दार्जीलिङ, ३० अप्रेलः सांसद राजु बिष्ट भारतीय जनता पार्टीले राजनीति होइन, तर आम जनताको चौकीदारी गरिरहेको बताएका छन्।
बङ्गालका मुख्यमन्त्री एवं तृणमूल कङ्ग्रेस सुप्रिमो ममता ब्यानर्जीले भाजपाले राजनीति गरिरहेको आरोप लगाएको बताउँदै सांसद बिष्टले भाजपाले आम जनताको चौकीदारी गरिरहेको दाबी गरेका हुन्।
सोमबार एक भिडियो जारी गरी उनले भनेका छन्, ‘‘पश्चिम बङ्गालमा अहिलेघरी जुन प्रकारले आम जनतामाथि जुन अन्याय-अत्याचार भइरहेको छ, त्यसलाई उजागर गर्नु हाम्रो कर्तव्य हो। दायित्व हो। हामी यसैलाई पालन गरिरहेका छौं।’’
यति मात्र होइन पश्चिम बङ्गालमा अहिलेघरी लकडाउन र सामाजिक दूरीको उल्लङ्घन भइरहेको, राशन वितरणमा भेदभाव भइरहेको, राशन वितरणमा ठूल्ठूला घोटाला भइरहेको आरोप लगाएका छन्।
‘‘अहिले पश्चिम बङ्गाल सरकारले कोभिड-१९ को आँकड़ालाई लुकाउने प्रयास गरिरहेको छ, त्यसबाट सम्पूर्ण देश परिचित छ’’, विष्टले थप भनेका छन्, ‘‘भर्खरै ओड़िसाका मुख्यमन्त्रीले जुन बयान दिएका छन्, त्यसले यी कुराहरूलाई पुष्टि गर्दछ। यति हुँदा हुँदै पनि तृणमूल सरकारले तृणमूलका नेताले हामीमाथि आरोप लगाउँछन् भने हामीलाई आरोप स्वीकार छ।’’