दार्जीलिङ, 27 अप्रेलः दार्जीलिङ पहाड़का विभिन्न स्थानमा चलिरहेका सार्वजनिक भान्साघर (कम्युनिटी किचन)-मा पीडीएसको चामल प्रयोग गरिरहेको दार्जीलिङका विधायक नीरज जिम्बाले लगाएको आरोपको जीटीए बीओएका अध्यक्ष अनित थापाले शिष्टचारपूर्ण जवाब दिएका छन्।
थापाले ‘कोरोना सङ्क्रमणकालमा कसैले पनि राजनीति नगरेको उचित हो’ भन्दै स्वयं विधायक जिम्बालाई पनि गरीब तथा कोरोनाको लड़ाइँमा अग्रपङ्क्तिमा बसेर कार्य गर्ने योद्धाहरूलाई सहयोग पुऱ्याउन अघि आउने अपील गरेका छन्।
‘‘प्रत्येक कुरामा राजनीति मिसाउनु हुँदैन। मिडियाले प्रत्येक दिन नै आएर कम्युनिटी किचनको फोटो तथा भिडियो खिचिरहेको छ’’, उनले थपे, ‘‘सार्वजनिक भान्साघरमा पाकिरहेको चामल पीडीएसको हो या बाहिरबाट ल्याइएको हो, त्यो मिडियालाई राम्ररी थाह छ। यदि पीडीएसको चामल चलाइरहेको छौं भने मिडियाले सोझै प्रसारण गर्नसक्छ।‘’
उल्लेखनीय छ, हाल दार्जीलिङमा दैनिक 600 जना, खरसाङमा 900, कालेबुङमा 1,200 जना र मिरिकमा करिब 500 जनालाई सार्वजनिक भान्साघरबाट दैनिक मध्याह्नको खाना खुवाउने कार्य भइरहेको छ।
यो खाना खानेहरूमा विशेष गरी पुलिसकर्मी, डाक्टर, नर्स, विद्युत् विभागका कर्मचारी, पीडीएसमा कार्यरत् श्रमिकवर्ग, डिजास्टर म्यानेजमेन्ट, नगरपालिकाका सफाइकर्मी, हाल विद्यार्थीहरूलाई अनलाइन शिक्षादान गर्ने शिक्षक-शिक्षिकाहरूका साथै स्वयंसेवीहरू सामेल छन्।
उनीहरूलाई जीटीएले सार्वजनिक भान्साघरको माध्यमद्वारा दैनिक मध्याह्नको भोजन प्रदान गरिरहेको छ।
तर, यी सार्वजनिक भान्साघरमा पीडीएसको चामल ल्याएर पकाएको विधायक जिम्बाले आरोप लगाएपछि जीटीए अध्यक्ष थापाले यसको जवाब दिँदै भने, ‘‘यो एउटा मानवतालाई बँचाउने मुद्दा हो। यो कोरोना सङ्क्रमणको मुद्दामा हामीले मिलेर काम गर्नुपर्छ। यसैले विधायक निरज जिम्बाले पनि हामीसित नै मिलेर कोरोना सङ्क्रमणको विरोधमा फ्रण्टलाइनमा बसेर काम गर्ने योद्धाहरूलाई दिनमा एक समयको खाना खुवाउनमा सहयोग गरेको उचित हुनेछ।‘’
यसबाहेक पीडीएस वितरण प्रणाली राम्रोसित नभएको विधायक निरज जिम्बाको आरोपमाथि पनि आफ्नो प्रतिक्रिया व्यक्त गर्दै थापाले भने, ‘‘यदि पीटीएस वितरण प्रणालीमा घोटाला हुँदैछ, यसमा अनियमितता भइरहेको छ भने जिम्बाले एक विधायक भएको नातामा सबै क्षेत्रको भ्रमण गरी जाँच गर्न सक्नेछन्।‘’
उनले थपे, ‘‘यदि राशिन वितरण भएको समय विधायक स्वयं पनि एमआर शपहरूमा घुमिदिए जनतालाई अझै फाइदा हुनेथियो। यसैले उनले पीडीएसको राशन वितरण हुने दोकानहरूको समय-समयमा भ्रमण गरिदिए हामीलाई पनि धेरै सजिलो हुनेथियो। किनभने, यो कोरोना सङ्क्रमण कालमा सबैले एउटै टिम भएर काम गर्नुपर्छ। किनभने, कोरोनाले कसैलाई छोड्दैन।‘’
थापाका अनुसार यो एउटा मानवीय मुद्दा हो। र, मानवीय मुद्दामा हामी एक भएर लड़नुपर्छ।
‘‘जनता बाँचे मात्रै नेताले राजनीति गर्न सक्छन्। यस बेला राजनीति होइन, सबैले मिलेर काम गर्नुपर्छ। हामी सबै मिलेर दार्जीलिङमा एउटा उदाहरण प्रस्तुत गर्नुपर्छ’’, उनले थपे, ‘‘जनतालाई पर्दा दार्जीलिङका नेताहरू एक हुनसक्छन् भन्ने उदाहरण पेश गर्नुपर्छ।‘’
यसरी नै जीटीए बीओएका अध्यक्ष थापाले विधायक जिम्बालाई जीटीएद्वारा सञ्चालित सार्वजनिक भान्साघरहरूको निरीक्षण गर्नसक्ने पनि बताएका छन्।
उनले भने, ‘‘काम गर्दा कतिपय भूलहरू हुनसक्छ, यसैले विधायक जिम्बाले सार्वजनिक भान्साघरमा के-कस्तो कमी-कमजोरीहरू छन्, कहाँ कस्तो सुधार ल्याउनुपर्ने हो, त्यसबारे सुझाउ दिए उचित हुनेछ।‘’