सिक्किमले यूबीआई नीति अपनाउने, पीडी राईले भने – यूबीआई नीति आगामी चुनाउमा हाम्रो मुख्य एजेण्डा

0
1118
लोकसभा सांसद पीडी राई (फाइल फोटो)।

गान्तोक, 10 जनवरीः सिक्किमले 2022 भित्र देशमै पहिलोचोटि वैश्विक बुनियादी आय (यूबीआई) नीति अपनाउने लक्ष्य राखेको छ। यस सम्बन्धमा सत्तारूढ़ एसडीएफ पार्टीले आगामी चुनाउ घोषणा पत्रमा यूबीआई नीतिलाई राख्ने भएको छ। एसडीएफका प्रवक्ता तथा लोकसभा सांसद पीडी राईले जनसंवादलाई यो जानकारी दिएका छन्।

सांसद राईले भने, “हामी सिक्किममा यूबीआई नीति अप्नाउने लक्ष्य लिएर अघि बढ्दैछौं। सबै कुरा हामीले सोचेजस्तै रूपमा अघि बढ्यो भने 2022 मा सिक्किममा यो नीति लागू गरिनेछ। यूबीआई नीति लागू गर्ने सिक्किम देशकै पहिलो राज्य बन्नेछ।”

यूबीआई यस्तो एउटा कार्यक्रम हो, जसले देशका नागरिक अथवा कुनै ठाउँ विशेषका नागरिक वा राज्यका नागरिकलाई सोझै धनराशि प्रदान गर्दछ। देशकै आयस्रोतबाट यो धनराशि प्रदान गरिन्छ। विश्वका केही अग्रणी देशहरूले यूबीआई नीति अपनाइसकेका छन्। गरिबी हटाउन र मानिसहरूको जीवनस्तरलाई बढ़ाउन मुख्यतः यो नीति कार्यकर गरिन्छ।

सिक्किमले कुन धनराशिबाट यूबीआई नीति लागू गर्छ भन्ने प्रश्न गर्दा सांसद राईले भने,“जलविद्युत परियोजनाबाट हामीलाई 2200 मेगावाटभन्दा अधिक विद्युत प्राप्त भइरहेको छ। आगामी एक-दुई वर्षमा हाम्रो यो क्षमता बढ़ेर 3000 मेगावाट हुनेछ। हामीलाई वार्षिक 200 देखि 300 मेगावाट बिजुली मात्र चाहिन्छ। अरू सबै बिक्री गरिनेछ। त्यसबाट हामीलाई राम्रो आय हुन्छ। त्यसैले हाम्रो सरकारलाई साहस आएको छ। हामी सिक्किममा यूबीआई नीति लागू गर्न सक्छौं। हामी त्यस अवस्थामा पुगिसकेका छौं।”

उनले अझ भने, “हामी अहिले केही क्षेत्रहरूमा सब्सिडी र भत्ताहरू दिँदैछौं। त्यसमा केही कमी ल्याएर पनि जनतालाई मासिक रूपमा भत्ता दिने सोच हाम्रो सरकारले बनाएको छ। आगामी चुनाउमा मुख्य रूपमा यही एजेण्डा लिएर हामी जनतामा जानेछौं।”

सांसद राईले अझ भने, “सिक्किममा हामीले सरकार जिम्मा लिँदा राज्यमा गरिबी 50 प्रतिशतभन्दा बढ़ी थियो। 2004-05 मा यसलाई घटाएर 30.9 प्रतिशत गरियो। 2011-12 को जनगणनामा घटेर 8.2 प्रतिशतमा झरेको थियो। बितेको आठ वर्षमा यो प्रतिशत घटेर 1-2 प्रतिशत मात्र रहेको होला। 12 जनवरीको दिन सरकारी नोकरी नहुने राज्यका हरेक परिवारलाई एउटा सरकारी नोकरी दिँदैछौं। यसैले राज्यमा अब बीपीएल शून्य प्रतिशत हुनेछ। यसबाट पनि हामीलाई धेरै साहस जुटेको छ। पवन चामलिङको नेतृत्वमा एसडीएफ सरकारले जनताका आवश्यक बुनियादी सुविधाहरूलाई सम्बोधन गरिसकेको छ। अब हामी जनतालाई सोझै लाभ दिने नीति अपनाए अघि बढ्दैछौं।”

उल्लेखनीय छ, गत 6 जनवरीको दिन मुख्यमन्त्री पवन चामलिङले पश्चिम पाण्डाम निर्वाचन क्षेत्रको टीकालाल निरौला उच्चतर माध्यमिक विद्यालयको कौस्तुभ जयन्ती समारोहलाई सम्बोधन गर्दै यूबीआई नीतिको सङ्केत दिएका थिए। त्यसदिन उनले सोझै यूबीआई नीतिबारे उल्लेख नगरे तापनि आगामी सरकारमा सिक्किमका प्रत्येक व्यक्तिको विकास नै एसडीएफ सरकारको मुख्य उद्देश्य हुने अनि आवश्यक बुनियादी सुविधा मात्र होइन, प्रत्येक व्यक्तिको मानव मूल्यलाई पनि वृद्धि गर्ने बताएका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here