गान्तोक, २८ अप्रेलः दिल्लीमा उपचाररत् सिक्किमकी ३७ वर्षीय महिला कोरोना सङ्क्रमित बनेको पुष्टि भएको छ।
कोरोना सङ्क्रमित बनेकी ती महिला पश्चिम सिक्किमको उत्तरेनिवासी हुन्।
जानकारीका अनुसार किड्नीसम्बन्धी रोगले ग्रसित उनी दिल्लीस्थित पुष्पवती सिङ्घानिया रिसर्च इन्स्टिट्युट हस्पिटलमा डाइलेसिस गर्दै आइरहेकी थिइन्।
प्राप्त जानकारीका अनुसार उनको पछिल्लो २५ अप्रेलका दिन कोरोना टेस्ट गरिएको थियो भने भोलिपल्ट अर्थात् २६ अप्रेलका दिन टेस्ट रिपोर्ट पोजिटिभ आएको हो।
जानकारीका अनुसार करिब एक वर्षअघिदेखि उनी दिल्लीमा उपचाररत् थिइन्।
अर्कोतिर मुख्यमन्त्री पीएस गोलेले पनि पश्चिम सिक्किमनिवासी यी महिलाको कोरोना टेस्ट पोजिटिभ आएको पुष्टि गरेका छन्। ती महिला बस्दै आएको दिल्लीस्थित डेञ्जोङ कुङ्गा खाङसाङ (डीकेके) भवनमा रहेका अन्यहरूलाई पनि तत्कालै क्वारेन्टिन गरिएको उनले बताएका छन्।