दिग्गज अभिनेता ऋषि कपुरको मृत्यु, दुई दिनभित्र बलिउडले गुमाए दुई अभिनेता

0
1944

नयाँ दिल्ली, ३० अप्रेलः बलिउडका दिग्गज अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा निधन भएको छ।

उनको आज बिहान ८.४५ बजे मुम्बईको एक अस्पतालमा निधन भएको बताइएको छ।

दाजु रणधीर कपुरका अनुसार बुधवार बिहान ऋषि कपुरलाई अस्पतालमा भर्ना गरिएको थियो। केही वर्षदेखि क्यान्सरजस्ता प्राणघातक रोगले ग्रसित ऋषि कपुरको केही दिनयता धेरै बिरामी थिए।

ऋषि कपुरको निधनसँगै बलिउडमा एक युगको अन्त्य भएको छ भने दुई दिनभित्र बलिउडले दुई स्टार गुमाएको छ।

हिजै मात्र बलिउड स्टार इरफान खानको मृत्यु भएको थियो। दुई दिनभित्र दुई स्टार गुमाएको बलिउड ठूलो शोकमा डुबेको छ।

यसैबीच ऋषि कपुरको मृत्युमा अभिताभ बच्चनसहित धेरै बलिउड सेलेब्सले ट्विट गरी शोक प्रकट गरेका छन्।

सेप्टेम्बर २०१८ मा ऋषि कपुरलाई क्यान्सर भएको पत्तो लागेको थियो। न्युयोर्कमा करिब एक वर्षसम्म उपचार गराएपछि सेप्टेम्बर २०१९ मा उनी भारत फर्केका थिए।

केही समयअघि ऋषि कपुरलदिल्लीमा ‘शर्माजी नमकीन’-को सुटिङको समय बिरामी भएका थिए। यसपछि तत्कालै उनलाई मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो। रिपोर्ट्सका अनुसार उनलाई क्यान्सर रिल्याप्स्ड (क्यान्सर पुनः बल्झिनु) भएको थियो।

अर्कोतिर सोशल मिडियामा सधैं एक्टिभ रहने ऋषि कपुर पछिल्लो २ अप्रेलदेखि ओझेलमा थिए। अर्थात् २ अप्रेलदेखि सोशल मिडियामा उनले कुनै अपडेट्स गरेका थिएनन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here