दार्जीलिङ, १२ मईः लकडाउनका कारण सिक्किममा अड़्केर बसेका करिब ३०० दार्जीलिङवासी आज आ-आफ्नो घर फर्केका छन्।
आज सिक्किम सरकारले राज्यको सीमा खुला गरिएपछि उनीहरूको घर फिर्ता सम्भव बनेको हो।
उल्लेखनीय छ, कोरोना प्रकोपबाट राज्यलाई बचाउनका लागि सिक्किम सरकारले करिब दुई महिनाअघि अन्तर्राज्यीय सीमा सिल गरेको थियो। यद्यपि राज्यका विभिन्न स्थानमा लकडाउनका कारण फँसेका दार्जीलिङ पहाड़का मानिसहरूलाई घर पठाउनका लागि आज सबै औपचारिकता पूरा गरी सीमा खुला गरिएको थियो।
अर्कोतिर सिक्किमबाट दार्जीलिङ फर्किने मानिसहरूलाई स्वागत गर्न जीटीए बीओएका अध्यक्ष अनित थापालगायत अन्य अधिकारीहरू रम्फू पुगेका थिए।
यसैबीच, जीटीएअधीनस्थ रम्फूमा सिक्किमबाट दार्जीलिङ फर्किनेहरूका लागि स्वास्थ्य जाँच गर्नका लागि शिविर राखिएको थियो। स्वास्थ्य जाँचपछि उनीहरूलाई होम क्वारेन्टिन बस्ने सुझाउसहित घर पठाइने कार्य गरिएको थियो।
उनीहरूलाई रम्फूबाट घरसम्म पुऱ्याउनका लागि जीटीएले यातायातको व्यवस्था गरेको थियो। सिक्किमबाट घर फर्किनेहरूमा आज दार्जीलिङ कालेबुङ, खरसाङ, मिरिक र सिलगढ़ी क्षेत्रका रहेका थिए।
अर्कोतिर पत्रकारहरूसँग कुराकानी गर्दै जीटीए बीओएका अध्यक्ष अनित थापाले दार्जीलिङ पहाड़का मानिसहरूलाई घर फर्काउनका लागि शुरूदेखि नै जीटीएले सिक्किम सरकारको कुराकानी गरेको कारण आज घर फिर्ता सम्भव बनेको बताए।
उनले आज पहिलो चरणमा अपेक्षा गरेभन्दा धेरै सङ्ख्यामा मानिसहरू घर फर्किएको र दोस्रो चरणको घर फिर्ता कार्यक्रम पनि चाँड़ै गरिने बताएका छन्।
यसैबीच आज घर फर्केकाहरूले जीटीए र सिक्किम सरकारप्रति आभार प्रकट गरेका छन्।