-मनिता सुब्बा ‘फेदाप’
अथाह
कल्पना र
परिकल्पनाको महासागरमा
स्वच्छ र समर्पित बन्दै
जब तिमी डुब्दै डुब्दै जान्छौ
युगलाई जितेर
ओ! अदृश्य मान्छे
मलाई तिमीसँगै डुब्न मन लाग्छ।
आफ्ना इच्छा र उमङ्गहरू
मुटुभित्र कैद गरेर
आडम्बरको खास्टो बेर्नुभन्दा
वास्तविकतालाई अँगालेर
पहराभन्दा कठोर अझ कठोर
सिङ्गो केवल सिङ्गो
जब तिमी उभिन खोज्छौ
ओ! अदृश्य मान्छे
मलाई तिम्रो छातीभित्रबाट
चुहेको पानीले
बेस्सरी भिज्न मन लाग्छ।
युगले बोकेको उत्पीड़न
हाहाकार र चीत्कारलाई उखेल्न
मशाल भई जब तिमी लम्कन्छौ
तिम्रो आक्रोशका ज्वालाहरू यसरी छरपस्टिँदा
ओ! अदृश्य मान्छे
मभित्रका मान्छे
मलाई तिमीसँगै विस्फोट हुन मन लाग्छ।