दार्जीलिङ, 4 मईः गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-ले पनि भारतीय गोर्खा परिसङ्घ (भागोप)-सँग मिलेर देशका विभिन्न प्रान्तमा लकडाउनका कारण अड्किएका दार्जीलिङ पहाड़का मानिसहरूलाई आ-आफ्नो घर फर्काएर ल्याउने पहल शुरू गरेको छ।
यसका लागि भागोपले हेल्पलाइन नम्बर पनि जारी गरेको छ।
यति मात्रै होइन, गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीका अध्यक्ष अजय एड्वर्डले यी अड्किएर बस्नेहरूका लागि आर्थिक सहयोग पनि प्रदान गर्न थालेको बताएका छन्। ताकि देशका विभिन्न प्रान्तमा लकडाउनका कारण अड्किएर बस्ने कोही पनि भोकै बस्न नपरोस्।
‘‘दार्जीलिङ पहाड़का धेरै युवक-युवती कामका कारण नै देशका विभिन्न प्रान्तमा बसिरहेका छन्। कतिजना राम्रै कम्पनीहरूमा काम गर्ने भएका कारण उनीहरूले लकडाउनको समय पनि वेतन पाइरहेका छन्, तर धेरैजना नो वर्क-नो पे-मा छन्’’, उनले थपे, ‘‘यस्ता मानिसहरूले हामीसँग दैनिकरूपमा नै सम्पर्क गरिरहेका छन्। सहयोगका लागि गुहार लगाइरहेका छन्। यसैले उनीहरूलाई गोरामुमोले आफ्नो क्षमताअनुसार, केही रकम उनीहरूको ब्याङ्क एकाउण्टमा हाल्ने काम गरिरहेको छ। ताकि यस समय उनीहरूलाई केही सप्ताहसम्म पुग्ने राशिन, सब्जी आदि किन्ने व्यवस्था हुनसकोस्।‘’
एड्वर्डका अनुसार आज करिब एक सयजनाको एकाउण्टमा गोरामुमोले पैसा जमा गरिदिएको छ।
देशका विभिन्न प्रान्तबाट जीटीए क्षेत्रका मानिसहरूलाई ल्याउनका लागि जीटीएले पनि पहल शुरू गरिसकेको सम्बन्धमा प्रश्न गर्दा उनले भने, ‘‘जीटीएले जुन काम गरिरहेको छ, त्यो सराहनीय छ। तर अन्य प्रान्तमा रहेका एकैजना पनि नछोड़ियोस् भन्ने हाम्रो उद्देश्य हो।‘’
एड्वर्डले थपे, ‘’जीटीएको कार्यमा अझै टेवा प्रदान गर्नका लागि नै हामीले पनि यो पहल शुरू गरेका हौं।‘’
देशका विभिन्न प्रान्तबाट फर्किनेहरू आफ्नो घर आएपछिको सम्भावित स्थितिबारे प्रश्न गर्दा उनले भने, ‘‘बाहिरबाट आउने सबै हाम्रै दाजु-भाइ, दिदी-बहिनीहरू हुन्। यसैले उनीहरूलाई हामीले माया दिनुपर्छ। छिः छिः, दूर-दूर गर्नु उचित होइन। तर उनीहरू आफ्नो घरमा आएपछि सरकारका दिशानिर्देशअनुसार, 14 दिनको क्वारेन्टाइनमा बस्नुपर्छ। यो क्वारेन्टिन भनेको कसैको मृत्यु हुँदा कोरामा बसेजस्तै हो।’’
यी गोरामुमो नेताले थप भने, ‘‘कोरोमा बस्नेले पनि कसैलाई छुन भएन। अनि अरूले पनि कोरोमा बस्नेबाट टाढ़ै बस्नुपर्ने परम्परा छ। यो परम्परा वा नियमलाई देशका विभिन्न प्रान्तबाट घर आउनेहरूले पनि पालन गर्न आवश्यक छ। यस 14 दिनको अवधिभित्र उक्त व्यक्तिमा कोरोना सङ्क्रमणको लक्षण देखा परे, उनलाई स्वास्थ्य विभागको निर्देशमा अस्पतालमा भर्ना गर्न आवश्यक पर्छ।‘’
यसैबीच, एड्वर्डले प्रथम र दोस्रो चरणको कुल 40 दिनको लकडाउनअवधि दार्जीलिङ पहाड़मा कोरोना सङ्क्रमितहरू नरहेको स्पष्ट भएको जनाउँदै ‘‘यसलाई दार्जीलिङ पहाड़का लागि राम्रो सङ्केत हो’’ भने।
यसरी नै उनले दार्जीलिङ पहाड़का चियाश्रमिकहरूलाई प्रथम चरणको 21 दिने लकडाउनअवधिको रोजी भुक्तान नगरिएको विषय लिएर केही दिनभित्रै कलकत्ता उच्च न्यायालयमा एक जनहित याचिका दर्ता गर्ने तय गरिएको पनि बताए।
उनले भने, ‘‘गत केही सप्ताहअघि यसै विषय लिएर देशको सर्वोच्च न्यायालयमा याचिका दर्ता गरिएको थियो। तर, त्यो जनहित याचिका फिर्ता लिएका कारण नै अब उच्च न्यायालयमा यो याचिका दर्ता गरिने भएको हो।‘’
वर्तमानमा व्याप्त विकट परिस्थितिमा भारतका विभिन्न प्रदेशहरूमा रोजगारको सिलसिलामा अथवा अन्य कारणले फँसेका आफ्ना गोर्खे सन्तानलाई केही मात्रामा भए पनि राहत पुगोस् भन्ने ध्येयले भारतीय गोर्खा परिसंघले हेल्पलाइन खोलेको छ तर परिसंघ एउटा विशुद्ध अराजनैतिक संगठन भएकोले कुनै राजनैतिक दलसित राहत कार्यमा न त हातेमालो गरेको छ न कसैको सहयोग लिएको छ। यसर्थ, यहाँ अजय एडवर्डज्यूले ‘भारतीय गोर्खा परिसंघसित मिलेर…’ भन्नु सरासर झुटो कुरा हो जसको म संगठनको पक्षमा घोर खण्डन गर्दछु।
निर्मल पुन,
महासचिव,
भारतीय गोर्खा परिसंघ।