जय क्याक्टस
सन्दर्भमा सर्जक मोहन ठकुरी
थ्रीपिस सुट, टाई अनि हिमालजस्तै अग्लो नेपाली टोपी ओड़ेका एकजना भव्य व्यक्तित्त्वको छवि आँखामा झ्वाम्म आउँछ सर्जक मोहन ठकुरीको नामसितै।
पहिलो भेटमा बोल्नु पनि निक्कै गाह्रो लाग्ने उनको अन्तर्मुखी स्वभाव। तर, चिनिसकेपछि र हित्तचित्त मिलिसकेपछि खुल्ला किताबजस्तै उदाङ्गो र उन्मुक्त लाग्ने।
अग्रजहरूका काम र नामप्रति अघोरै श्रद्धा र समर्पण दर्शाउने तथा अनुजहरूलाई आफै भेटेर, फोन गरेर, केही लेखिदिएर सिर्जनामा लाग्न हौस्याउँदै अभिभावकै बनिदिन्छन्, उनी।
समकालीन बन्धुहरूसितको सम्बन्ध र साइनोबारे मैले धेरै के भन्नु? पाठकवर्गले कृति ‘सर्जक-सन्दर्भ’ पढ्दा बुझिहाल्नु हुन्छ। उनको मुक्त हाँसो र गहिरो मुस्कानसित मक्ख नपर्ने विरलै होलान्।
भारत स्वतन्त्र भएको एकवर्षपछि अर्थात् सन् १९४८-को २० अप्रेलका दिन मङ्पु, दार्जीलिङमा जन्मिएका हुन् मोहन ठकुरी।
माता धनमाया पाख्रीन अनि पिता रणबहादुर ठकुरीको कोखबाट जन्मिएका श्री ठकुरीको शिक्षा लाटपञ्चर प्राथमिक पाठशालाबाट सन् १९५७ -देखि शुरू भएको हो। तर वर्षदिनपछि नै उनलाई नजिकैको रेसेप प्राथमिक पाठशालामा भर्ना गरियो।
कक्षा तीनसम्म त्यहाँ शिक्षार्जन गरेपछि उनी डबल प्रोमोशनसहित सरस्वती जुनियर हाईस्कूलमा पाँचौं श्रेणीमा भर्ना भए।
कक्षा आठसम्म मात्र भएको तत्कालीन निम्न माध्यमिक पाठशाला सिद्ध्याएपछि उनी दार्जीलिङको चर्चित विद्यालय सेन्ट रोबर्ट्स हायर सेकेन्डेरी स्कूलमा भर्ना हुन आइपुगे।
त्यहाँबाट उनले सन् १९६७-मा उच्च माध्यमिक परीक्षा उत्तीर्ण गरे। त्यसै समय बुबा सिन्कोना बगानको मुन्सी पदबाट अवकाश ग्रहण गरेकाले घरमा नोकरी गर्ने कोही नहुँदा स्थानीय रेसेप प्राथमिक पाठशालामा नोभेम्बर १९६७-देखि शिक्षक नियुक्ति पाई नोकरी जीवनमा होम्मिए। तर, शिक्षानुरागी मन ढुक्कले बस्न मानेन।
स्वाध्ययन जारी राख्दै उत्तर बङ्गाल विश्वविद्यालयबाट नेपालीमा अनर्ससहित स्नातक उत्तीर्ण गरे सन् १९७२ मा अनि क्रमैले सन् १९७५ मा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर पनि उत्तीर्ण गरे।
दस वर्ष प्राथमिक पाठशालामा शिक्षादान गरेपछि सन् १९७७ मा स्थानीय सरस्वती उच्च विद्यालयमा नियुक्ति पाए। सन् २००९ मा लगभग ३२ वर्ष शिक्षणकार्य सम्पन्न गर्दै अवकाश ग्रहण गरेपछि हाल सालबारी सिलगढ़ीमा विविध साहित्यिक, सांस्कृतिक, धार्मिक कार्यहरूमा संलग्न बनी जीवनलाई अझ ऊर्जामय र सार्थक ढङ्गमा व्यतित गरिरहेका छन्।
सजर्क मोहन ठकुरी एकजना कुशल कथाकार हुन्। साहित्यमा कृतिगत प्रविष्टि उनको कथालेखनबाटै आरम्भ भएको हो।
सन् १९७१ मा ‘मेरो अँगालोको रात’ अनि सन् १९८३ मा ‘हेंगओभर’ कथाकृति प्रकाशनमा ल्याइसकेका छन्। मैले पनि पढ्न भ्याएको ‘हेंगओभर’-का कथाहरूका शिल्प, विषय र चिन्तनले सबैलाई आकर्षित गरेकै हो।
कथाको हेंगओभरले धेरैलाई रन्थनाएकै हो। त्यसपछि उनले कथा लेखेनन् कि लाग्छ। लेखे पनि डायरीतिरै छन् कि? छरिएर कतै पत्र-पत्रिकामा छन् भने त्यो अनुसन्धानको विषय छ मेरा लागि।
