कालेबुङ, ७ मईः विश्वले कोरोना भाइरसको महामारी झेलिरहेको यो समयमा राजनीतिबाट माथि उठेर मानव जातिलाई सुरक्षित राख्ने काम गर्नुपर्ने जीटीए बीओए अध्यक्ष अनित थापाले बताएका छन्।
बुधवार राति सिलगढ़ीका विभिन्न स्थानमा दार्जीलिङका सांसद राजु बिष्टविरुद्ध टाँसिएको पोस्टरबारे प्रतिक्रिया व्यक्त गर्दै उनले यस्तो बताएका हुन्।
‘यदि दार्जीलिङ संसदीय क्षेत्रका सांसद दिल्लीमा यो समय छन् भने यो उनको गल्ती कतै मान्न सकिन्न। लकडाउनको कारण उनी आफ्नो संसदीय क्षेत्रमा आउन यात्रा गर्ने स्थितिमा छैनन्। कारण यात्राका सम्पूर्ण सेवा स्थगित राखिएका छन्। मलाई विश्वास छ, उनी दिल्लीमा बसेर पनि उनलाई भोट दिएर जिताउने जनताका लागि काम गरिरहेका छन्’, थापाले विज्ञप्तिमा थप लेखेका छन्, ‘म पडहाड़का सम्पूर्ण राजनीतिक दललाई आग्रह गर्दछु, यो समय हामी राजनीति नगरेर मानव जीवनलाई कसरी सुरक्षित राख्न सकिन्छ, त्यस दिशातर्फ काम गरौँ। एकार्काका लागि सहयोग हात बढ़ाऔं।’
यसैगरी उनले संयुक्त भएर लड़े मात्र कोरोना जीत हुने भन्दै पहाड़ले अहिलेघरी राजनीतिक स्तरमा होस् या सामाजिक स्तरमा संयुक्त भएर यस महामारीविरुद्ध लड़िरहेको बताएका छन्।
‘पहाड़का सम्पूर्ण राजनीतिक दल कोरोना सङ्क्रमण रोकथाम गर्न मिलेर काम गरिरहेको हामीले देखिरहेका छौं। यो महामारीसँगको सङ्ग्राम एक्लो व्यक्तिले लड़ेर जित्नु सकिन्छ भन्नु मूर्खता हो’, थापाले भनेका छन्, ‘त्यसरी नै एउटा मात्र राजनीतिक दलको कामले यसलाई जित्न सकिन्छ भन्नु सकिन्न। यो समय हामीलाई सबैको सहायता र सहयोगको आवश्यकता छ।’