कालेबुङ, 10 जनवरी : अखिल भारतीय गोर्खा लीग (अभागोली) –ले डाकेको सर्वदलीय बैठक भोलि (शुक्रवार) अर्थात् 11 जनवरीको दिन कालेबुङमा हुनेछ। यसभन्दा अघि गोर्खा लीगले यो बैठक 12 जनवरीमा आयोजन गर्ने भनिएको थियो।
गोर्खा लीग महासचिव प्रताप खातीका अनुसार सर्वदलीय बैठकलाई लिएर सबै राजनीतिक पार्टीलाई पत्राचार गरिसकिएको छ। उनले बैठकमा दार्जीलिङ पहाड़को वर्तमान राजनीतिक स्थिति र आगामी लोकसभा चुनाउका लागि पहाड़बाट साझा उम्मेद्वार उठाइनुपर्ने विषयमा प्रमुखतासँग छलफल गर्ने बताएका छन्।
“बैठकको मुख्य विषय दार्जीलिङ पहाड़को वर्तमान राजनीतिक स्थिति हुनेछ’’, उनले थपे, “हामी आगामी लोकसभा चुनाउमा पहाड़का साझा उम्मेद्वार हुनुपर्ने विषयमा पनि छलफल गर्नेछौं।’’ एक प्रश्नको उत्तरमा गोर्खा लीग महासचिव खातीले बताएअनुसार गोर्खा लीगले लोकसभा चुनाउका लागि बन्दना राईको नामलाई प्रार्थीको रूपमा पक्कापक्की गरिहालेको छैन।
यसबारे जनसंवादसँग विशेष कुराकानी गर्दै उनले भने, “बन्दना राई गोर्खा लीगकी सदस्या होइनन्। र हामीले उनको नामलाई पक्कापक्की गरिहालेको पनि छैनौं। हामीलाई बन्दना राई लोकसभा चुनाउका लागि योग्य उम्मेद्वार लागेकोले उनको नामलाई अघि राखेका हौं। बन्दना राईको नाम हाम्रो प्रस्ताव हो। यदि कसैले उनीभन्दा योग्य नाम सुझाए यसमाथि बैठकमा छलफल गरिनेछ।’’
भोलिको बैठक पहिलो रहेकोले भोलि नै लोकसभा चुनाउका लागि उम्मेगद्वारको नाममा सहमति भइ नहाल्ने र यसका लागि आगत दिन अझ सर्वदलीय बैठक डाकेर उम्मेद्वारको नाममा पहाड़का सबै राजनीतिक दललाई एकमत र एकजुट बनाइने कोशिश गरिने पनि गोर्खा लीग महासचिव खातीले बताए।