उनको दह्रिलो उपस्थिति भनेकै कविता लेखनमा हो। ७० को दशकमा भारतीय नेपाली साहित्यमा आएको आयामिक आन्दोलनको हुन्डरीबाट कवितालाई उकास्दै काव्यिक बौद्धिक उच्चताबाट जनमानसको स्तरमा कविता फर्काइल्याउने शीर्ष कविहरूमध्ये कवि मोहन ठकुरी पनि एक हुन्।
सरल तर गहन वैचारिकतासित कवितालाई शिष्ट र संवेगीय बनाई पाठकको मन र मस्तिष्क हल्लाउने कविता सिर्जन गर्ने कविवर्गमा पर्छन् उनी। कवितामा शाब्दिक मितव्ययिता उनको पहिलो शक्ति हो। अर्थात् थोरैमा धेरै भन्ने अभिव्यक्ति कौशलको अनुपम सौन्दर्य। रोमान्टिक यथार्थ उनको काव्यिक धरातल।
सन् १९९१ मा पहिलो कविता सङ्कलन प्रकाशनमा आयो ‘नि:शब्द’। यसले उनलाई भारतीय नेपाली साहित्यमा अर्कै उच्चतामा पुऱ्यायो। किनकि यसै कृतिले सन् १९९६ को गरिमामय साहित्य अकादमी पुरस्कार प्राप्त गर्न सफल बन्यो।
उसो त कविवर मोहन ठकुरीले सन् १९९० मै ‘निर्माण’ कविताको निम्ति ‘स्रष्टा पुरस्कार’ र चर्चित कविता ‘नि:शब्द’ कविताले महत्त्वपूर्ण ‘दियालो पुरस्कार’-ले प्राप्त गरिसकेका थिए।
यसैबाट प्रष्ट हुन्छ कवि ठकुरीको कविता कति लोकप्रिय र चर्चित बनिसकेका थिए। सन् २००६ मा अर्को कविता सङ्ग्रह ‘अभिन्न अक्षर’ प्रकाशित छ, जसमाथि मेरो समीक्षात्मक लेख अगावै प्रकाशित भइसकेको छ।
आज पनि कविवर ठकुरीको फुटकर कविता लेखन निरन्तर नै देखिन्छ। धेरैभन्दा धेरै साहित्यिक कार्यक्रममा उपस्थिति दिएर रचना वाचन गर्ने, अनुजहरूलाई अभिप्रेरित गर्ने र आशीर्वाद प्रदान गर्ने उनको हार्दिकताले ठूलो प्रभाव छोड़ेको छ।
सर्जक मोहन ठकुरीले आफ्नो महत्त्वपूर्ण समय र श्रम सम्पादन कार्यलाई दिएका छन्। साहित्य अकादमीको अनुबन्धमा सन् १९९० मा ‘नेपाली कविता यात्रा’ अनि सन् १९९२ मा ‘अगमसिंह गिरी रचना संचयन’ जस्ता सङ्ग्रहनीय कृति सम्पादन गरेका छन्।
आफ्नै श्रीमतीका कथा सङ्ग्रह ‘जलनका कथाहरू’ (२००४), नेशनल बुक ट्रस्ट इन्डियाको अनुबन्धमा ‘स्वतन्त्रतोत्तर नेपाली कविता’ (२००८) लगायत ‘अनुपम’ डाइजेस्ट-१९८५, ‘चेतना’’ गोजिका- १९७३, ‘आरोहण’ साहित्यिक पत्रिका-(२००० देखि ४ अङ्कसम्म), ‘कुलैनबारी-स्रष्टा र सिर्जना’ (२०१४) जस्तो गतिलो ग्रन्थको सम्पादन गरिसकेका छन्।
उसै गरी अनुवाद कार्यमा पनि सर्जक मोहन ठकुरीको दक्षता देख्न पाइन्छ। साहित्य अकादमीको अनुबन्धमा काजी नजरूल इस्लाम (जीवनी-सन् १९८८) अनि नेशनल बुक ट्रस्टको अनुबन्धमा ‘मिता अनि उसको जादुको जुत्ता’ (किशोर रचना-१९९५) अनुदित कृति प्रकाशित छन्।
सर्जक मोहन ठकुरीका आख्यानेत्तर ‘अविस्मृत क्षणहरू’ (संस्मरण-२००६), ‘साई सान्निध्य’ (साक्षात्कार- २००१४), ‘सर्जक सन्दर्भ’ (परिचायङ्कन-२०१७)-लगायत साहित्य अकादमीको भारतीय साहित्यका निर्माता शृङ्खला अन्तर्गत ‘डा. कुमार प्रधान’ (मोनोग्राफ- २०१८) प्रकाशित छन्।
गद्यलेखनमा सर्जक ठकुरीको फरक शैली र भाषिक संरचना पाइन्छ। उनको गद्य लेखनमा विषयको गहनता र सुक्ष्मावलोकनको परिपाटीमा डा. कुमार प्रधान परिलक्षित हुन्छन् भने भाषिक सौन्दर्यमा राजनारायण प्रधानको चिटिक्कपना भेटिन्छ। चाहे संस्मरण होस् या कुनै कृतिको भूमिका वा कुनै सर्जकको परिचयाङ्कन होस् या कृतिगत निरूपण नै, त्यहाँ मोहन ठकुरीय सुगन्ध र मिठास अलग्गै बोध गर्नसकिन्छ।
