सिमलबारी र चित्रेलगायत पहाड़का प्रवेश स्थलहरूमा भोलिदेखि स्वाब टेस्ट सेन्टर शुरू हुने

0
935
अनित थापा (फाइल फोटो)।

दार्जीलिङ, 14 मईः गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए)-ले भोलिदेखि दार्जीलिङ पहाड़का प्रवेशद्वारहरू चित्रे, सिमलबारी तथा अन्यहरूमा स्वाब टेस्ट सेन्टर शुरू गर्ने भएको छ।

जहाँ बाहिरबाट आउने प्रत्येकको स्वाब (राल) टेस्ट गराउने अनि उनीहरूलाई यसको रिपोर्ट आएपछि मात्रै आफ्नो घर पठाउने भएको छ।

यस अवधिसम्म स्वाब टेस्ट गरिएका बाहिरबाट आउनेहरू सबैलाई जीटीएले क्वारेन्टिन सेन्टरहरूमा राख्ने व्यवस्था गर्ने भएको जीटीए बीओएका अध्यक्ष अनित थापाले बताएका छन्।

यति मात्रै होइन, थापाले आजदेखि नै साँझ 5 बजेपछि बाहिरबाट आउनेहरूलाई पहाड़ पस्न नदिने पनि घोषणा गरेका छन्।

हाल बाहिरबाट आउनेहरूलाई होम क्वारेन्टिन बसाउने र जीटीएले बनाएको क्वारेन्टिनमा सेन्टरहरूमा राख्ने विषय लिएर निकै विवाद चर्किरहेको छ।

धेरैले बाहिरबाट आउनेहरूलाई सामान्य थर्मल जाँच गरेर होम क्वारेन्टिन बसाउँदा खतरा सृजना हुनसक्ने अधिक सम्भावना रहने बताउँदै बाहिरबाट आउनेहरूलाई संस्थागत वा जीटीएले बनाएको क्वारेन्टिन सेन्टरमा नै कम्तिको 14 दिन राख्ने माग गर्दै आइरहेका छन्।

तर, धेरै मानिस संस्थागत क्वारेन्टिनमा बस्न नमाने अनि उनीहरूलाई होम क्वारेन्टिनमा नै बसाउने कार्य भइरहेको छ।

यसै विषय लिएर शुरू भएको विवादलाई ध्यानमा राखेर नै जीटीएले भोलिदेखि नै दार्जीलिङ, खरसाङ, मिरिक, कालेबुङ तथा पहाड़का अन्य स्थानहरूमा पस्ने प्रवेशद्वारहरूमा नै स्वाब टेस्ट शुरू गर्ने निर्णय लिएको छ।

यति मात्रै होइन, बाहिरबाट आउनेहरू सबैलाई स्वाब टेस्टको रिपोर्ट नआएसम्म संस्थागत क्वारेन्टिनमा नै राख्ने पनि व्यवस्था गर्ने भएको छ।

ताकि दार्जीलिङ पहाड़मा एकैजना पनि कोरोना सङ्क्रमित व्यक्ति पस्न नसकोस्।

यसरी नै जीटीए अध्यक्ष थापाले जीटीए क्षेत्रमा मोबाइल स्वाब टेस्ट सुविधाको व्यवस्था पनि गर्ने भएको जनाए। जसले दार्जीलिङ पहाड़मा रहेका सम्पूर्ण क्वारेन्टिन सेन्टरहरूमा भर्ना भएका मानिसहरूको स्वाब टेस्ट गर्नेछ।

उनले भने, ‘‘कतिजना रेड जोनबाट आउनेहरू पनि हुन सक्छन्, यस्ताहरूको स्वाब टेस्ट गरिएको छ भने उनीहरूको रेकर्ड हामीसित रहन्छ।’’

यस विषय लिएर उनले आज दार्जीलिङ र कालेबुङ जिल्ला प्रशासनसित पनि बैठक गरेको जनाए।

उनले जीटीएको यसप्रकारको पहलमा जनताले पनि सहयोग गर्नुपर्ने अपील गर्दै क्वारेन्टिन सेन्टरमा बस्नका लागि असल व्यवस्था गरिदिने पनि वचन दिएका छन्।

उनले यो अन्तिम लड़ाइँमा दार्जीलिङ पहाड़ वा जीटीए क्षेत्र सफल हुनैपर्ने पनि अपील गरे।

यसैबीच, उनले आगामी 20 दिनभित्र त्रिवेणीमा कोविड-19 अस्पताल निर्माण गरिसक्ने लक्ष्य राखेर काम गरिरहेको पनि बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here