दार्जीलिङ, 17 मईः जीटीए बीओएका अध्यक्ष अनित थापाले अब दार्जीलिङ पहाड़का होटल मालिकहरूलाई सहयोगको हात बढ़ाउन अघि आइदिने अपील गरेका छन्।
आज बेङ्ग्लुरुबाट 110 जना विद्यार्थी दार्जीलिङ आइपुग्नसाथ जीटीए अध्यक्ष थापाले यस्तो अपील गरेका हुन्।
किनभने, देशका विभिन्न राज्यबाट दार्जीलिङ पहाड़ फर्किनेहरूको सङ्ख्या दिन-प्रतिदिन बढ़िरहेको कारण उनीहरूलाई केही दिनका लागि क्वारेन्टाइन गरेर राख्न बस्ने ठाउँको अभाव खट्किन शुरू भएपछि नै थापाले होटल मालिकहरूलाई सहयोगको लागि अघि आइदिने अपील गरेका हुन्।
बेङ्ग्लुरुबाट 6 दिनको यात्रा गरी हिजो रातीतिर सिलगढ़ी आइपुगेका दार्जीलिङ पहाड़का 110 जना विद्यार्थीलाई आज जीटीए अध्यक्ष थापाले यहाँको गोर्खा रङ्गमञ्च भवनसम्म ल्याएका थिए।
यी विद्यार्थीहरूलाई आउँदा केही दिनसम्म यसै गोर्खा रङ्गमञ्च भवनमा नै क्वारेन्टिन गरेर राखिने भएको छ। जसका लागि जीटीएले यहाँ 50 वटा पलङ पनि राखिदिएको छ, ताकि बाहिरबाट आएकाहरूलाई केही दिनसम्म यसै स्थानमा क्वारेन्टिन गरेर राख्न सकियोस्।
यसैबीच, जीटीए अध्यक्ष थापा दार्जीलिङ पहाड़का होटल मालिकहरूलाई यस समय अघि आइदिने अपील गर्दै भने, “अब दार्जीलिङ पहाड़लाई होटलहरूको सहयोगको अति नै खाँचो भइरहेको छ।’’
उनका अनुसार हाल कोरोना सङ्क्रमण तथा लकडाउनका कारण दार्जीलिङ पहाड़भरिका होटलहरू बन्द अवस्थामा नै छन्।
‘‘यस समय देशका विभिन्न राज्यमा रहेका हाम्रा दाजु-भाइ, दिदी-बहिनीहरू आफ्नो घर फर्किने क्रम जारी छ। दार्जीलिङ, खरसाङ, कालेबुङ, मिरिक तथा अन्य स्तानका मानिसहरू पनि आफ्नो घर फर्किरहेका छन्’’, थापाले थप भने, ‘‘तर उनीहरू यहाँ आएपछि सोझै घर पठाउन नसकिने अनि केही दिनसम्म क्वारेन्टिनमा बस्नुपर्ने सरकारी निर्देश भएका कारण यहाँका होटलहरूले यसमा सहयोग पुऱ्याउनुपर्ने खाँचो देखा परेको छ।’’
यदि होटलहरूले बाहिरबाट आउनेहरूलाई केवल बस्ने सुविधा उपलब्ध गराइदिए, उनीहरूलाई खाना आदिको सम्पूर्ण व्यवस्था जीटीएले गर्ने उनले बताएका छन्।
यसैले दार्जीलिङ, खरसाङ, कालेबुङ, मिरिक आदि क्षेत्रका सम्पूर्ण होटल मालिकले यसमा सहयोग पुऱ्याइदिने थापाको अपील छ।
आज दार्जीलिङको गोर्खा रङ्गमञ्च भवन आइपुगेका एक विद्यार्थीले जीटीए बीओएका अध्यक्ष थापाप्रति आभार व्यक्त गर्दै हिजो सिलगढ़ीमा थापाको उपस्थिति नरहेको भए आफूहरूलाई ठूलो समस्या हुनसक्ने थियो भन्ने बताए।
उनले भने, “हिजो हामी रातीको समय सिलगढ़ी आइपुगेका थियौं, सिलगढ़ी आइपुग्दा त्यहाँको स्थिति असामान्य देखापरेको थियो, तर जीटीए अध्यक्ष थापाको कारण हामीमाथि कुनै समस्या आइपरेन। थापाकै सक्रियतामा हामीले हिजोको रात सिलगढ़ीमा बिताउन सक्यौं अनि आज यहाँसम्म आइपुग्न सकेका छौं। यसका लागि हामी सम्पूर्ण विद्यार्थीहरू जीटीए अध्यक्ष साथै उनको टोलीप्रति आभारी बनेका छौं।’’