उनको गद्यलेखनमा भिन्नै प्रकारको विशेष मनमोहकता बोध गर्न सकिन्छ। किनकि ती सिर्जनामा सचेतन केही फरक शिल्पको प्रयोग गरिएको पाइन्छ। कसरी? त्यही कुरो खोज्ने उपक्रमसहित आज म प्रिय पाठकहरू समक्ष छु- सन्दर्भमा ‘सर्जक सन्दर्भ’ लिएर।
‘सन्दर्भ’-को सन्दर्भ
बृहत् शब्दकोश अनुसार ‘सन्दर्भ’-का ७ वटा अर्थहरू पाउन सक्छौं। १. कुनै लेख, रचना, पुस्तक आदिको विषय-प्रसङ्ग, २. लेख, कुरो, वर्णन आदिको क्रम वा सिलसिला, ३. मिलाएर गाँस्ने वा टाँस्ने काम, ४. साहित्यिक कृति वा रचना, लेख निबन्ध आदि, ५. कुनै गूढ़ कुरा प्रस्ट पार्ने ग्रन्थ, ६. फैलाउने काम : विस्तार, ७. सम्मिश्रण : सङ्ग्रह।
कृति नाम ‘सर्जक सन्दर्भ’-ले बुझाउँछ- सर्जकमाथिको लेख वा प्रसङ्ग, सर्जकको कुरो, सर्जकका कृति र कीर्तिको वर्णन क्रमलाई मिलाएर गाँस्ने काम, सर्जककाबारे गूढ़ कुरा प्रष्ट पार्ने ग्रन्थ निर्माण, सर्जकका कृति र कीर्ति फैलाउने कार्य अनि सर्जकका सिर्जना, जीवन-दर्शन, अनुभव-अनुभूति आदिका सम्मिश्रण वा सङ्ग्रह गर्ने काम। कृतिकार्य सुहाउँदो छ यो कृतिनाम।
चयनित सर्जकहरू छन् क्रमैले साहित्यशिखर डा. इन्द्रबहादुर राई, विद्वान डा. कुमार प्रधान, लोक साहित्यकार एम.एम. गुरुङ, आध्यात्मिक गुरु कृष्णसिंह मोक्तान, भाषाका जादुगर राजनारायण प्रधान, कथाकार सानु लामा, कवि शरद छेत्री, कवि मनप्रसाद सुब्बा, आख्यानकार विन्द्या सुब्बा, कवि नोर्जाङ स्याङ्देन, कवि अविनाश श्रेष्ठ, कथाकार सम्पूर्णा राईलगायत आनन्द कार्थक अनि शिव खालिङ (साझाका कान्छा दाजु)।
यी सर्जकहरूबारे लेखिएका वा परिचय अङ्कन गरिएको ‘परिचयाङ्कन’ कृति हो यो ‘सर्जक सन्दर्भ’।
सामान्यत: साहित्यका विद्यार्थीहरू परीक्षा उत्तीर्ण गर्नु ‘साहित्यिक परिचय’ खोजीखोजी पढ्छन्। साहित्यसुधी पाठकहरू साहित्यकारका दिनचर्या, विचार-दर्शन, सिर्जनकर्म तथा लोकव्यवहारमाथि चासो राख्दै अन्तरङ कुराहरू खोतल्न मन पराउँछन्। अर्थात् कुनै पनि साहित्यकारको परिचयाङ्कन असान्दर्भिक र अनावश्यक हुँदैन भन्ने तथ्य त स्पष्टै छ।
यसैले यो कृति ‘सर्जक सन्दर्भ’-को पनि साहित्यिक अनि सामाजिक उपादेयतामाथि प्रश्न उठाउने कुनै सम्भावना नरहला भन्ने विश्वास छ। किनभने यो कृतिले साहित्यका सबैखाले पाठकको अपेक्षालाई परिपूर्ति गरेको छ। सन्दर्भ ग्रन्थकै गहक बोकेको छ।
उत्तरआधुनिकता र सर्जक सन्दर्भ
सहमति र असहमति, समर्थन र विरोध, विमर्श र प्रश्नको घेरामा घेरिएर हुर्केको उत्तरआधुनिक चिन्तनले कला-साहित्यमा धेरै नयाँ थोक प्रदान गरेको छ। उत्तरआधुनिकता भनेको विध्वंश, विकृति, विखण्डन, विचलन, विच्युति, विसङ्गति, विशृङ्खलता, शून्यताजस्ता तमाम नकारात्मक र अभिधात्मक अर्थ मात्र परिभाषित गर्ने र बुझ्नेहरूले यसबारे जतिनै वकालत गरे पनि यसका सकारात्मकता देख्दैनन् वा बुझेर पनि आत्मसात गर्नसक्दैनन्। तर हामी ज्ञात-अज्ञात यो उत्तरआधुनिक चिन्तन र व्यवहारसित आत्मसात भइसकेका छौँ।
अहिलेको समयमा यो आफैमा एक बृहत् ज्ञानानुशासन बनिसकेको छ। आफैले खण्डन गरेको वा नकारेको ‘महाख्यान’-मा रुपायित बनिसकेको छ।
