दार्जीलिङ, १४ मईः उत्तरपूर्वी राज्यहरूमा फँसेका बङ्गालका नागरिकहरूका लागि पनि रेल तालिकाको घोषणा गर्ने राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई सांसद राजु बिष्टले अनुरोध गरेका छन्। ताकि लकडाउनका कारण उत्तरपूर्वी राज्यहरूमा अड्केर बसेका बङ्गालका मानिसहरू चाँड़ै घर फर्किन सकुन्।
देशका अन्य भागमा अड़्केर बसेका बङ्गालका मानिसहरूलाई राज्य फर्काइल्याउनका लागि ममताले १०५ वटा ट्रेनलाई अनुमति दिएपछि यसमाथि प्रतिक्रिया व्यक्त गर्दै सांसद बिष्टले यस्तो माग गरेका छन्।
यसका साथै उनले बङ्गालकी मुख्यमन्त्रीको घोषणा ‘लामो प्रतीक्षापछिको घोषणा’ बताएका छन्।
अर्कोतिर बिष्टका लकडाउनअवधि आ-आफ्नो घर फर्किन चाहने हजारौंले कल गरी घर फर्किनका लागि सहयोग गर्ने उनलाई अनुरोध गरेका थिए।
‘मैले सक्दो कोशिश गर्दा पनि पश्चिम बङ्गाले सरकारले सहयोग गर्न अस्वीकार गरेको थियो’, सांसदले भनेका छन्।
अर्कोतिर यसै विषयलाई लिएर केही दिनअघि गृहमन्त्री अमित शाहले बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्राचार गरेको तथा हिजै मात्र रेलमन्त्री पीयूष गोयलले पनि बङ्गालकी मुख्यमन्त्रीलाई श्रमिक विशेष ट्रेनलाई पश्चिम बङ्गालमा प्रवेश गर्न अनुमति दिन आग्रह गरेको पनि सांसद राजु बिष्टले बताएका छन्।