कालेबुङ, 25 अप्रेलः तीनदिन अघि सिमलबारीस्थित रोहिणी गेटमा जड़ान गरेपछि जीटीएले आज कालेबुङको तीन माइलमा पनि उच्च प्रविधियुक्त थर्मल स्क्यानर जड़ान गरेको छ।
यसअवसरमा जीटीए बीओएका अध्यक्ष अनित थापा विशेष रूपले उपस्थित थिए। उनले यस हाई इन्फ्ररेड थर्मल स्क्यानरको सहायताले छिटो कार्य गर्नका साथै यात्रुहरूको शरीरको तापमान सही प्रकारले मापन गर्न सकिने बताएका छन्।
अर्कोतिर, कालेबुङको परिस्थितिको आवकलन गर्न आएको अन्तर्मन्त्रालय केन्द्रिय टोली (आईएमसीटी)-को रिपोर्टलाई आफूहरूले हेर्ने थापाले बताएका छन्।
यसका साथै थापाले जीटीए क्षेत्रमा जुनै पनि टिम आए तापनि त्यसलाई आफूले सकारात्मक रूपमा लिने र विवादमा पर्न नचाहने बताएका छन्।
‘‘म सबै कुरालाई सकारात्मक रूपमा लिन्छु। जहाँबाट पनि जीटीए क्षेत्रलाई लाभ पुगोस्। हामीलाई फाइदा होस्’’, जीटीए अध्यक्षले थपे, ‘‘जो पनि आएका छन्, हामीभन्दा जान्ने मानिसहरू आएका छन्। उनीहरू आएर कालेबुङलाई जाँच गरेर गएपछि कालेबुङमा हामीले के गर्नुपर्छ त्यसबारे फिडब्याक दिनेछन् होला। यसैले यस्तो कुरामा म विवादमा पर्न चाहन्नँ।’’