यसैले उत्तरआधुनिकतादेखि अब कोही बाहिर छैनन्। कतिले यो बोध गर्छन् कतिले बोध गर्नसक्दैनन्। जसरी हामी पृथ्वीमा बसी पृथ्वीसितै हजारौं कि.मि. प्रतिघण्टाको गतिमा सूर्य वरिपरि घुमिरहेका छौं। तर सबैलाई यो गतिको बोध छैन। किनकि उसलाई यसबारेको ज्ञान छैन।
उसरी नै ज्ञानसित जोड़िएर आउँछन् भाषा, कला, साहित्य, संस्कृति, राजनीति, अर्थनीति, विज्ञान, गणित, भूगोल आदि-इत्यादि पनि।
यसका समकालीन अवस्थान भनेको उत्तरआधुनिक संचेतन हो। उत्तरआधुनिक चिन्तन र अवधारणा हो।
साहित्यमा देखिइरहेका परिवर्तनका झुल्काहरू, नयाँ-नयाँ वैचारिकताका थुम्काहरू, प्रयोग-प्रक्षेपणका औजारहरू अब पारम्परिकतादेखि निकै टाढ़ा छन्। यी कुराहरू बोध गर्न यी बारे ज्ञान हुनु अनिवार्य छ।
ज्ञानार्जनका निम्ति अध्ययन र अनुशीलन नै अन्तिम विकल्प छ।
कृति ‘सर्जक सन्दर्भ’-को उत्तरआधुनिक पठन वा विपठनले यसको गरिमा र सार्थकता अझ प्रकाशमान होला भनी पाठकवर्गलाई यता तानेर ल्याएको छु।
महान चिन्तक फ्रेडरिक नित्सेद्वारा ‘दि गे साइन्स’ (१८८२) मा उल्लेखित ‘ईश्वरको मृत्यु’ प्रकरणको नवीन व्याख्या र विश्लेषणसित हुर्केको उत्तरआधुनिक चिन्तन भाषा विज्ञानको नयाँ ज्ञानानुशासनमा रोलाँ बार्थले उत्तरसंरचनावाद लिएर ‘लेखकको मृत्यु’ र पाठकको अभ्युदयसित जोड़े।
ज्याक डेरिडाले सीमाभञ्जन र विनिर्माणको अवधारणा विकास गरे, ज्याँ बड्रिलर्डले वस्तुगत उपस्थितिको अन्त्य र प्रतिकृति वा सिमुलेशनको प्रतिस्थापनसित छविभञ्जनको अवकाशको सिर्जना गरे।
इतिहासको पुनर्लेखन् गर्दै फुकोयामाले ‘इतिहासको अन्त्य’-को नयाँ चेतना प्रतिपादन गरे। होमी के. भाभा, एडवर्ड सइद र गायत्री चक्रवती स्पिभाकले स्थापित पश्चिमेली मान्यताको घड़ेरी भत्काउँदै प्राच्यवादको जग खने र उत्तरऔपनिवेशवादको ठूलो छहारी निर्माण गरे।
नारीवाद, सवाल्टर्न, कुइयर सिद्धान्तजस्ता सुक्ष्माख्यानहरूको प्रादुर्भाव मार्क्सवाद, फ्रायडवाद, मानवविज्ञानजस्ता महाख्यानहरूको अन्त्यबाट भएको हो भन्ने जाँ फ्र्याङ्कोइस ल्योटार्डलाई घोत्लनेहरू बुझ्छन् हाम्रा नयाँ साहित्य धारहरू लीलालेखन, सिर्जनशील अराजक, रङ्गवाद, सङ्क्रमण, विचलन, किनारीकरण, हस्तक्षेप, समावेशी आदि पनि त्यसै तरङ्गका लहरहरू हुन्।
कृति ‘सर्जक सन्दर्भ’ यसको संरचनाले, शिल्पले र चिन्तनाले यसै परिधिभित्र छ भन्न निम्न सङ्कथनांश पस्केको छु।
मृत्यु/अन्त्य/शून्यको धारणा र कृति ‘सर्जक सन्दर्भ’
शून्य कहिल्यै स्थिर हुँदैन। यो क्षणिक वा मोमेन्टरी हुन्छ। मृत्यु-अन्त्य भनेको शून्य, क्षय, विनाशको चिरस्थायी अवस्थान होइन। यसको उपस्थितिले अर्को ‘केही’ नयाँ जन्माउने अवकाश दिन्छ।
डा. इन्द्रबहादुर राईले लीलालेखनको सूत्र नै दिएका छन् ‘अवतार साहित्य समेतको हुन्छ’ अर्थात् पुनर्जन्म, पुनर्लेखन, पुनर्पठन वा विनिर्माण साहित्यको शात्विक चरित्र र प्रवृत्ति हो।
नित्सेले घोषणा गरेको ‘ईश्वर’ स्थापित मान्यता वा विश्वास हो। स्थापित मूल्यको मिथक हो। स्थापित यस्ता मान्यता, ईश्वर वा विश्वासको मृत्यु भइरहन्छ। यस्ता मृत्युसितै अर्को नयाँ आस्था र विश्वासले नयाँ मिथकीय स्वरूपमा अवतार लिन्छ। जसरी लेखकको मृत्युसित पाठकको अभ्योदयको अवसर जन्मिसकेको हुन्छ। महाख्यानको अन्त्यसितै सूक्ष्माख्यानहरूको जन्मिने प्रक्रिया आरम्भ भइहाल्छ।
