दार्जीलिङ, 26 अप्रेलः 70 वर्षे दमका (श्वास बढ्ने) रोगी गोपाल देवनाथलाई 13 सय रुपियाँको औषधि प्रदान गरी दार्जीलिङ हिल तृणमूल कङ्ग्रेसले कोभिड-19 हेल्प डेस्क शुरू गरेको छ।
दार्जीलिङ हिल तृणमूल कङ्ग्रेसका प्रवक्ता एवं मुख्य समन्वयक एनबी खवासको नेतृत्वमा आज शुरू गरिएको हेल्प डेस्कको मूल उद्देश्य जारी लकडाउनअवधि विभिन्न रोगले ग्रसित बिरामीहरूलाई सहयोग प्रदान गर्नु हो। जसको आज दार्जीलिङको रकवुड निवासी 70 वर्षे रोगी गोपाल देवनाथलाई निःशुल्क 13 सय रुपियाँ बराबरको औषधि प्रदान गरी थालनी गरेको छ।
“हाल कोरोना सङ्क्रमणको कारण देशमा मात्रै होइन, विश्वभरि नै कोरोना सङ्कटलाई लिएर मात्रै चर्चा भइरहेको छ। अनि कोरोना सङ्क्रमितहरूप्रित मात्रै सबैको ध्यान आकर्षित भइरहेको छ। जसको फलस्वरूप अन्य क्षेत्रसँगै दार्जीलिङ पहाड़मा पनि धेरै अन्य रोगबाट ग्रस्त मानिसहरू पीड़ित बन्न परिरहेका छन्’’, आज यसै हेल्प डेस्कको शुरूआत गर्दै खवासले भने, ‘‘यस्तै कारण भर्खरै दार्जीलिङको एउटा स्थानमा एकजना डायबिटिज रोगीको मृत्यु भएको छ। यसरी नै अन्य रोगले ग्रस्त मानिसहरू पनि आफ्नो औषधिका लागि पीड़ित बन्न परिरहेका छन्। यसै विषयलाई ध्यानमा राखेर दार्जीलिङ हिल तृणमूल कङ्ग्रेसले कोविड-19 हेल्प डेस्कको शुरूआत गरेको हो।‘’
यो हेल्थ डेस्कले बिरामीहरूलाई डाक्टरले दिएको पर्ची (प्रेस्क्रिप्शन)-को आधारमा मात्र आफ्नो क्षमताले भ्याएसम्म सहयोग प्रदान गर्ने योजना बनाएको उनले बताए।
‘‘दार्जीलिङका दुर्गम स्थानमा धेरै बिरामीले लकडाउनको कारण आवश्यक औषधिहरू पाउन सकिरहेका छैनन्। यसरी नै सरकारले जनतालाई चामल, आँटा, चिनी दिइरहेको छ, उनीहरूलाई नून, तेल, सब्जी तथा अन्य आवश्यक खाद्य सामग्रीहरू पनि चाहिन्छ’’, उनले थपे, ‘‘यसैले दार्जीलिङ हिल तृणमूल कङ्ग्रेसको कोभिड-19 हेल्प डेस्कले विपन्न परिवारका मानिसहरूलाई यस्ता आवश्यक खाद्यान्न पनि प्रदान गर्नेछ।‘’
कोरोना सङ्क्रमणलाई रोक्ने दिशामा सरकारपक्षबाट उठाइएको पदक्षेपलाई पनि पूर्णरूपले सहयोग प्रदान गर्ने बताउँदै खवासले थपे, ‘‘कोरोना सङ्क्रमणको कारण राज्य सरकारले जनताको हितमा धेरै परियोजना हातमा लिएको छ, जसबारे अधिकांश जनतालाई थाहै छैन। जनताले सरकारद्वारा निःशुल्करूपमा चामल र आँटा दिइरहेको योजनाको मात्रै जानकारी पाएका छन्। तर सरकारले विपन्न परिवार वा घरमा आमदानी गर्ने सदस्य नरहेका परिवारहरूलाई प्रचेष्टा योजनाद्वारा मासिक 1,000 रुपियाँ दिनेबारे एक अधिसूचना जारी गरिसकेको छ, जुन योजना शीघ्रै शुरू हुनेछ।‘’
यसरी नै दार्जीलिङ जिल्लामा हाल 4 वटा निजी तथा सरकारी अस्पतालहरूलाई कोभिड-19 अस्पतालको रूप प्रदान गरिएको बताउँदै ती अस्पतालहरूमा कोभिड-19 सङ्क्रमितहरूको हुने उपचारको सम्पूर्ण खर्च राज्य सरकारले नै बेहोर्ने भएको पनि खवासले जानकारी गराए।
यसबाहेक पनि राज्य सरकारले कोभिड-19 सङ्क्रमण कालमा जनताको हितलाई ध्यानमा राखेर धेरै योजना हातमा लिएको बताउँदै हेल्प डेस्कले यी सम्पूर्ण विषयबारे पनि जनतालाई जागरूक गराउने भएको बताए।
यति मात्रै होइन, उनले राज्य सरकारले राज्य बाहिर काम गर्न गएका युवक-युवतीहरूलाई पनि आवश्यक सहयोग गर्ने योजना बनाएको पनि जानकारी गराए।
यसैबीच, तृणमूल नेता एनबी खवासले भने, ‘‘हेल्प डेस्कले भोलि लेबोङ क्षेत्रका 19 वटा सङ्घ-संस्थाहरूसित मिलेर विपन्न 80 परिवार साथै तकभरका 40 परिवारलाई चामल र आँटाबाहेक अन्य खाद्य सामग्री प्रदान गर्ने तय गरेको छ।‘’