आईएमसीटीद्वारा दार्जीलिङको भ्रमण, रिलायन्स र बिग बजारमा राशन बिक्रीलाई लिएर उठायो प्रश्न

0
1128

दार्जीलिङ, 28 अप्रेलः अन्तर मन्त्रालय केन्द्रिय टोलीले विशेष दार्जीलिङका रिलायन्स र बिग बजारभित्र कसरी ग्रोसरी (राशन दोकान)-मा पाइने सामानहरू बिक्री भइरहेको छ? भन्ने प्रश्‍न उठाएको छ।

यद्यपि, यस टोलीले दार्जीलिङको सब्जी दोकानमा सब्जीहरू कसरी बिक्री गरिँदैछ भन्नेबारे आफ्नो सन्तुष्टि व्यक्त गरेको छ।

आज अपरान्ह 2 बजे दार्जीलिङ आइपुगेको अन्तर मन्त्रालय केन्द्रिय टोली शुरूमै काकझोड़ामा अवस्थित शपिङ मल रिलायन्समा पसेको थियो, जहाँ धेरैजना ग्राहक मलबाहिर बसेर सामान किन्ने पालो पर्खिएर बसिरहेका थिए।

यद्यपि, त्यहाँ ग्राहकहरूका लागि मूलद्वारमा सेनिटाइजरको व्यवस्था गरिएको थिये भने आफ्नो पालो पर्खिएर बस्ने ग्राहकहरूका लागि फरक-फरक स्थानमा चौकीहरू पनि राखिएका थिए।

सिलगढ़ीबाट आएको यो टोली दार्जीलिङ शहर पस्नअघि सोझै रिलायन्समा पस्यो। अनि, त्यहाँ तैनाथ कर्मचारीहरूलाई यो शपिङ मलभित्र कसरी राशनका सामानहरू बिक्री हुँदैछ भन्ने प्रश्‍न गऱ्यो।

यस विषयमा टोलीका प्रमुख विनीत जोशीले दार्जीलिङ जिल्ला प्रशासनको तर्फबाट यस टोलीलाई सहयोग प्रदान गर्न उपस्थित रहेकी डिजास्टर म्यानेजमेन्ट अधिकारीलाई पनि शपिङ मलमा कसरी राशनका सामानहरू बिक्री हुँदैछ भन्ने प्रश्‍न गरे।

यसपछि यो तीन सदस्यीय टोलीले दार्जीलिङको चोकबजारस्थित सब्जी बजारको परिभ्रमण गऱ्यो, जसमा टोलीले सब्जी बिक्रेताहरूलाई सब्जी बिक्री गर्दा कसरी सुरक्षाको व्यवस्था गरिन्छ, मास्क, सेनिटाइजरको प्रयोग गरिन्छ वा गरिँदैन भन्नेबारे पनि प्रश्‍न गऱ्यो।

करिब 5 जना सब्जी व्यापारीसित कुराकानी गर्दा प्रायः सबैले नै एकै प्रकारका जवाब दिएपछि अन्तर मन्त्रालय केन्द्रिय टोली सन्तुष्ट बनेको थियो।

यसबारे चोकबजारका सब्जी व्यापारी मोहन कुमारसित सोध्दा उनले आफूलाई यस केन्द्रिय टोलीले सब्जी बिक्री गर्दा सेनिटाइजरको प्रयोग गरिन्छ वा गरिँदैन भन्नेबारे प्रश्‍न गरिएको बताए।

जसमा उनले सब्जी बिक्री गर्दा आफूले ग्लब्स, मास्क अनि सेनिटाइजरको प्रयोग गर्नेगरेको साथै प्रत्येक ग्राहकहरूलाई पनि सब्जी छान्नअघि सेनिटाइजरले हात सफा गर्न लगाउने गरिएको बताए।

सब्जी व्यापारीहरूको यसप्रकारको उत्तर पाएपछि टोलीले सन्तोष व्यक्त गरेको छ। सब्जी बजारको भ्रमणपछि यो टोलीले दार्जीलिङ जिल्ला अस्पताल र बिग बजारको पनि भ्रमण गऱ्यो।

उल्लेखनीय छ, गत 20 अप्रेलको दिन केन्द्र सरकारले पश्‍चिम बङ्गाल राज्यका दार्जीलिङ, कालेबुङ, जलपाइगढ़ी जिल्लासँगै कुल सात स्थानमा कोरोना सङ्क्रमणको गम्भीर विषय रहेको बताएको थियो।

केन्द्रिय स्वास्थ्य मन्त्रालयले मध्य प्रदेशको इन्दौर, महाराष्ट्रको मुम्बई अनि पुणे, राजस्थानको जयपुर र पश्चिम बङ्गालका कोलकाता, हावड़ा, पूर्वी मेदिनीपुर, उत्तर 24 परगना, दार्जीलिङ, कालेबुङ साथै जलपाइगढ़ीको स्थिति विशेषरूपले गम्भीर रहेको बताएको थियो।

यसै विषयलाई केन्द्र गरी केन्द्र सरकारले 6 वटा छुट्टा-छुट्टै अन्तर-मन्त्रालय केन्द्रिय टोली (आईएमसीटी) पनि गठन गरेको छ।

जसमध्ये एउटा टोलीले आज दार्जीलिङको भ्रमण गऱ्यो। यस टोलीले कालेबुङ, सिलगढ़ी, जलपाइगढ़ीका विभिन्न स्थानको भ्रमण गरेपछि आज दार्जीलिङ आएको हो।

यस टोलीले आफ्नो रिपोर्ट केन्द्र सरकारलाई बुझाउने भएको छ।

विशेष गरी लकडाउनको उल्लङ्घन, सामाजिक दूरी आदि नियमहरूलाई पूर्णरूपले पालन नगरिएको कारण नै देशका कतिपय राज्यका शहरहरूमा कोरोना सङ्क्रमणको स्थिति गम्भीर बन्दै गइरहेको केन्द्रको मत छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here