मार्क्सवाद, फ्रायडवाद, यथार्थवाद आदि सकिएको होइन नयाँ स्वरूपमा, नयाँ सङ्कथनमा वा नयाँ अवधारणामा रूपान्तरित भएका हुन्। भत्किने र नयाँ निर्माण हुने प्रक्रियाको बीचमा जुन सङ्क्रमणकालीन ग्याप छ त्यो मात्र शून्य हो। त्यो क्षणिक शून्यले नै नवनिर्माणको अवकाश दिने काम गर्छ।
साहित्य सिर्जनको त्यही सङ्क्रमण कालीन शून्यताबाट सिर्जना भएको हो कृति ‘सर्जक सन्दर्भ’।
हेर्दा सामान्य लेखनले संरचित लाग्ने यो परिचयाङ्कनमा कृतिगत विधाहरू भञ्जन भएको वा साहित्यिक विधाको स्थापित अवाधारणालाई मृत घोषणा गरी नयाँ मिश्रित विधा वा विधा-मिश्रणको अवतार लिएको कृतिरूप पाउँछौं। किनकि यहाँ साहित्यकारको परिचय लेख्ने स्थापित प्रबन्धीय विधाको भञ्जन छ।
स्थापित विधाको अन्त्य छ तर लगत्तै त्यहींबाट एउटा मिश्रणको शैलीगत प्रयोगको प्रक्षेपण आरम्भ भएको छ।
हामी ‘सर्जक सन्दर्भ’-को भाषिक स्तरमा पुग्दा त्यहाँ आख्यानात्मक, संस्मरणात्मक, समालोचनात्मक, काव्यात्मक, नाटकीय, निबन्धात्मक, अन्तर्वार्तात्मक जस्ता बहुविधागत सम्मिश्रणको नयाँ संरचनागत लेखनसित साक्षात्कार हुनपुग्छौं।
उत्तरआधुनिक संस्कृतिको बहुलवादी धारणासित खाप खाने यो लेखकीय संचेतना वर्णसङ्कर अर्थात् हाइब्रिड प्रकृतिले अरू थुप्रै कुरोको पनि सङ्केत गर्छ जस्तो कि स्थापित विधामाथि अविश्वास र प्रश्न, फ्रेमको अवधारणाको विघटन, सूक्ष्माख्यानहरूको प्रतिस्थापन र सबैभन्दा मुख्य कुरो सम्पूर्णताको विभाजन। उदाहरण टिप्छु केही-
निबन्धात्मक:
“डा. राईको सिङ्गो जीवन साहित्य साधनामा समर्पित छ। साहित्यबाहेक उहाँले तर अन्य सराहनीय कामहरू पनि गर्नुभएको छ: भाषा आन्दोलनका उहाँ अग्रणी – भाषाको सरकारी मान्यतामा पनि, संवैधानिक मान्यतामा पनि। प्रसिद्धिको शिखरमा पुगेर पनि समाजदेखि अलग्गिएर बस्नुभएको छैन। सहज सामाजिक सहभागिता छ उहाँको। जीवनलाई जत्तिकै गहिरिएर जातिलाई बुझ्नुभएको छ।” (पृ. १९)
कृतिको संरचनामा यो शिल्प नै सबै पाठको घड़ेरी हो।
आख्यानात्मक:
“सायद हामी चौरस्ताबाट फर्किँदै थियौँ-मेरा अभिन्न मित्रवर दाजु डोनाल्ड सादा र म। थियटर रोडको दिलखुसा रेस्टुराँछेउ पुग्दा दाजुले मलाई बिस्तारै कानमा भन्नुभयो:
“इन्द्रबहादुर राई सर आउनुहुँदैछ।”
उता हरिपठाएँ मैले –टर्नबुल स्कूलबाट यता आउने तेर्सोमा। एक भद्र पुरुष, सुट लाउनुभएको स्मार्ट।
हामी छेउ आइपुग्नु हुँदा डोनाल्ड दाजुले ‘नमस्कार’ गर्नुभयो उहाँलाई, मैले पनि हतार हतार अभिवादनमा हात जोडिदिएँ, उहाँले हाँस्दै हात उठाउनुभयो, अलिकति टाउको पनि हल्लाउनुभयो।” (पृ. १३)
कृतिमा यसखाले सूक्ष्म आख्यानात्मक संरचना हरेक पाठको पार्श्वमा भेटिन्छन्। वास्तवमा कृति ‘सर्जक सन्दर्भ’को सौन्दर्य र रोचकता यसैले जीवन्त पारेको छ।
संस्मरणात्मक:
“एक दिन।
साहित्यकार इन्द्रबहादुरको लोचनगर निवास।
