दार्जीलिङ, 25 अप्रेलः प्रत्येक जनताको घरलाई उज्यालो बनाउने विद्युत् विभागका कर्मचारीहरूले कोरोनाकालमा विकट परिस्थितिको सामना गर्न परिरहेका छन्।
कति ठाउँमा घरभित्र बिजुली बत्ती बनाउन जाँदा जुत्ता खोल्न लगाइँदैछ भने कति स्थानबाट खुकुरीले खेद्ने काम पनि गरिएको छ।
यसैले विद्युत् विभागमा बिजुलीको लाइन आदि बनाउने कर्मचारीहरूले दार्जीलिङका जनतालाई आफ्नो काममा सहयोग पुऱ्याइदिने अपील गरिरहेका छन्।
यस विषयबारे दार्जीलिङको विद्युत् विभागको मेन्टेनेन्स तथा कन्स्ट्रक्शन विभागमा अस्थायी कर्मचारीका रूपमा कार्यरत् कर्मचारी सचिन छेत्रीले भने, ‘‘हामी काम गर्न नजाँदा जनतालाई समस्या हुन्छ अनि काम गर्न जाँदा हामी आफैलाई समस्या हुँदैछ। यस्तो धर्मसङ्कटमा छौं हामी।‘’
उनले भने, ‘‘कसैले आफ्नो घरको बत्ती छैन भनेर उजुरी गरेको आधारमा हामी उक्त घरमा बत्ती बनाउन गएका थियौं, तर त्यस घरभित्र पस्नका लागि हामीलाई जुत्ता खोल्न लगाइएको थियो। तर हामी कुनै पनि स्थितिमा जुत्ता खोल्न सक्तैनौं, किनभने हामी बिजुलीको करेन्टसित खेल्नपर्छ अनि जुत्ता नलगाएको खण्डमा हामीलाई अर्थिङले भेटे हाम्रो ज्यानसम्म पनि जानसक्छ। तरै पनि हामीलाई जुत्ता खोल्न लगाएर समस्यामा पार्ने काम गरिएको थियो।‘’
यति मात्रै होइन, छेत्रीले एउटा स्थानमा बत्ती बनाउन जाँदा नै गाउँलेहरूले हातमा खुकुरी लिएर खेदेको पनि बताए।
उनले उक्त गाउँको नाम भन्न नचाहे पनि त्यस गाउँका मानिसहरूले आफूहरूमाथि अभद्र व्यवहार गरेको पनि बताए।
उनले भने, ‘‘हामी त्यस गाउँमा कुनै नराम्रो काम गर्न गएका थिएनौं, तर हामीमाथि अचाहिँदो व्यवहार गरियो। जसको कारण हामीले पनि आवेशमा आएर त्यस गाउँको बत्ती नै काटिदिएका थियौं। पछि त्यस गाउँका मानिसहरूले आफ्नो भूल स्वीकार गरेपछि पुनः त्यस गाउँको बत्ती जड़ान गर्ने काम गरेका थियौं।‘’
उल्लेखनीय छ, हाल कोरोना सङ्क्रमणको कारण दार्जीलिङ पहाड़का धेरैवटा गाउँले आफ्नो गाउँ पस्ने स्थानहरूलाई बन्द गरेर कुनै पनि नयाँ मानिसहरूलाई गाउँभित्र प्रवेश गर्न दिएका छैनन्। ताकि कुनै पनि नयाँ मानिसले आफ्नो गाउँमा कोरोना सङ्क्रमणलाई भित्राउन नसकोस् भन्ने प्राय्ः गाउँलेहरूको सोंच र योजना छ।
तर यसै सोच अनि योजनाको चपेटमा विद्युत् विभागका कर्मचारीहरू पनि परिरहेका छन्।
यसबारे एक प्रश्न गर्दा उनले भने, ‘‘हाल लकडाउन चलिरहेको भए पनि हामीलाई पुलिस प्रशासन तथा सम्बन्धित विभागहरूबाट सहयोग प्राप्त भइरहेको छ। तर कतिपय स्थानका आम जनताबाट नै हामीले समस्या भोग्न परिरहेको छ।‘’
छेत्रीले थपे, ‘‘यसैले जनतालाई विद्युत् विभागका कर्मचारीहरूलाई सहयोग प्रदान गर्न आवश्यक छ। किनभने, हामी जनताको समस्या समाधान गर्नको लागि नै कोरोना सङ्क्रमणको डरलाई पनि पर राखेर, आफ्नो परिवारको ज्यानलाई जोखिममा हालेर काम गर्न परिरहेको छ। यसैले प्रत्येक जनताले हामीलाई सहयोग गरिदिने नम्र निवेदन गर्दछौं।‘’