दार्जीलिङ, ३ मईः विमल गुरुङपन्थी गोजमुमोका कार्यकारी अध्यक्ष लोप्साङ लामाले विनयपन्थी गोजमुमोका नेता सतीश पोखरेललाई विमल गुरुङमाथि कुनै प्रतिक्रिया व्यक्त गर्नअघि ऐनामा आफ्नो अनुहार हेर्ने सुझाएका छन्।
हिजो पोखरेलले विमलमाथि गरेको तीखो बयानमाथि प्रतिक्रिया व्यक्त गर्दै लामाले यस्तो सुझाउ दिएका छन्।
विनयपन्थी मोर्चा नेता सतीश पोखरेलले विमल गुरुङलाई गोजमुमोका पूर्व अध्यक्ष भनेकोमा पनि लोप्साङ लामाले तीखो प्रतिक्रिया व्यक्त गर्दै चुनाउ आयोगमा गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष पदमा अहिलेसम्म विमल गुरुङकै नाम पञ्जीकृत रहेको पनि बताएका छन्।
‘आज गोर्खा जनमुक्ति मोर्चालाई नक्कली (डुप्लिकेट) बनाउनु खोज्दा उक्त मामिला न्यायपालिकामा अहिलेसम्म विचाराधीन नै छ। यसर्थ न्यायपालिकाभन्दा माथि उठेर बयान दिनु सतीश पोखरेललाई शोभा देला? भन्ने प्रश्न राख्न चाहन्छु’, उनले भनेका छन्।
अर्कोतिर पोखरेलले दार्जीलिङ पहाड़का प्रत्येक परिवारमा राशन-पानी, सब्जै टन्नै छ भन्ने दाबी गरेकोमा पनि विमलपन्थी गोजमुमोले तीखो शब्दमा आपत्ति जाहेर गरेको छ।
‘सतीश पोख्रेलले दाबी गरेअनुसार दार्जीलिङ पहाड़का प्रत्येक परिवारमा राशन-पानी, सब्जी परिपूर्ण छ भने आज जीटीए २-का चेयरम्यानले राहतको नाममा किन करोड़ करोड़ रकम उठाइरहेका छन्? सतीश पोखरेलले यस कुराको स्पष्टीकरण दिनुपर्छ’, लोप्साङ लामाले थप भनेका छन्, ‘हुन त सतीश पोख्रेलजस्ता जीटीए -दुईका नेतृत्वहरूसँग विभिन्न कार्यबाट प्रतिशतको हिसाबमा उठाएको पैसा टन्नै छ। जीटीए-दुईका नेतृत्वहरू रातोरात करोड़पति बनेका छन्। यसर्थ उनीहरूले वर्षौं वर्षका लागि राशन-पानी, सब्जी किन्न सक्छन् तर गरीब निमुखा किसान र श्रमिकहरू धेरै समस्यामा परेका छन् भनेर यी नेतृत्वहरूले बुझ्न जरुरी छ। हामी ती गरीब निमुखा किसानहरूका लागि खाद्य सामग्रीहरू जुटाउन लागि परेका छौं।‘
यसैगरी लामाले सतीश पोखरेलजस्ता शिक्षकका कारणले नै आज दार्जीलिङ पहाड़को शिक्षा व्यवस्थाको अवस्था सोचनीय भएको होभन्दा कुनै अतिशयोक्ति नहुने बताएका छन्।
यसैगरी उनी वर्षमा कति दिन विद्यालयमा पढ़ाउन जान्छन् भन्ने जनताले जान्न चाहने पनि बताएका छन्।
अर्कोतिर नेपालमा गएको भुइँचालोले पीड़ित मानिसहरूका लागि त्यसबेला उठाएको राहत सामग्री र रकमको सम्पूर्ण जिम्मेवारी विनय तामाङ र अनित थापाले लिएको लोप्साङ लामाको दाबी छ।
उनका अनुसार त्यसबेला राहत सामग्री र रकम लिएर विनय तामाङको अगुवाइमा पीटी ओला, तिलकचन्द्र रोका र प्रकाश गुरुङ सम्मिलित टोली नेपाल गएको थियो। यसैले सतीश पोखरेलले त्यस रकम र राहत सामग्रीको हरहिसाब आफ्नै अध्यक्ष विनय तामाङलाई सोधेमा राम्रो हुने उनले बताएका छन्।
यसैबीच विमलपन्थी मोर्चाका कार्यकारी अध्यक्षले दार्जीलिङ पहाड़ तराई र डुवर्समा सरकारबाट प्रदान गरिने राशनमा भइरहेको धाँधली यथाशीघ्र बन्द हुनुपर्ने तथा तोकिएको मापदण्डअनुसार सबैले राशन पाउनुपर्ने माग गरेका छन्।
‘हामी दार्जीलिङ पहाड़, तराई र डुवर्सका हरेक गतिविधिमाथि दृष्टि राखिरहेका छौं। हामी हाम्रा जनतालाई अन्याय हुन दिनेछैनौं’, उनले भनेका छन्।
अर्कोतिर उनले सतीश पोखरेललाई उटपट्याङ नबोल्ने सुझाउ दिएका छन्।
‘कोभिड-१९ विषयमा कतिपय कुरा ढाकछोप गर्नका लागि सतीश पोखरेलजस्ता जीटीए-दुईका नेतृत्वहरूले मनपरी बयान दिन बन्द गरून्’, लामाले भनेका छन्।