पुगेको छु- उहाँका मीठा, रसिला कुराहरू सुन्नलाई। उहाँसित बसेपछि उठ्नु मन लाग्दैन। ‘सुनिरहूँ’ लागिरहन्छ। मलाई मात्र होइन, त्यहाँ पुग्ने सबैलाई त्यस्तै हुन्छ। अप्ठ्यारा, गाह्रा कुराहरू समेतलाई सजिलो पारेर छर्लङ्ग पार्नुहुन्छ, उहाँले। सल्लाहहरू समेतलाई सरलतासित सार्नुहुन्छ हाम्रो अगिल्तिर: सविनय। यही नै हो उहाँको खुबी र महानता।
धेरै सुन्छु उहाँलाई। हर्षबोध छ मनमा। थाहा गर्छु आफै- चल्मलाइरहेछ भित्र कता- एक प्रकारको सन्तुष्टि र ऊर्जा।
बिदा माग्छु र उठ्छु।” (पृ. १७)
यसखाले मीठो अनि सिङ्गो लेख नै छ ‘स्कुल र सम्झना’ अनि ‘सम्झनामा स्कुल’ पनि।
समालोचकीय:
“अज्ञात वीर’ कृष्णसिंह मोक्तानको उत्कृष्ट कथा हो। यस कथामा कथाकारले अरूको दृष्टि नपरेको बिल्कुलै नौलो विषयवस्तुलाई न्यायसङ्गत ढङ्गबाट प्रस्तुत गरेका छन्। भारतका विभिन्न अञ्चल विशेषमा नेपालीहरू कसरी जीवन धानिरहेछन् भन्ने यथार्थ यस कथाले छर्लङ्ग्याएको छ।” (पृ. ४०)
कृतिमा सर्जकका कृतिहरूमाथि आफ्नोभन्दा धेर अरू विद्वत् समालोचकहरूका उद्धृतांशले समालोचकीय धर्म निर्वाह गराइएको उत्तरआधुनिक पेस्टिश्च पद्धत्ति उल्लेखनीय र आकर्षणीय छ।
नाटकीय:
कविवर मनप्रसाद सुब्बालाई लेख्न दृश्यहरूमा ‘मन’, शिव खालिङलाई लेख्न ‘साझाको कान्छा लगायत डा. कुमार प्रधानलाई लेख्न ‘कण कण यादहरूमा कुमार सर’ यो नाटकीय पद्धत्ति अप्नाइएको छ। दृश्य-दृश्यमा विभाजित अंशहरू कुनै नाटक वा चलचित्रको स्क्रिप्टको आभास दिन्छ।
“दृश्य ५
चोकबजारको एउटा चेपमा सरेको छ कान्छाको किताप दोकान।
ग्राहक छैन, बिक्री छैन, कान्छाको अनुहारमा रौनक घटेको छ।
जिस्काउँछु म उनलाई: “अब केही दिन प्रतीक्षा गर्नुहोस्। मोटरस्ट्यान्डको नयाँ पसल पुगेपछि अनुहारको रौनक त्यसै फर्कन्छ। तरुणीहरूको मुस्कानले नै फर्काउँछ यो हराएको रौनक।
उनी हाँस्छन्। मन खोलेर हाँस्छन्। यसै पेवा-सम्पत्ति उनीसित छ।” (पृ.२१६)
काव्यात्मकता:
“आइपुगेका छौँ-
बुढ़ा सुब्बा मन्दिर।
मनप्रसाद सुब्बा र कुमार इस्बो गफमा झुलेका छन्।
कवि किराँत मलाई बताउँछन्:
-‘भोगको कुखुराको कलेजो फोरेर हेर्छ यहाँ जोखना- किराँती पण्डितले।’
छक्क पर्छु- यस्तो कहिल्यै नसुनेको। उनले त्यहाँका तीन विशेषता बताउँछन् मलाई:
-यहाँ कहिल्यै शीत पर्दैन।
-यहाँ कहिल्यै काग आउँदैन।
-यहाँ बाँसको टुप्पो हुँदैन।
म उकालो फर्केर बाँसतिर हेर्दै गर्दा उनी अझै थप्छन्:
‘……..अनि बाँसको पाखुरामा आफ्नो नाम लेख्ने जोड़ी जीवनमा नछुट्टिने विश्वास पनि राख्छन्।’
-हो र?
आश्चर्य प्रकट पनि छ मेरो, प्रश्न पनि। अनायसै, आफै सम्झिपठाउँछु म: मेरो ‘एकान्तको एकदिन’।
लेखेको छु:
-तिम्रो दुखेको मनलाई
देखाउनु छ मायाले एक दिन
बाँसको हरियो पाखुरामा तिम्रो नाम खोपेको छु मैले
मेरो नामसितै। (नि:शब्द/पृ. ६२)
उड़ेर जान पाए पनि हुने सिक्किमको सरमसा गार्डेनमा एकhल्ट-
बाँसको पाखुरा हेर्नलाई।” (पृ.१९९)
यसरी समग्र कृतिको भाषाको अन्तर तहमा कविताको प्रवाह छ। कवि ठकुरी जो जण्डा कवि न हुन्।
अन्तर्वार्ता:
उहाँलाई (सानदार सानु लामा) सोधेको छु एउटा प्रश्न:
“तपाईं एक प्रसिद्ध साहित्यकार हुनुहुन्छ र एक साहित्यकारको दृष्टिमा साहित्यलाई कसरी परिभाषित गर्नुहुन्छ?
