विमल गुरुङद्वारा प्रधानमन्त्री र गृहमन्त्रीलाई पत्राचार

0
1062
विमल गुरुङ (फाइल फोटो)।

दार्जीलिङ, १२ मईः गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) पहिलो खेमाका अध्यक्ष विमल गुरुङले आज प्रधानमन्त्री नरेन्द्र मोदी र गृह मन्त्री अमित शाहलाई पत्राचार गरी लकडाउनका कारण देशका विभिन्न स्थानमा फँसेका दार्जीलिङ, तराई अनि डुवर्सका प्रवासी श्रमिक, विद्यार्थी, बिरामी र तीर्थयात्रीहरूलाई आफ्नो घर सुरक्षित पठाउनका लागि यथाशीघ्र हस्तक्षेप गरिदिने अनुरोध गरेका छन्।

गुरुङले पत्रमा लकडाउनका कारण देशका विभिन्न स्थानमा कम वेतनमा कार्य गर्ने दार्जीलिङ, तराई अनि डुवर्स क्षेत्रका मानिसहरूलाई अहिले आफ्नो जीविका चलाउन धौ धौ परिरहेको तथा आफ्नो घर परिवारदेखि टाढ़ा अड्किएको कारण उनीहरूले धेरै असुविधा भोग्न परिरहेको अवगत गराएका छन्।

यसका साथै पश्चिम बङ्गाल सरकारले देशका विभिन्न स्थानमा अलपत्र परेका उल्लिखित क्षेत्रका मानिसहरूलाई सहायता गर्न अस्वीकार गरेको तथा मङ्गोलियन फेस भएका कारण देशका विभिन्न स्थानमा दार्जीलिङ पहाड़का विद्यार्थी र श्रमिकहरू नस्लवादको शिकार भइरहेको र यस्ता घटना कोलकातामा समेत घटेको विमलले पत्रमार्फत जानकारी गराएका छन्।

‘हाम्रो देशका अन्य राज्यहरूले आप्रवासी श्रमिकहरू फर्काउनका लागि रेल परिसेवाको अनुमोदन चाहेको छ। तर बङ्गाल सरकारले अझसम्म यस विषयमा पाइला चालेको छैन’, गुरुङले पत्रमा लेखेका छन्, ‘असलमा बङ्गाल सरकारले रेल परिसेवा अनि अन्य सेवाहरूको अनुमति नदिएर अन्य राज्यहरूबाट आउने आप्रवासी श्रमिकहरूलाई रोक्ने कोशिश गरिरहेको छ।’

उल्लिखित कुराहरूलाई ध्यानमा राखेर दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका मानिसहरूलाई घर फर्काउनका लागि यथाशीघ्र हस्तपेक्ष गरिदिने मोर्चा पहिलो खेमाका अध्यक्ष विमल गुरुङले प्रधानमन्त्री र गृहमन्त्रीसमक्ष अनुरोध गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here