युनियन (एचपीडब्ल्यूयू)-का कार्यकारी अध्यक्ष डीके गुरुङले आज यस्तो आरोप लगाउँदै यस्तो खोलाँचीपनको कारण पहाड़का एकैजना चियाश्रमिक पनि कोरोना भाइरसको चपेटमा परे सम्पूर्ण पहाड़ नै सोत्तर हुने बताएका छन्।
“राज्यका मुख्य सचिवले गत 29 मार्चका दिन एक अधिसूचना जारी गरेर चियाकमानहरूमा 25 प्रतिशत श्रमिकलाई काममा लगाउन सकिने स्वीकृति प्रदान गरेका थिए। यसअघि केन्द्र सरकारले 50 प्रतिशत श्रमिक लगाएर चियाकमानहरूमा काम शुरू गर्न सकिने आदेश जारी गरेको थियो’’, उनले थपे, “उक्त आदेशको आधारमा नै राज्य सरकारले प्रथम 15 प्रतिशत श्रमिक लगाउने निर्देश जारी गरे तापनि पुनः 2 दिनपछि नयाँ अधिसूचना जारी गरेर 25 प्रतिशत चियाश्रमिक लगाएर काम शुरू गर्न सकिने स्वीकृति प्रदान गरेको थियो।‘’
तर, हाल पहाड़का धेरैवटा चियाकमानले सरकारको आदेशलाई पूर्णरूपले उल्लङ्घघन गर्दै 50 देखि 100 प्रतिशत श्रमिकलाई नै काममा लगाइरहेको एचपीडब्ल्यूयू कार्यकारी अध्यक्ष गुरुङले आरोप लगाए।
यति मात्रै होइन, उनले पहाड़का धेरैवटा चियाकमान मालिकहरूले प्रथम चरणको लकडाउनअवधिको रोजी अझैसम्म पनि श्रमिकहरूलाई नदिएको पनि बताएका छन्।
‘‘जुन सरकारको नियम अनि आदेशको उल्लङ्घन हो। सरकारको निर्देशका अनुसार, चियापत्ती तौलिने घरहरूमा सेनिटाइज गर्न आवश्यक छ साथै सामाजिक दूरीको नियम पनि पालन गर्न आवश्यक छ। तर चियापत्ती तौलिने घरहरूमा न पानीको व्यवस्था गरिएको छ, न सेनिटाइज गर्ने काम भइरहेको छ, न त सामाजिक दूरीको नियम नै पालन भइरहेको छ’’, उनले थपे, ‘‘तोलाइ घरमा श्रमिकहरू एक गाँठो भएर चियापत्ती तौलिने गरिरहेका छन्। यसै विषयलाई ध्यानमा राखेर नै गोर्खा जनमुक्ति मोर्चा दार्जीलिङ शाखा समिति अध्यक्ष अजय एड्वर्ड, बन्दना राई र प्रताप खातीले चियाश्रमिकहरूको हित र चियाकमान मालिकहरूविरुद्ध सर्वोच्च न्यायालयमा एक मुद्दा दर्ता गरेका छन्।‘’
एचपीडब्ल्यूयूका कार्यकारी अध्यक्षका अनुसार कतिपय चियाकमानले सरकारको आदेशलाई पालन गरिरहेको भए पनि अधिकांश चियाबगान मालिकहरूले सरकारको आदेशलाई ठाड़ै उल्लङ्घन गरिरहेका छन्।
यसैले गोरामुमो दार्जीलिङ शाखा अध्यक्ष अजय एड्वर्डले आफ्नो व्यक्तिगत क्षमतामा चियाकमानहरूमा जाँदै श्रमिकहरूलाई मास्क, ग्लब्स, सेनिटाइजर आदि प्रदान गरिरहेको उनले बताए।
‘’यस्तो स्थितिमा जीटीए चेयरम्यान फण्डमा सङ्ग्रह भएको राशिबाट चियाश्रमिकहरूलाई आर्थिक सहयोग प्रदान गरेको उचित हुनेछ। किनभने, अहिले चियाश्रमिकहरूको आर्थिक स्थिति डाँवाडोल भइरहेको छ’’, डीके गुरुङले थपे, ‘‘उनीहरूलाई आर्थिक सहयोगको खाँचो परेको छ। यी चियाश्रमिकहरूलाई जीटीए चेयरम्यान फण्डमा सङ्ग्रह भएको राशिबाट आर्थिक सहयोग गरिदिने अनुरोध गर्छु।‘’