उहाँको उत्तर छ:
“म एक साधारण साहित्यकर्मी हुँ, प्रसिद्ध होइन। साहित्य हाम्रो अनि समाजको अगुवा हो, पथप्रदर्शक र हामीलाई तौलने र चिनाउने माध्यम। साहित्य हाम्रो बोलाउने नाम-प्यारो, सजिलो र सुन्दर। भक्तिभावसित डाकिने नाम।”
अर्को प्रश्न पनि छ उहाँलाई”
————————————–(पृ ५६)
अन्तरपाठात्मक, अन्तरज्ञानानुशासनात्मक, पराख्यानात्मक समेतको उपस्थिति समाउनसकिने यस कृति ‘सर्जक सन्दर्भ’-ले भारतीय नेपाली साहित्यमा अलग्गै महत्व राख्छ।
समग्रताको विभाजन र ‘सर्जक सन्दर्भ’
ईहाब हसनले (The postmodern turn: Essays in Postmodern theory and culture) मा आधुनिकतावादबाट उत्तरआधुनिकतावादलाई पृथक दर्शाउने तेत्तीसवटा बुँदा दिएका छन्। यसमध्ये एउटा आधुनिकतावादमा ‘समग्रता’ (Totalization) अनि उत्तरआधुनिकतामा विनिर्माण (Decunstructio) हुने बताएका छन्।
यता हाम्रो नेपाली साहित्यमा आयामेलीहरूसम्म यसै समग्रता अनि सम्पूर्णताको खोजीमा थिए। क्वान्टम फिजिक्सबाट पदार्थको परमाणविक अवस्थानको अस्थिरतालाई दर्शनमा अनि फेरि कला-साहित्यमा अनिश्चितताको, अनिर्धार्यको, अस्थिरताको सन्देहको सिद्धान्तमा ढालेपछि यसले वस्तुतागत विनिर्मिति केलाउन थाल्यो।
जीवनलाई समेत टुक्रामा, अंशमा, खण्डमा बुझेर हेर्ने नयाँ पद्धत्तिको विकाश भयो। सम्पूर्णता भत्केर विनिर्मित अस्तित्वमा त्यो विभाजित भयो।
जस्तै मोहन ठकुरीलाई चिन्न उनको आख्यानकार, कवि, नाटककार, निबन्धकार, समीक्षक, वक्ताजस्ता छवि मात्र चिनेर हुँदैन।
सबै पाठ सुनाएर पनि कुटाइ खाने सानो विद्यार्थी, नेवारनी केटीसित लट्टु हुने अल्लारे केटो, सिक्किमको सरमसा गार्डेनमा बाँसको पाखुरीमा नाम खोप्ने दिवाना प्रेमी, आफ्ना श्रीमती रत्न ठकुरीसित जीवनको अहम् हिस्सा समर्पण गर्ने पति, साई अवतार र साहित्यका अध्यात्मिक भक्त, साझाको कान्छासित उभिएरै तरुणीहरूका मुस्कान र शारीरिक लचकमा मक्ख पर्ने आम पुरुष, छोरो सागर ठकुरी र बुहारी प्रियङ्का घिसिङका आदर्श अभिभावक, नाति प्रियंवदका ज्यान् हजुरबुबालाई पनि चिन्नुपर्ने हुन्छ।
एउटा सत्त्व केन्द्रमा हुँदा अर्को किनारमा पुगिसक्छ र व्यक्तिको खण्डित र विभाजित स्वरूप अलग अलग परिलक्षित हुन्छ र त्यसरी नै हेर्नुपर्ने हुन्छ।
यसरी केन्द्रभञ्जनले व्यक्तित्त्वदेखि वैचारिकतातिर पाइला सार्यो। निर्धारणको, ठोकुवाको अर्थात समग्र सत्यको क्षय र विभाजन टुक्रा सत्यमा रूपान्तरित भयो।
कृति ‘सर्जक सन्दर्भ’-ले उल्लेखित सर्जकहरूका जीवनका यिनै खण्डित स्वरूपलाई प्रस्तुत गरेको छ यस्तै मसिना मसिना खण्डहरूमा। कण कणमा। दृश्य दृश्यमा।
यसो गर्दा आधुनिकतावादले निर्माण गरेको ‘सर्जक’ वा लेखक-कविको सत्त्वको उच्चाताभासी ‘अलौकिक’ जस्तो इलिट छविको विनिर्माण हुँदै आम मान्छेको अर्थात् पाठको साधारण अवयवमा झर्छ अनि लेखक-सर्जकबाट स्वत: सामान्य पाठकमा रूपान्तरित हुँदछ।
उत्तरआधुनिक यो संचेतनाले नै धेरै विवाद र प्रतिरोधी निम्त्याएको पनि छ। तर यसले साहित्य लेखनमा भने नयाँ आयाम थपेको छ। शिल्प संरचनामा नयाँ क्षितिज उघारेको छ। लीलामय यो ‘भाषिक खेल’ कृति ‘सर्जक सन्दर्भ’-मा पनि रहेको प्रमाण माथिकै उदाहरणहरूले प्रष्ट पार्छ।
