हामीले सङ्कटपूर्ण बाटोलाई रोज्यौं, तर गोर्खाल्याण्डको मुद्दासँग सम्झौता गरेनौं : रोशन गिरी

0
1554
विमलपन्थी गोजमुमो महासचिव रोशन गिरी (फाइल फोटो)।

खरसाङ, 10 जनवरी : विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) –का महासचिव रोशन गिरीले बिहीवार एक प्रेस विज्ञप्ति जारी गरी आफूहरूले गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए)-को कुर्सी त्यागेर सङ्कटपूर्ण बाटोलाई रोजेको बताएका छन्।

विज्ञप्तिमा गिरीले भनेका छन्, “हाम्रो मूल मुद्दा गोर्खाल्याण्ड हो । यदि अध्यक्ष विमल गुरुङको नेतृत्वमा गोर्खा जनमुक्ति मोर्चाले यस मुद्दासँग सम्झौता गरेको भए आज पनि हामी जीटीएको कुर्सीमा नै बसिरहेको हुने थियौं होला । तर हामीले सङ्कटपूर्ण बाटोलाई रोज्यौं, गोर्खाल्याण्डको मुद्दासँग सम्झौता गरेनौं।’’

पछिल्लो गोर्खाल्याण्ड आन्दोलनदेखि भूमिगत अवस्थामा रहेका गिरीले विज्ञप्तिमा उल्लेख गरेअनुसार उनीहरू (विमलपन्थी गोजमुमो)-ले गोर्खा जातिका छुटेका 11 जातगोष्ठीलाई जनजाति प्रदान गर्नुपर्ने बील सदनमा ल्याउन जुन प्रयास गरिरहेका छन्, त्यो गोर्खा जातिको रैथाने हक र अधिकारका लागि हो।

“यो कुनै व्यवस्थासँग सम्झौता होइन। यसले हाम्रो गोर्खाल्याण्डको मूल मुद्दालाई बिथोल्दैन, बरु झनै शक्तिशाली बनाउँछ’’, उनले विज्ञप्तिमा थप लेखेका छन्, “भारतजस्तो बृहतम् देशमा हाम्रा मुद्दाहरू छिराउनु धेरै सङ्घर्ष गर्नुपर्छ। यो सजिलो काम होइन, तर नहुने काम पनि होइन। हाम्रो पार्टीले विभिन्न दैलो, विभिन्न व्यक्तिलाई भेटेर यसको औचित्य बुझाउने, दबाव दिने कामहरू गरेको छ। केन्द्रले पनि अहिले हाम्रो मुद्दालाई सुन्नु थालेको अवस्था छ। हामी दिने ठाउँमा छैनौं, मागेर लिने ठाउँमा छौं।’’

गिरीले यस्तो अवस्थामा जातिको हितमा आफ्नो दलगत, विचारगत सबै स्वार्थ भुलेर गोर्खाको छुटेका एघार जनजातिको बीललाई बाधा नपुऱ्याइदिने हामीलाई अपील गरेका छन्। साथै जातिको मुक्तिको यात्रालाई धेरै सजिलो बनाउने कुरामा गोर्खा जनमुक्ति मोर्चाले विश्वास राख्ने बताएका छन्।

यसका साथै उनले पश्चिम बङ्गाल सरकारले सिर्जना गरेको कृत्रिम कानुनी समस्याले उत्पन्न गरेको सङ्कटकालमा समेत आज आफूहरू आफ्नो माटोबाट टाढ़ा रहेर पनि जातीय उन्मुक्तिका लागि सङ्घर्ष गरिरहेको बताएका छन्। “मेरो यो विज्ञप्तिलाई लिएर राजनीति गर्ने, गाली गलौज गर्ने काम हुनसक्छ, तर हामी ती सबै पछि लाग्ने तत्त्वहरूबाट माथि उठेर जातीयहितका लागि काम गर्ने अठोट बोकेर काम गरिरहेका छौं’’, गिरीले विज्ञप्तिमा दाबी गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here