चियाबारीको चकमन्न गीत

0
1317

-केवलचन्द्र लामा

आफैले रोपेको आफ्नै सपनाको रूखमा

झुण्डिएको छ चियाबोट खङ्रङ्ग सुकेर।

अनिश्चितताको एउटा फूल छ रूखमा ढकमक्क

अँध्यारोका काँढ़ाहरू छन् तिख्रिएका

र बिर्सनुबिर्सनु आँटेको छ चियापत्तीले

आफ्नै नाउँको हिज्जे। 

हर्कबढ़ाइ बाँड़िँदा सबभन्दा पछि पर्ने चियाबारी

सबभन्दा अघाड़ि हुन्छ जहिले पनि

रुवाबासीको लागि

हाहाकारको लागि।

हपहप गरम भएको बेला काँल्दाइ

खोई कता भाग्छ कता

चियाबारीको नाउँ पास भएको

सरकारी शीतल हावा।

जाड़ो चकमन्नमा

चियाबारीको गीतको सुनसान छिप्पिन्छ।

कहीँकतैबाट आउँदैन हुलाकी

सुखसमाचारको बोल बोकेर।

चियाबारीको सुक्खा गीतको कोपिला खोज्दै

मेलोडियस पानी छम्कने कोलम्बसहरू

अहँ, आउँदै आउँदैनन्

र लोकचियाबोटले शोकगीत गाइबस्छ चुपचाप सुकेरै

र लोकचियाबोटले शोकगीत गाइबस्छ मौन दुखेरै।

चियाबारी भनेको हज्जारौं घरहरू हो।

स्मरण रहोस्, घरमा जीवन बस्छ

र त्यो जीवन

जिउँदै छ कि आधापिल्ठो

भनिरहने काम मेरो कविताको होइन…

र म भन्दैथिएँ चियाबारी भनेको

हज्जारौं घरमा बस्ने करोड़ौं सपनाको तारामण्डल हो

र चियाबारी भनेको यिनै करोड़ौं कल्पनाजल्पनाहरूको घिटघिटो हो।

अर्धाना सपनाका घिटघिटो गाढ़े घाउ कति दुख्छ

भनिरहने काम मेरो कविताको होइन।

एकपल्ट दुखिहेर्नुहोस् न आफै

चियाबुट्टाको ठेला र ठेस।

दार्जीलिङ

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here