थप कुरो के छ भने ‘लेखक’ ठकुरीसमेत पाठमा ओर्लेर पाठभित्र भाषिक, चारित्रिक तथा पाठकीय लीला दर्शाइरहेको पाइन्छ।
इतिहासको पुनर्लेखन/स्मृतिलेखन र सर्जक सन्दर्भ
पुनर्सिर्जन, पुनर्लेखन, पुनर्पठनजस्ता पदावलीले उत्तरआधुनिक साहित्यचिन्तनको लिखित प्रक्रियालाई इङ्गित गर्छ। त्यो पुनर्लेखन साहित्येत्तर इतिहासिक हुन्छ।
साहित्यमा भने पराख्यानात्मक वा स्मृतिलेखनले यसलाई निर्वहन गर्छ। कतै तिथिमितिसित त कतै योबिनै पनि स्मृतिलेखनमा आउँछ। यसखाले लेखनले विगत र भविष्यलाई वर्तमानसित जोड़ेर हेर्ने, परख्ने र मूल्याङ्कन समेत गर्ने सङ्कथनको अवकाश दिन्छ।
अलिकति परिहास र व्यङ्गचेत (आइरनी)-सित विगत खोतलिएर वर्तमानसित गाँसिन आउँछ। इतिहासै भएर पनि इतिहास नभएजस्तो देखिने यो लेखनले खुल्ला, सहभागी, सतही, विस्तारित, विशृङ्खलित, सङ्ग्रहित जस्ता पाठखेलको बोध गराउँछ।
कृति ‘सर्जक सन्दर्भ’-मा चर्चामा आएका जातिको सामाजिक, राजनैतिक, आर्थिक, शैक्षिक इतिहासको कुरा, भाषा मान्यताको आन्दोलनको चर्चा, भारतीय नेपाली साहित्यको इतिहासको कुरा, साई शिक्षा र आध्यात्मको इतिहासको कुरा, साहित्यमा उठ्दै सेलाउँदै गर्ने साहित्यिक जार्गनका कुरा जस्ता धेरै थोक सर्जकहरूका सिर्जना र विचारसित टाँसिएर आएका छन्।
कृति पढ्नेले टुक्रा यी इतिहासका/स्मृतिका पृष्ठबाट तात्कालीन समाज र समयलाई पुनर्पठन गरिएको पाउनेछन्।
अन्तमा
कृति ‘सर्जक सन्दर्भ’-लाई केलाउन यति नै यथेष्ट छैन। यो नै कृतिको अन्तिम र सर्वोपयुक्त पठन पनि होइन। यसमा प्रयुक्त भाषिक संरचना केलाउन अलग्गै अनुशीलनको आवश्यकता पर्छ। किनभने कृतिको सबैभन्दा शक्तिशाली पक्ष नै यसमा प्रयुक्त भाषा हो, जसले यो इतिवृत्तात्मक लेखनलाई पनि रसिलो र मनमुग्धकारी बनाएको छ। एम.एम. गुरुङको चेन स्मोकिङ, डा. कुमार प्रधानको सोमरस पान, मनप्रसाद सुब्बा, नोर्जाङ स्याङ्देन, अविनाश श्रेष्ठलगायत आफ्नै पनि कतिपय अल्लारे प्रेम, सोमरस पान र वैयक्तिक गूढ़ कुराहरूको पर्दाफास, आनन्द कार्थकसितै दीप्ति नवलका गीत-कविता र अभिनय यात्राको इतिवृत्तबारे पाठकले ‘यस्तो पनि हो हगि?’ भन्दै दोहोऱ्याएर पढ्नेछन्।
कवि नोर्जाङ र कवि कटुवालको भेट र साझाको कान्छासित सुदूर भविष्यको एक दिनको दृश्य ७ -का क्षण विशुद्ध फेन्टासीले कुँदिएका सिर्जना हुन्।
यसमा गहिरो ह्युमर छ। यसले कृति सर्जक सन्दर्भको लोकप्रियतालाई उचाल्ने छ। कृतिको अन्तमा परिचय संक्षेपमा सर्जक शरद छेत्री र सम्पूर्णा राईलाई पनि गाभिएको भए हामी पाठकहरू थप लाभान्वित बन्नेथियौँ।
त्यसबाहेक यो कृति पठन गरेपछि अन्य कति जनाले ‘आफ्नोबारे पनि सर्जक मोहन ठकुरीले यसरी नै लेखिदिए त हगि?’ सोच्दै आशालु बनेर पर्खिरहेका होलान्।
जे होस् यति महत्त्वपूर्ण कृति पाएर हामी रमाएका छौं। सर्जकमा आभार।
–(रोङ्गो)
मोहन ठकुरी संपूर्ण पढ़े जनसंवादमा , सराहनीय र उल्लेखनीय लाग्यो।