निमा लामा (फाइल फोटो)। |
खरसाङ, १२ अक्टोबर : विमल गुरुङपन्थी गोर्खा जनमुक्ति युवा मोर्चा (गोजयुमो) का मुख्य सल्लाहकार एवं गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए) -का पूर्व सभासद् निमा तामाङले विनय तामाङ एन्ड कम्पनीको एक्सपाइरी डेट पुगिसकेको दाबी गरेका छन्।
मोर्चा टोलीले केही दिनअघि जनजातिको मुद्दा लिएर दार्जीलिङका सांसद एसएस अहलुवालियाको नेतृत्वमा केन्द्रिय जनजाति मामिला मन्त्री जुएल उराँवलाई भेट गरेपछि विनय तामाङले गरेको प्रतिक्रियामाथि जवाफ दिँदै निमा तामाङले यस्तो बयान दिँदै एक प्रेस विज्ञप्ति जारी गरेका छन्।
उक्त विज्ञप्तिमा उनले सोझै लेखेका छन्, “जाति, माटो, इमान, स्वाभिमान बेचेर चौकी, पैसाको तुच्छ र स्तरविहीन राजनीति गर्ने विनय तामाङ एन्ड कम्पनीको एक्सपाइरी डेट पुगिसकेको छ।”
उनले आफूहरू व्यक्तिगत स्वार्थका कारण भूमिगत नभएर गोर्खा जातिको अस्तित्व, अस्मिता र राष्ट्रिय चिह्नारीका लागि जातीय कर्तव्य पूरा गर्न भूमिगत भएको र यो कुरा सम्पूर्ण गोर्खाल्यान्डप्रेमी जनतालाई थाहा भएको दाबी गरेका छन्। साथै पहाड़बाट भागेका हुन् भन्नेहरूलाई संसारमा कैयौं नेताहरू भूमिगत भएर नै आन्दोलन सफल बनाएको इतिहास सम्झाएका छन्।
विज्ञप्तिमा उनी विनय तामाङ एन्ड कम्पनीप्रति अत्यधिक आक्रामक देखिएका छन्। युवा नेता तामाङले विनय तामाङले कैंजलेबाट लुकेर बङ्गालको सुनियोजित सुझाउमा अनिश्चितकालीन बन्द डाकेको र जीएमसीसी पनि विनय तामाङकै हैकमवादको कारण असफल भएको आरोप लगाएका छन्।
“२९ अगस्त २०१७-मा बङ्गालसँग वार्तापछि बङ्गालकी मुख्यमन्त्रीले छुट्टै राज्यको माग संवैधानिक हो। अनि यो राज्यको होइन केन्द्रको विषय हो भनेकी हुन्, तर ५ अक्टोबर २०१८ –मा प्राण दिन्छु तर बङ्गाल टुक्रिनु दिन्न भन्दा खै प्रतिवाद गरेको?”, उनले प्रश्न गरेका छन्।
विनय तामाङले उट्पट्याङ कामहरू गरिरहेको आरोप
आउँदो शीतकालीन सत्रमा भाजपा सरकारले संसदमा गोर्खा समुदायका ११ जातगोष्ठीलाई जनजातिको मान्यता दिलाउने बील पेश गरी पारित गर्ने छनक पाएपछि अहिले विनय तामाङले उटपट्याङ कामहरू गरिरहेको विज्ञप्तिमा निमा तामाङले दाबी गरेका छन्।
उनले विज्ञप्तिमा लेखेका छन्, “जनजाति हुने छनक पाएपछि आतिएर दिल्ली आएका विनय तामाङले अञ्जनी शर्मा भुजेलको नेतृत्वमा जीएसएसएसको व्यापक विरोधको सामना गर्न सकेनन्। दिल्ली प्रशासनले पनि अशान्ति हुने भनक पाएर सभा रद्द गरिएको जान्नमा आयो तर केही सीप नचल्दा अन्तमा विनय तामङले आफ्ना कार्यकर्ताहरूलाई सांसदको पुत्ला जलाउनु लगाए, पोस्टर टाँस्न लगाए, भाजपालाई दोष्याए। यतिमात्र होइन दिल्लीबाट के नै उपलब्धि ल्याएकोजस्तो गरी बाघडुग्रा हवाईअड्डामा भाड़ामा मान्छे बोलाएर थुपार्नुजस्तो निम्न स्तरको राजनीति गरेको घटनाले नै विनय तामाङ मार्का कम्पनी कुन स्तरको हो स्पष्ट हुन्छ।”
“दिल्लीमा गणतन्त्र खोज्नु घामको छेउमा टर्ज लाइ बालेजस्तो हो”
उनले विज्ञप्तिमा लेखेका छन्, “राज्य प्रशासनको आड़मा पहाड़मा धड़पकड़, जेलनेल, घर जलाउने अन्य राजनीतिक पार्टीहरूलाई सभा गर्ने समेत अनुमति नदिने विनय तामाङले दिल्लीमा आएर गणतन्त्र खोज्नु घामको छेउमा टस लाइट बालेजस्तो हो। हामीले जनजातिको, वनवासीको, गोर्खाल्यान्डको माग केन्द्रमा रहेको भाजपा सरकारसित राख्दा प्रतिवाद गर्नु विनय एन्ड कम्पनी पूर्णरूपले बङ्गालको नियन्त्रणमा रहेको प्रमाण हो।”
उनले केन्द्र सरकारले केन्द्रशासित प्रदेश (युटी)-को प्रारूप तयार पारेको चाल पाएर विनय एन्ड कम्पनीलाई पैसा र चौकीको लोभ देखाएर सही प्रकारले चलिरहेको आन्दोलनलाई भताभुङ बनाएको आरोप लगाउँदै यसलाई इतिहासले माफ कहिल्यै नगर्ने उनले बताएका छन्।
विमलसँग उन्मुक्ति र गोर्खाल्यान्ड चाहने गोर्खाहरूको साथ रहेको दाबी
निमा तामाङले विज्ञप्तिमा गोजमुमो प्रमुख विमल गुरुङसँग जातिको उन्मुक्ति र गोर्खाल्यान्ड राज्य चाहने सम्पूर्ण गोर्खाहरूको साथ रहेको र विनय तामाङको कम्पनीमा केही दलाल र विवश व्यक्तिहरू मात्र भेला भएको तथा केही समयपछि यो कुरालाई उनीहरूले प्रमाणित गरी देखाउने दाबी गरेका छन्। उनले लेखेका छन्, “यहाँ विकास र शान्तिको कुरा गरेर मूल मुद्दाबाट ध्यान हटाउने असफल प्रयास हुँदैछ। स्थायी समाधान छुट्टै राज्य गोर्खाल्याण्डले मात्र सम्भव छ। विनय तामाङ एन्ड कम्पनीको लागि काम, पैसा नै सर्वस्व हो।”